लम्पी स्किनले खोटाङमा ६९९ चौपाया मरे

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । पशुहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगका कारण खोटाङमा ६९९ वटा पशु चौपाया मरेका छन् ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङको विवरण अनुसार लम्पी स्किन रोग देखा परेदेखि हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा २५, खोटेहाङ गाउँपालिकामा ४०, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा २७२, केपिलासगढी गाउँपालिकामा ४५ वटा गाईगोरु लम्पी स्किन रोगले मरेका छन् ।

ऐसेलुखर्क गाउँपालिकामा ४५, बराहपोखरी गाउँपालिकामा ७३, जन्तेढुंगा गाउँपालिकमा १६, रावाबेंशी गाउँपालिकामा ७० र साकेला गाउँपालिकामा ५८ वटा पशु चौपाया लम्पी स्किन महामारीले मरेका छन् ।

हप्ता दिनमा ३१ चौपाया लम्पी स्किनबाट मरे

साउन ५ गतेदेखि ११ साउनसम्म खोटाङमा लम्पी स्किन रोगबाट ३१ वटा गाईगोरु मरेका छन् । विवरण अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १२, बराहपोखरी गाउँपालिकामा ३, जन्तेढुंगा गाउँपालिकमा ३, रावाबेंशी गाउँपालिकामा ६ र साकेला गाउँपालिकामा ५ वटा पशु चौपाया मरेका छन् ।

हप्तादिनमा हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिकामा पशु चौपाया मरेका छैनन् ।
लम्पी स्किनविरुद्धको खोप र औषधि किन्न उद्योग, कृषि तथा सहकारी मन्त्रालयले २४ असारमा प्रत्येक स्थानीय तहलाई एक लाखका दरले बजेट दिए पनि केपिलासगढी र बराहपोखरी गाउँपालिकाले मात्रै पशु चौपायामा लम्पी स्किनविरुद्धको खोप लगाएका छन् ।

गाई गोरुमा १०५ डिग्रीसम्मको ज्वरो आउनु फोकाहरु आउनु, मुखबाट -याल काढ्नु, सिगाँन बग्नु, २/४ दिनपछि फोका फुटेर रगत आउनु, खुट्टा सुनिन्नु, घाँटी सुन्निनु लम्पी स्किन रोगका लक्षणहरु हुन् । अधिकारीहरुका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खार्मीमा गत चैतमा पहिलो पटक गोरुमा लम्पी स्किन रोग भेटिएको रिपोर्टिङ भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?