एसियाली खेलकुदको तयारी तीव्र

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । नेपालले चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको तयारी तीव्र पारेको छ । अधिकांश खेलका खेलाडी छानिसकेका छन् । धेरै खेलहरू आन्तरिक बन्द प्रशिक्षणमा हुँदा केही खेलका खेलाडीहरू भने वैैदेशिक प्रशिक्षणसमेत गरिरहेका छन् । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वले नै प्रशिक्षणलाई नजिकबाट नियालिरहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले १९औं एसियाली खेलकुद तयारी तथा सहभागितासम्बन्धी राष्ट्रिय खेलसँग छलफल गरेको छ । परिषद्ले हाङझाव एसियाडमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेल संघका पदाधिकारीलाई १९औं एसियाली खेलकुद सचिवालको प्रगति बारे जानकारी गराउनुका साथै सम्बन्धित राष्ट्रिय खेल संघको तयारी बारे जानकारी लिएको छ ।

सो अवसरमा सदस्य-सचिव टंकलाल घिसिङले एसियाली खेलकुदमा नेपालको सहभागिताका विषयमा परिषद् गम्भीर भएर अगाडि बढेको जानकारी गराउनु हुँदै केही समस्या भए परिषद्सँग समन्वय गर्न आग्रह गर्नुभयो । आगामी असोज ६ गतेबाट सुरु हुने एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २३४ खेलाडी सहभागी गराउने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले २९ खेलमा नेपालले २३४ खेलाडी सहभागी गराउने जनाउनुभएको हो ।

‘नेपालले विभिन्न २९ खेलमा २३४ खेलाडी सहभागी गराउने छ । खेलाडीले एक्सपोजर पाउन् भनेरै निकै मेहनत गरे खेलाडी संख्या २३४ पुर्‍याउन सफल भयौं ।’ सदस्य-सचिव घिसिङले भन्नुभयो, ‘एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि हामीले २४ करोड माग गरेका थियौं । २१ करोडको सहमति प्राप्त भइसकेको छ । बाँकीका लागि प्रयास भइरहेको छ ।’

सदस्य-सचिव घिसिङले खेलाडीको ‘प्लेइङ किट्स’ का लागि संघलाई तयारी थाल्न बताउँदै कुनै संघले तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक स्वदेशमा झिकाउन चाहेमा आवश्यकताका आधारमा एसियाली खेलकुद तयारी सचिवालयमा प्रस्ताव पेश गर्न भन्नुभयो । उहाँले आवश्यक पर्ने खेल सामाग्रीको तुरुन्त विवरण तयारी गरी प्रक्रिया अगाडि बढाउन तयारी सचिवालयलाई निर्देशन दिनुभयो ।

नेपाल ट्रायथलन संघका अध्यक्षसमेत रहनुभएका नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले हरेक विषयमा परिषद्को मात्र भर नपरी खेलाडीको सुविधाका लागि सम्बन्धित संघले पनि प्रयास गर्नु पर्नेमा जोड दिँदै परिषद् र ओलम्पिक कमिटीबीच हरेक विषयमा समन्वय भइरहेको बताउनुभयो ।

कार्यक्रममा तयारी सचिवालयबाट भएका प्रगति विवरण प्रस्तुत गरिएको थियो । उपस्थित संघका प्रतिनिधिले खेलाडीको प्रशिक्षण, सुविधा, बसोवास, प्रशिक्षण स्थल, वैदेशिक प्रशिक्षण, खेल सामग्री, स्पाइरिङ पार्टनर, विमालगायतका विषयमा धारणा राख्नुभएको थियो ।
यस्तै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका विभिन्न चार खेलको निरीक्षण गर्नु भएको छ ।

एथलेटिक्स, फुटबल, भलिबल र उसुको तयारी प्रशिक्षणमा रहेका खेलाडीको प्रशिक्षण निरीक्षण गर्नुभएको छ । चारै खेलको प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेको छ । सो अवसरमा मन्त्री लिम्बूले खेलाडीको तयारीसंग सम्बन्धित विविध पक्षबारे जानकारी लिनुभएको थियो ।

