ढुंगापूजा : बलियो आधारप्रति विश्वास

Read Time = 20 mins

✍️ घनश्याम कोइराला

नीतिशास्त्रको कथन छ : ‘प्रासादस्य विनिर्माणे मूलभित्तिरपेक्ष्यते.....अर्थात् भवन निर्माणमा जगको आवश्यकता पर्दछ ।’ यसको आसय के हो भने जग बलियो हुनुपर्दछ । जग बलियो पार्नको लागि जगमा बलिया वस्तु राख्नुपर्दछ । प्रकृतिमा पाइने बलियो वस्तु ढुंगा हो । ढुंगालाई संस्कृत भाषामा शिला भनिन्छ । यहाँबाट सुरु भयो शिलान्यासको परम्परा र यो संस्कृति बन्यो । शिलान्यास गर्दा शिलापूजा अर्थात् ढुंगापूजा गरिन्छ । प्रकृति पूजाका धेरै आयाम छन् । यिनको ठूलो अर्थ र महत्व छ । ढुंगापूजा गरेर स्वर्ग गइन्छ, मोक्ष प्राप्त हुन्छ आदि कतै लेखिएको छैन ।

फलाम तथा अन्य धातु र काठका उपकरण बनाउने सीप सिक्नुभन्दा पहिले पेल्ने, पिँध्ने (पिस्ने) काममा ढुंगाको उपयोग गरेका विषय ‘ढुंगे युग’ भनेर पढिन्छ, यसबारेको जानकारीको आधारभूत स्रोत वेद नै हो । ढुंगा जमिनको बलियो आधार हो । यसलाई चलाउँदा, यसलाई यताउता पार्दा यसबाट कति हानि हुन्छ भन्ने कुरा अहिले स्पष्ट देखिएको छ । बलियो, स्थिर वस्तु ढुंगालाई हाम्रा पुर्खाले प्रतीकका रूपमा अन्यत्र पनि पूजा र सम्मान गरेको देखिन्छ । विवाहमा गरिने शिला पूजा, शिलारोहण र संरचना निर्माणको प्रारम्भ (शिलान्यास)मा गरिने शिला पूजा त्यसैको निरन्तरता हो । तर, यसलाई जथाभावी गरेर आइलोको प्राकृतिक विपत्ति भोगिरहेको आजको मानिसले आजकै सन्दर्भमा केही शिक्षा लिन पर्छ कि ?

ढुंगापूजा चलनचल्तीको धर्मभित्र पर्दैन तर, यसलाई धर्म मान्न सकिन्छ । प्रकृतिका वस्तुलाई महत्व दिनु, सम्मान गर्नुलाई धर्म मानिन्छ भने के नराम्रो हुन्छ त ? पछिल्लो समय ‘पूजाका लागि पूजा’मात्र गर्ने परम्पराले अन्धविश्वासको रूप लिएको छ । अन्तर्वस्तु बुझेर जे गरिन्छ, त्यो कहिल्यै अन्धविश्वास हुन सक्दैन तर नबुझी नबुझी लहैलहैमा लागेर गरिन्छ भने जे गरे पनि अन्धविश्वास हुन्छ ।

ढुंगापूजा चलनचल्तीको धर्मभित्र पर्दैन तर, यसलाई धर्म मान्न सकिन्छ । प्रकृतिका वस्तुलाई महत्व दिनु, सम्मान गर्नुलाई धर्म मानिन्छ भने के नराम्रो हुन्छ त ? पछिल्लो समय ‘पूजाका लागि पूजा’ मात्र गर्ने परम्पराले अन्धविश्वासको रूप लिएको छ ।

प्रकृतिका सबै पदार्थ जस्ताको तस्तै उपयोग हुँदैनन् । आलु, पिँडालु, कटहर, तामा, भुइँकटहर होस् या धान, मकै, कोदो, गहुँ आदि जस्ताको तस्तै उपयोग गरिँदैन । तर, यिनको बिरुवा नै नजोगाई सखाप पारियो भने तिनीहरूको अर्थपूर्ण उपयोग सम्भव हुन्छ र ? हुँदैन । तिनीहरूलाई सुधार, परिष्कार, परिमार्जन गरेरमात्र उपयोग गरिन्छ । यसो गर्नुलाई संस्कार भनिन्छ र यसो गर्नुको सकारात्मक परिणतिलाई संस्कृति भनिन्छ ।

