धनगढीमा अवैध औषधि पसल छ्यापछ्याप्ती, ६ जना मेडिकल सञ्चालक पक्राउ

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 7 mins

कैलाली । औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि कैलालीको धनगढी बजार क्षेत्र लगायत ग्रामीण क्षेत्रमा धमाधम अवैधरुपमा औषधि पसल खुल्ने क्रम बढ्न थालेको छ । औषधि व्यवस्था विभागबाट नियमित अनुगमन नहुँदा त्यस्ता नयाँ औषधि पसल खुल्दै गएका हुन् ।

कैलालीमा दिनानुदिन च्याउ उम्रिए झैँ निजी क्लिनिक तथा औषधि पसल खोलिँदै आएपछि धनगढी बजार क्षेत्र तथा ग्रामीण क्षेत्रका बासिन्दा ठगिएका छन् ।

जिल्लाका धेरैजसो क्षेत्रमा अनधिकृत रूपमा क्लिनिक तथा औषधि पसल खुल्लमखुल्ला सञ्चालन भइरहे पनि यसलाई रोक्न औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन, जिल्ला बजार अनुगमन समिति र क्षेत्रीय स्वास्थ्य निर्देशनालयले समेत बेवास्ता गरेपछि अवैध औषधि पसल खुल्ने क्रम रोकिएको छैन । जिल्लामा कतिवटा अवैध औषधि पसल छन् यसको तथ्याङ्क कसैसँग छैन । ग्रामीण क्षेत्रका उपभोक्ताले रोग बताएको भरमा पसलबाट औषधि लगेर जोखिम मोलिरहेका छन् भने कतिपय औषधि पसलले सामान्य अनुभवकै भरमा बिक्री गर्ने गरेका छन्।

कतिपय औषधि व्यापारीले विभिन्न अस्पतालका चिकित्सकको नाम झुण्ड्याएर आफैले स्वास्थ्य जाँच गर्ने गर्दा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ । नियमानुसार औषधि पसल राख्न कम्तीमा तीन वर्षे फार्मेसी तहको अध्ययन पास गर्नुपर्ने भए पनि यहाँका दर्जन बढी पसलेले सामान्य अनुभव बटुलेकै भरमा औषधिको व्यापार गर्दै आएका छन् । पछिल्लो समय धनगढीमा अनुमति बिनाका औषधि पसल (मेडिकल) छ्याप्छ्प्ती रुपमा फेला पर्न थालेका छन् ।

सोमबार मात्र धनगढीबाट एक महिलासहित दुई जना मेडिकल सञ्चालक पक्राउ परेका छन् । गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ परेको हो । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित अर्जुन क्लिनिकका सञ्चालक ४५ वर्षीय अर्जुन कुँवर र धनगढी उपमहानगरपालिका–७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका सञ्चालक गौरीगंगा नगरपालिका–१० घर भएकी २१ वर्षीया कमला बोहरा रहेका छन् ।

धनगढी क्षेत्रमा ईजाजत बिना मेडिकल, फार्मेसी तथा औषधि पसलहरु सञ्चालन भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय धनगढीसँग समन्वय गरेर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । टोलीले गरेको अनुसन्धानको क्रममा गैह्र कानूनी रूपमा क्लिनिक सञ्चालन गरी औषधि बिक्री तथा चिकित्सा सेवा प्रदान गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो । क्लिनिक सञ्चालक विरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै धनगढीमै अनुमति विना क्लिनिक र फार्मेसी सञ्चालन गर्ने थप ४ जना पक्राउ परेका छन् । बिहिवार धनगढीको वडा नम्बर २ र ३ मा सञ्चालन भएका मेडिकलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहामनगरपालिका–३ का एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक २५ वर्षीय नवीन धामी, फारवेष्ट प्याथोलिजीका सञ्चालक ३३ वर्षीय दिपक महरा र धनगढी उपमहानगरपालिका–२ का रेस्मी क्लिनिक फार्मेसीका सञ्चालक ७३ वर्षीय गोरख बहादुर श्रेष्ठ रहेका छन् । पक्राउ परेका चारै जनालाई सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।
क्लिनिक सञ्चालनको अनुमति नलिएको र अन्य मापदण्डसमेत पूरा नगरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि मात्र औषधी व्यवस्था विभाग नेपालगञ्जको नेतृत्वमा गरिएको औषधी पसलको अनुगमनका क्रममा धनगढीका थप दुईवटा मेडिकलमा शिल गरिएको थियो । दुईवटा मेडिकल दर्ता नभएका, सिफासिमा नपरेका औषधी वेच्ने गरेको लगायतका कैफियत भेटिएपछि अनुगमन टोलीले ती मेडिकल शिल गरेको थियो ।

औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्रकुमार शाहका अनुसार धनगढी उप महानगरपालिका–७ स्थित जेपि क्लिनिक र सो वडाको एस.आर पाराक्लिनिकलाई शिल गरिएको हो । शाहका अनुसार जेपी क्लिनिक दर्ता नै नगरेको पाइएको र एस.आर पाराक्लिनिले दर्ता नगरिएको र रिफारिस नगरिएका औषधी वेच्ने गरेको भेटिएकाले शिल गरिएको हो । त्यस्तै अनुगमन समितिले धनगढीका अन्य दुईवटा मेडिकलमा म्याद नाघेका औषधी र वेच्न सिफारिस नभएका औषधीको विक्री वितरण गर्ने गरेको फेला पारेपछि ती मेडिकलमाथि पनि कारवाहीको प्रक्रिया अघि बढाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?