महिला फुटबल कठिन समूहमा
एसियाली खेलकुदको महिला फुटबलमा नेपाल कठिन समूहमा परेको छ । नेपाल रहेको समूह ‘डी’मा हाल अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप खेलिरहेका दुई टोली जापान र भिएतनामसँगै दक्षिण एसियाली च्याम्पियन बंगलादेश रहेको छ । स्वर्ण पदकको दावेदार एवं पूर्वविश्वकप विजेता जापानसँग नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा भिड्न लागेको हो ।

भिएतनाम र बंगलादेशसँग भने नेपालले यस वर्ष नै खेलिसकेको छ । ओलम्पिक छनोटमा नेपाल र भिएतनामले दुई लेग खेलेका थिए । त्यस्तै बंगलादेशसँग साफ च्याम्पियनसिपको फाइनलमा पराजित नेपालले यसै महिना ढाकामा दुई खेलको मैत्रीपूर्ण सिरिज अपराजित रहेर पेनाल्टीमा जितेको थियो । एसियाली खेलकुदको महिला फुटबल स्पर्धामा १७ टोलीको सहभागिता रहनेछ । पाँच समूहका शीर्ष टोलीसँगै उत्कृष्ट तीन उपविजेता अर्को चरणमा प्रवेश गर्नेछन् ।

नेपाली टोली पछिल्लो डेढ महिनादेखि प्रशिक्षणमा व्यस्त रहेको छ । एन्फाले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अनन्तराज थापा प्रशिक्षक रहे पनि एसियाली खेलकुदका लागि भने बालगोपाल महर्जनले टोलीलाई तयारी गराइरहनुभएको छ । उहाँसँग राखेप मुख्य प्रशिक्षक अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षक श्री प्रकाश वैद्य पनि साथमा हुनुहुन्छ ।

एसियाली खेलकुदका लागि प्रशिक्षणमा गोलरक्षकहरू अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ यस्तै डिफेन्डरमा अमृता जैसी, गीता राना, हीरा कुमारी भुजेल, पूजा राना, विमला विक, निशा ठोकर, समीक्षा घिमिरे हुनुहुन्छ । मिडफिल्डमा रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही हुनुहुन्छ । यस्तै फरवार्डमा सावित्रा भण्डारी, अनिता केसी, सविता रानामगर, रश्मीकुमारी घिसिङ, अमिशा कार्की, रेखा पौडेल हुनुहुन्छ ।

भलिबलमा इरानसँगै
पुरुष भलिबलतर्फ नेपालले एसियाली पावरहाउस इरानसँगै परेको छ । समूह चरणको ड्र अनुसार नेपाल र इरानसँगै समूह ‘बी’ परेका छन् । यस समूहमा बहराइन पनि छ । इरान विश्व वरीयताको दशौं तथा एसियाली वरीयतामा दोस्रो स्थानमा छ । बहराइन विश्व वरियतामा ७७औं स्थानमा छ ।

नेपालले पछिल्लो दुई महिनादेखि एसियाली खेलकुदको लागि तयारी गरिरहेको छ । पुरुष टोलीको प्रशिक्षण सम्हालन डच प्रशिक्षक हान एबिङ नेपाल आउँदै हुनुहुन्छ । एसियाली खेलकुदका लागि मानबहादुर श्रेष्ठ (कप्तान), रविन चन्द, विशाल विक, टेकराज अवस्थी, धीरज काजी बस्नेत, हेमन्त मल्ल, लोकेन्द्र गिरी, सम्राट भण्डारी, विनोद चन्द, दुर्गाबहादुर खड्का, सफल विक, मनिष मानन्धर सम्मिलित नेपाली टोली यसअघि नै घोषणा गरिसकेको छ ।

यस्तै महिला भलिबलतर्फ नेपाल समूह ‘सी’मा दक्षिण कोरिया र भिएतनामसँग परेको छ । एसियाली वरीयतामा कोरिया चौथो र भिएतनाम छैटौं स्थानमा छ । नेपालले बेल्जियन प्रशिक्षक जान डे ब्रान्टको नेतृत्वमा प्रतियोगिताका लागि तयारी जारी राखेको छ । नेपाली टोलीमा अरुणा शाही (कप्तान), सरस्वती चौधरी, प्रतिभा माली, सलिना श्रेष्ठ, सफिया पुन, पुनम चन्द, उषा भण्डारी, कामना विष्ट, कविता भट्ट, जानकी भण्डारी, संगम महता र निरुता ठगुन्ना हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?