प्रकृतिको अन्धाधुन्ध दोहन गर्नु भनेको नबुझेको या भने हेलचेक्रयाइँ हो । नबुझेर यसो भएको हो भने राज्यले बुझाउन पर्‍यो, हेलचेक्रयाइँ हो भने दण्डित गर्नुपर्‍यो । यदि, राज्यले यसो गर्न सकेन भने प्रकृतिले नै दण्डित गरिदिन्छ । अहिले हामी यस्तो भएको देखिरहेका छौं । आज बाढी र पहिरोले बस्ती सखाप पारेको छ । हल्ला हुन्छ, ‘लौ बस्तीमा बाढी पस्यो रे !’ खोला बग्ने बाटोमा मानिस पस्दा हल्ला हुँदैन, सल्लाह हुन्छ । प्राकृतिक प्रकोपका कारण मानिसको चिहिल-बिहिल देख्दा हृदय विदीर्ण हुन्छ तर संस्कृतिको सम्मान र प्रकृति संरक्षणमा देखिएको उदासीनता देख्दा धिक्कार्न मन लाग्छ ।

वेद हाम्रो देशमा प्रचलित सनातन संस्कृतिको आधार हो । यसबाट धर्म र जीवन व्यवहारका अनेकौं विषय हुर्केको छ । वेद प्रकृतिगायन हो । मानव चेतनाको प्रारम्भिक सोत हो । अनिश्चित पूर्वकालदेखि निश्चित कालखण्डका पुर्खाको अनुभवको सँगालो हो । सबै भूगोलका लागि यो विषय उत्तिकै सत्य होला या नहोला, पृथिवीको हाम्रो यो गोलाद्र्ध, त्यसमा पनि हाम्रो यो हिमवत्खण्डको धर्म, कला, जीविका, सामाजिक जीवनका अनेकौं पक्ष समेटिएको सनातन संस्कृतिको आधार हो ।

वेदमा ढुंगापूजाको विषय छ । ढुंगाको प्रशंसा गर्दै, प्रशस्ति गाउँदै ढुंगाको पूजा हुन्छ । यही भएर वैदिक सनातनीहरू र यस संस्कृतिका अनुयायीलाई अन्धविश्वाससँग जोडेर हेरिन्छ । सनातनीहरू विरोधका पात्र बनेर पनि ढुंगापूजक छन् । उनीहरू विभिन्न रूपमा ढुंगा पूजाको संस्कृतिलाई अघि बढाइरहेका छन् । फरक ढंगले अघि बढ्नु, बढाउनु नै संस्कृति हो । हाम्रो पुर्खाले ढुंगा पूजाको प्रचलन किन चलाए भन्ने विषय वेदमा पढ्न सकिन्छ ।

‘दशावनिभ्यो दशकक्षेभ्यो दशयोक्तेभ्यो दशयोजनेभ्योः । दशाभीशुभ्यो अर्चताजरेभ्यो दश धूरोदश युक्ता बहद्भ्य अर्थात् दश औंलासँग सम्बन्धित दश किसिमका कर्म प्रकट गर्ने, दशवटा घोडाजस्तै, सोममा मिसाइएको, दश कर्म निर्वाह गर्ने, सञ्चालनकर्ता, दश किसिमका शक्तिले सम्पन्न भएर पेल्ने कार्यमा खटिएका ढुंगाको महिमा गुणगान गरौं ।’
(ऋग्वेद१०/९४/७)

‘ते अद्रयो दशयन्त्रास आशवस्तेषामाधानं पर्येति हर्यतम् । त ऊ सुतस्य सोम्यस्यान्धसोंकशोः पीयूष प्रथमस्य भेजिरे अर्थात् यी ढुंगाले दशवटा औंलालाई बन्धनरूपी डोरीजस्तै ठानेर शीघ्रताका साथ काम गर्दछन् । यी ढुंगाको पेल्ने काम अत्यन्त प्रशंसनीय र गतिशील छ । चुहिँदै गरेका सोमरसको भाग सबैभन्दा पहिले यिनीहरू लाई नै प्राप्त हुन्छ ।’
(ऋग्वेद १०/९४/८)

