एसियाली खेलकुद : भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । हाङझाव एसियाडको भारोत्तोलनमा नेपालका विशाल सिंह विष्टले बिहीबार दुर्लभ कीर्तिमान स्थापित गर्नुभएको छ । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौल समूहमा विशालले तीन राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गर्नुभयो ।

यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौल समूहमा जम्मामा ३०० केजीसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापकसमेत रहनुभएका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाउनुभएको छ ।

विशालले स्न्याचमा १३३ केजी, क्लिन एण्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुभयोे । स्न्याचमा १२६ केजी, क्लिन एण्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो । उहाँले उक्त कीर्तिमान केही साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाउनुभएको थियो ।

स्न्याचमा भने विशालले दोस्रो लिफ्टमा नै १२७ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसक्नुभएको थियो । पहिलो लिफ्टमा विशालले १२१ केजी तौल उचाल्नुभएको थियो । त्यस्तै, क्लिन एण्ड जर्कमा विशालले पहिलो लिफ्टमा १६१ केजी वजन उठाउनुभएको थियो । दोस्रो लिफ्टमा विशालले १६८ केजी वजन उचालेर राष्ट्रिय कीर्तिमान रचेपछि तेस्रो लिफ्टमा कीर्तिमान सुधार गर्ने प्रयासमा १७५ केजी तौल लोड गर्न लगाउनुभएको थियो । उहाँ त्यसमा सफल हुनुभएन ।

नेपालबाट पाँच खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्नुहुनेछ ।

एथलेटिक्स
एथलेटिक्सको म्याराथनमा नेपालबाट समान एक–एक पुरुष÷महिला खेलाडीले बिहीबार प्रतिस्पर्धा गर्नुभएको थियो । पुरुषमा राजन रोकाया र महिलामा पुष्प भण्डारी दौड्नुभएको थियो । पुरुषमा राजन समग्रमा १४ औँ स्थानमा रहनुभयो ।

उहाँले निर्धारित दूरी पूरा गर्न दुई घण्टा २३ मिनेट १७ सेकेण्ड समय खर्चनुभयो । १८ खेलाडी सहभागी भएकोमा साउदी अरेबिया र किर्गिस्तानका खेलाडीले दौड पूरा गर्न सक्नुभएन । चीनकाजी हेले दुई घण्टा १३ मिनेट ०२ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जित्नुभयो ।
महिलामा पुष्पाले निर्धारित दूरी तीन घण्टा ०२ मिनेट ३७ सेकेण्डमा सक्नुभयो । १७ खेलाडी सहभागी दौडमा पुष्पाले १६औँ स्थानमा दौड टुंग्याउनुभयो । बहराइनकी जिसामो कानिन् डेसीले दौड पूरा गर्न सक्नुभएन । बहराइनकै पाउल छुम्बा युनिस छेबिचीले पहिलो स्थान हात पार्ने क्रममा दुई घण्टा २६ मिनेट १४ सेकेण्डको समय निकाल्नुभयो । म्याराथनको समापनसँगै एथलेटिक्समा नेपालको चुनौती समाप्त भएको छ ।

कराँते
कराँतेको पहिलो दिन बिहीबार नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्नुभयो । तीनै खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनुभएको छ । लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजकिस्तानका खेलाडीसँग पराजित हुनुभयो । काजकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५-० ले पराजित गर्नुभयो । रिपेचेजको पहिलो बाउटमा बाइ पाउनुभएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसँग २-० ले चुक्नुभयो । एकल काताको पुरुषमा स्वर्णिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सक्नुभएन । स्वर्णिमले ३८.३० तथा एलिसाले ३७.३० अंक जोड्नुभयो ।

कुस्ती
कुस्तीमा नेपालकी सुवाङ्गी दुवे पराजित हुनुभएको छ । लिनान् स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको महिला ५७ केजीको पहिलो चरणको खेलमा थाइल्याण्डकी श्रृपाराले सुवाङ्गीलाई ८-० ले पराजित गर्नुभयो । पहिलो राउण्डमा श्रृपाराले ८-० अंक जोड्नुभयो भने दोस्रोमा दुवैले अंक बटुल्न सकेनन् ।
क्यानोइङ
हाङझाव एसियाडको क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट हुनुभएको छ । दुई चरणको हिट्समा सहभागी हुनुभएका गणेश सेमिफाइनल चरणमा पुग्नुभएको हो । क्यानोइङमा १६ खेलाडी सेमिफाइनलमा पुग्ने प्रावधान छन् ।

गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४औँ हुनुभयो । पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुग्नुभएको थियो । दोस्रो हिट्समा नेपालका गणेशसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उहाँ सातौँ भए पनि छनोट हुन सफल हुनुभयो । दोस्रो हिट्समा खेलेका सबै खेलाडी सेमिफाइनल चरणमा छनोट हुनुभयो । सेमिफाइनल चरणमा १६ खेलाडी छनोट हुनुभयो । १६ जनामध्ये १० खेलाडीले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । बाँकी ६ खेलाडी बाहिरिनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?