‘सुते अध्वरे अधि वाचमक्रता क्रीडयो न मातरं तुदन्तः । विषूमुञ्चा सुषुवुषो मनीषां विवर्तन्तामदंयश्चायमानाः’ अर्थात् पूजनीय ढुंगा यज्ञमा सोम पेल्ने काम गर्दा आमासित खेल्ने बालक आफ्ना हातले आमालाई हिर्काएर खुशीले हाँसेझैँ रमाएका देखिन्छन् । सोमरस पेल्न प्रयोग गरिएका ढुंगालाई विभिन्न किसिमले प्रार्थना गरौं । अब ढुंगाले पेल्ने काम बन्द गरुन् ।
(ऋग्वेद १०/९४/१४)

यी पंक्तिहरूको अध्ययनबाट हाम्रा पुर्खा प्रकृतिका यस्ता जड वस्तुप्रति समेत कति सम्वेदनशील रहेछन् भन्ने स्पष्ट हुन्छ । उनीहरू कसैको विरोध वा प्रशंसा कारणसहित गर्दथे भन्ने कुरा पनि स्पष्ट हुन्छ । यी त केही उदाहरणमात्र हुन् । ढुंगालाई बल, स्थिरता र दृढताका प्रतीकको रूपमा स्वीकार गरिएको छ । तर, हामी हाम्रो जमिनको रक्षा गरिरहेका ढुंगालाई जथाभावी खल्बल्याएर हानी व्यहोरिरहेका छौं । कतिपयले मूत्र्तिपूजा र ढुंगगा पूजालाई उस्तै र उही ठान्दछन् । तर, वास्तविकता यस्तो होइन । मूर्तिपूजा ‘देव-देवता/देवीको भाव मूर्तिमा कल्पेर गरिने पूजा’ हो, ढुंगाको पूजा विशुद्ध ढुंगालाई नै गरिने पूजा हो ।

मानिसको जन्म प्राकृतिक घटना हो । प्रकृतिमा जन्माउने शक्तिमात्र होइन, पालन-पोषण गर्ने शक्ति छ । प्रकृतिमा रोगबाट बचाउने पदार्थ र सामथ्र्य दुवै छन् । संसारमा अहिले पनि जे जति आविष्कार, निर्माण भएको छ, ती सबैमा प्रकृतिकै पदार्थको उपयोग हुन्छ । प्रकृतिका पदार्थको विकार नै विकास र आविष्कार हो । यहाँ विकार भनेको दुर्गुण या विकृत रूपलाई मात्र बुझने, काम नलाग्ने अर्थमा बुझ्ने चलन पनि छ, तर यस्तो बुझाई सही होइन । विकार भनेको कुनै वस्तुमा आउने परिवर्तन हो, बदलाव पनि हो । जस्तै : जहाँ, जुन संस्कृतिमा ‘पञ्चगव्य’ लाई पवित्र मानिएको छ, त्यहीँ त्यसलाई ‘गोर्विकारः’ भनिएको छ । त्यसैले, विकारको अर्थ बिग्रेको भन्नेमात्र हुँदैन ।

अहिले देखिँदै गरेको सत्य के हो भने प्रकृतिप्रति हेलचेक्र्रयाई र संस्कृतिप्रति अपहेलना बढ्दै गरेको छ । मानिसको अस्तित्व र पहिचानका विषय नै प्रकृति र संस्कृति हुन् । यिनलाई नै संरक्षण र अवलम्बन गरिएन भने मानव पुर्खाको अवशेष र खण्डहर हुनुबाहेक के नै हुन्छ र ? ती पुर्खा, जसलाई वर्तमान पुस्ताले अज्ञानी, अन्धविश्वासका स्रोत ठान्दछ, उनीहरू निकै व्यावहारिक र वैज्ञानिक थिए ।

उनीहरूले आफना खोज, अध्ययन, प्रयोगका व्यावहारिक सीप पुस्तालाई हस्तान्तरण गर्ने विधि अवलम्बन गरे र जोगाए, विरासतका रूपमा सन्तानलाई दिएर गए । त्यसलाई हामी अहिले वेद भन्दछौं । वेद भनेको विद्या हो, ज्ञान हो, बोध हो । यो सिर्जना र संकलन सिंगो मानव जातिका लागि अमूल्य निधि हो । शक्तिसंघर्षका परिणाम स्वरूप यससम्मको पहुँचमा पनि विभेद गरियो । जसले गर्दा सबैले यससम्म पहुँच पाइएन तर त्यो विगत हो, वर्तमान त्यस्तो छैन । विगतको अरूप्रतिको रिसले वेद र वैदिक संस्कृतिको प्रकाशबाट वञ्चित नहौँ ।

ढुंगा पूजाको बारेमा जानकारी नै नभएका र त्यसै कारणले यसलाई अन्धविश्वास ठानेर विरोध गर्नेहरू ले पनि भवन, पुल, सडक आदि भौतिक संरचनाको जग राख्ने कार्यलाई शिलान्यास भन्दछन् र गर्दछन् । यस विषयमा जान्न थोरै शब्दज्ञान आवश्यक पर्दछ । शिला भनेको ढुंगा हो । न्यास भनेको स्थापना हो, विश्वास हो, सम्मान हो । विश्वासपूर्वक ढुंगा स्थापना गर्ने विषय नै शिलान्यास हो । यो नै निर्माणको आधार हो । यसरी स्थापना गर्नुअघि त्यस ढुंगालाई पूजा गरिन्छ । यस कार्यलाई शिला पूजा भनिन्छ । आखिर नजानेर शिला (ढुंगा) पूजा भइरहेको छ, गर्ने प्रचलन कायम रहेको छ, यसबारे अलिकति जानेर गरे कति राम्रो हुँदो हो ?

विवाहमा शिलारोहण शिलापूजन हुन्छ । वेदको मन्त्र पढिन्छ । यहाँ कर्मकाण्डमा के कसो गरिन्छ, त्यो स्थानविशेषको विषय हो तर त्यसको आसय स्थिरता र दृढता हो । स्थिरता र दृढताको प्रतीकको रूपमा गरिने यो शिलापूजा वा शिलारोहणले प्रकृतिप्रति मानिसको श्रद्धाभाव व्यक्त गर्दछ ।

विवाहमा शिलारोहण शिलापूजन हुन्छ । वेदको मन्त्र पढिन्छ । यहाँ कर्मकाण्डमा के कसो गरिन्छ, त्यो स्थानविशेषको विषय हो तर त्यसको आसय स्थिरता र दृढता हो । स्थिरता र दृढताको प्रतीकको रूपमा गरिने यो शिलापूजा वा शिलारोहणले प्रकृतिप्रति मानिसको श्रद्धाभाव व्यक्त गर्दछ । जसलाई पूजिन्छ, त्यो वस्तु वा व्यक्ति जे भए पनि उच्च सम्मानित हुन्छ । यसरी हाम्रा पुर्खाले विवाहजस्तो परिवार स्थापना गर्ने अवसरमा ढुंगालाई यति बढी महत्व दिएको स्पष्ट छ । यस क्रममा यस्तो मन्त्र पढिन्छ : ‘ॐ आरोहेममश्मानं अश्मेव त्वं स्थिरा भव । अभितिष्ठ पृतन्यतोद्रबबाधस्व पृतनायतः अर्थात् हे कुमारी, यस यज्ञवेदीको उत्तरतिर राखिएको ढुंगामाथि चढ । तिमी ढुंगाजस्तै बलशाली होऊ । लड्नभिड्न आउनेहरू लाई दबाएर राख्न र ती झगडा गर्नेहरू को प्रयासलाई असफल पारिदेऊ ।’ यसलाई नजानी, नबुझी खेल र हाँसोको रूप मा अघि बढाइएको छ । यही नबुझी गरिएको हुनाले, बुझाउने प्रयत्न नभएको हुनाले हितकर, जीवनोपयोगी, शिक्षाप्रद, व्यावहारिक, विज्ञानसम्मत विषय अन्धविश्वास र कर्मकाण्डमा मात्र सीमित भए । पुर्खाले प्रकृतिलाई सोचको आधार बनाए । यसलाई धर्म, उद्यम र जीवनको संस्कार बनाए । यसका हरेक अंग-अंग, खण्डखण्डलाई पूजा (उच्च सम्मान)को चलन चलाए ।

‘अश्मा च मे मृत्तिका च मे गिरयश्च मे पर्वताश्च मे सिकताश्च मे वनस्पतयश्च मे हिरण्यं च मे यश्च मे श्यामं च मे लोहं च मे सीसं च मे त्रपु च मे यज्ञेन कल्पन्ताम् अर्थात् यहाँ रहेका खनिज, ढुंगा, माटो, साना र ठूला पर्वत, बालुवा, वनस्पति, सुनचाँदी, फलाम, ताँबा, सीसा र टिन आदि सबै वस्तुहरू यज्ञीय कर्मका प्रभावले सधै धेरै भइरहून् । (यजु.१८/१३) ।

यज्ञीय कर्मका प्रभाव भनेको सामूहिक प्रयत्नको प्रभाव र परिणाम भनिएको हो । यस्तो पद्धति स्थापित गरेर संरक्षणको संस्कृति सिकाउने पुर्खाप्रति वर्तमान पुस्ता कृतज्ञ हुनुपर्दछ । प्रकृतिमा उपलब्ध हुने सम्पत्तिप्रति उनीहरू लोभी थिएनन्, बरु यिनीहरू को उपयोगसँगै बढिरहने कुरामा पनि ध्यान दिन्थे । यसरी संरक्षा र विकासका लागि पुर्खाको सम्वेदनशीलता स्पष्ट देख्न सकिन्छ ।

अहिलेको बाढीपहिरोको पीडाको मुख्य कारण प्रकृतिको अनुचित दोहन हो । आज मानिसले ढुंगाको बल र उपयोगिता बुझेको छ । तर, प्रकृतिको अमूल्य साझा सम्पत्तिको उपयोग स्वार्थकेन्द्रित भएर गरिरहेको छ र विपत्तिमा रोइरहेको छ । प्राकृतिक वस्तुहरू को सही संरक्षण र सदुपयोगका लागि संस्कृतिको अन्तर्वस्तु बुझ्न र बुझाउन अत्यन्त आवश्यक छ । प्रकृति र संस्कृतिको यो गज्जबको सम्बन्ध हुन्छ । यस्ता प्रकोप, महामारीले सामाजिक तथा सांस्कृतिक अवस्थामै परिवर्तन पनि ल्याइदिने गर्दछ ।

सनातन संस्कृतिमा देवीदेवताका मूर्ति स्थापना गरेर पूजा गर्ने प्रचलन रहेको छ । कतिपय मानिसले यसैलाई आधार बनाएर ‘ढुंगा पूजा’ भनेको पनि पाइन्छ, वास्तविकता के हो भने ढुुंगा पूजा र मूर्ति पूजा एउटै होइन । ढुंगा पूजा कुनै देवीदेवताको मूर्ति पूजाभन्दा प्राचीन र फरक हो । ढुंगा पूजाको विषय प्रकृतिप्रति सम्मान हो । यसमा यसको संरक्षण र सन्तुलित उपयोगको शिक्षा हो । यस्तो विषयलाई उच्च शिक्षामा मात्र होइन, प्रकाण्ड वातावरणविद् बनाउनमात्र होइन, विद्यालयस्तरको शिक्षाको विषय बनाइनुपर्दछ । बालबालिकालाई यो शिक्षा दिनुपर्दछ, बालबालिका मानव संरचनाका जग हुन् । शिक्षाको माध्यमबाट शक्तिशाली बनाइनुपर्दछ । समग्रमा भन्नुपर्दा ढुंगा पूजा प्रकृतिप्रति सम्मान र बलियो आधारप्रतिको विश्वास हो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रसाद काेइराला
कुलप्रसाद काेइराला
2023-07-29 11:12 am

घनश्याम काेइरालाले लेखेकाे पाषाण पूजाका तर्क पाैरस्त्य शास्त्र,दृष्टि र खाेज तथा निष्कर्षानुकूल रहेकाे भेटें ।हुन त स्वामी विवेकानन्द भन्छन् पुस्तक या लेख पढेर लेखकले जम्मा गरेका दुईचार शब्द,दुईचारवटा तर्क सिकिएला समाधिबाट समग्र ज्ञान नगरी मानव बन्न सकिंदैन भन्छन् ।धारणा,ध्यान र समाधिबाट प्राप्त ज्ञान हुन् वेद,,अारण्यक र उपनिषत् ।अतः लर्डमेकाले शिक्षाका छात्र गुरुले त्यसलाई बुझदैनन् ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?