म्याग्दी । साउन महिनाको आज तेस्रो सोमबार । म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर धाममा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।
विगतका वर्षहरुको तुलनामा यस वर्ष साउन महिनामा गलेश्वर महादेवको पूजा अर्चना र दर्शन गर्न आउने भक्तजनहरुको संख्या बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
धार्मिक, आर्थिक र पर्यटकीय महत्वले युक्त गलेश्वरधाममा आकर्षक पूर्वाधारहरु निर्माण गरिए पछि पौराणिक स्थल अब धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
अध्यक्ष रेग्मीका अनुसार नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला (पत्थर) माथि अवस्थित स्वयं प्रकट शिवलिङ्ग रहेकोे प्रशिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौंका पूर्वाधारहरु निर्माण भएपछि तीर्थयात्री तथा वाह्य पर्यटकहरुसमेत आकर्षित भएका छन् ।
कालीगण्डकी नदीदेखि नै सुरु भएको चक्राकार शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र कल्पवृक्ष रहेको विश्वकै अलौकिक गलेश्वरधाममा चढेको भेटी र दाताहरुको सहयोगबाट रु कोषको पहलमा मन्दिर नजिकै कालीगण्डकी नदी किनारमा रहेको खाली जग्गामा पर्यटन कार्यालय पोखराको सहयोगमा क्याम्पिङ साइट, उद्यान, सार्वजनिक शौचालय र खेलमैदान निर्माण भएका छन् । गलेश्वरदेखि पौलत्स्य आश्रम जोड्ने पदमार्ग निर्माण भएको छ । बेनीदेखि तीन किलोमिटर उत्तरतर्फ बेनी–जोमसोम सडकको छेउमा पर्ने गलेश्वरमा बसपार्क समेत निर्माण भएको छ ।
विद्युतीय उपकरणको सहायताले कालीगण्डकी नदीबाट पानी तानेर मन्दिर परिसरको १०८ धारामा स्नान गर्ने व्यवस्था मिलाइएको छ । खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयसँग समन्वय गरेर १०८ धारा निर्माण गरिएको हो ।
त्यसैगरी गलेश्वरमा तीर्थयात्री निवास र उनीहरूलाई निःशुल्क भोजनको व्यवस्था मिलाइएको छ । अन्नक्षेत्र आश्रम व्यवस्थापन समितिले मुठ्ठीदान संकलन गरेर गलेश्वर वृद्धाश्रममा आश्रित जेष्ठ नागरिक र मुक्तिनाथ आवतजावत गर्ने तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था मिलाउँदै आएको अध्यक्ष रेग्मीले बताउनुभयो ।
मन्दिरमा चढेको भेटी र दाताहरुको सहयोगबाट धर्मशाला, बगैंचा, अतिथी आवास, संस्कृत पाठशाला, हवनकुण्ड,एक सय आठ शिवलिङ्,कालीगण्डकीको जलबाट गलेश्वर शिवालय क्षेत्रमा नै स्थान गर्न गोमुखे धारा,अग्लो त्रिशुल लगायतका संरचनाहरु निर्माण भएपछि गलेश्वर सवैको आकर्षणको केन्द्र बन्दै गएको उहाँको भनाइ छ ।
गलेश्वरमा विश्वमा कतै पनि नभेटिएको स्वयं प्रकट शिवलिङ्ग, चक्रशीलाको परिधिमा टुसाएका शालिग्राम, प्रष्टरुपमा देखिने भगवान शिवका चरण चित्र, त्रिशुल, शंख, नाग, देवदेवीका मूर्ति आदि रहनुले पनि यो विश्वकै अलौकिक तीर्थस्थल भएको पुष्टि हुने पण्डित भीमनाथ पराजुलीले बताउनु भयो ।
२०५४ अघि अस्तव्यस्त रहेको यस क्षेत्रमा राधाकृष्ण शर्मा पराजुलीले आफ्नो निजी २० लाख रुपैयाँको लागतमा हालको मन्दिर निर्माण गरेपछि गलेश्वरधामको विकासको शिलान्यास सुरु भएको हो । यस क्षेत्र अन्तर्गत रहेका कपिलाश्रम, पुलस्त्य–पुलहाश्रम, जगन्नाथ, वरनाथ, टोड्के तपोवन, सिद्धाश्रम, विवप्रभाश्रम, विपिनाम, आनन्दाश्रम, ऋखाराश्रम अझै पनि प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा नै परेका छन् ।
मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर धामले स्वदेशी तीर्थयात्रीहरुको मात्रै होइन विदेशी पर्यटकहरुको समेत ध्यान खिच्न सफल भएको छ । यहाँ दैनिक दर्जनौं विदेशी पर्यटकहरु आउने गरेका गलेश्वर शिवालय क्षेत्रविकास कोषले जनाएको छ । विष्णु भगवानले बराह अवतार लिई पृथ्वीलाई उद्धार गरेको स्मरण गराउने जलबराह कुण्डको जल अभिषेक गर्दै दर्शन पूजन गर्नाले पाप नाश भै मनोकांक्षा पूरा हुने धार्मिक मान्यता छ ।
बराहको मध्य भागमा शेषनागको मूर्ति छ । मन्दिरमा अवस्थित चक्रशिलाको विभिन्न ठाउँमा विश्वमै दुर्लभ शालिग्राम शिला रहेका छन् । धार्मिक व्यक्तित्वहरू यहाँ भगवान् विष्णु शालिग्रामको रुपमा स्वयं प्रकट भएको र ढुँगो टुसाएको दावी गर्छन् ।
यसका अतिरिक्त १०८ शिवलिङ्ग र जडभरतले तपस्या गरेको गुफा पनि गलेश्वरको अर्को आकर्षण हो । साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रीका दिन विशेष पूजाआजा हुने गलेश्वर एक दशक अघिसम्म सुनसान हुने गरेकामा पछिल्ला वर्ष प्रायःजसो सबै दिन भक्तजन आउने गरेका छन् ।
म्याग्दीको सदरमुकाम वेनी बजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वर धामको महिमा स्कन्द पुराणमा समेत उल्लेख छ । म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारी र पारीका केही गाउँ र मुस्ताङ जिल्लालाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेश द्धारको रुपमा समेत परिचित छ ।
गलेश्वरको पौराणिक महत्व
वावु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्नीमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई शिव भगवानले काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामाकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ ।
१९ औं शताव्दीको अन्त्यतिर गलेश्वर वावा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाइ त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिदै जान थालेको जानकारहरुले बताएका छन् ।
जस्तै लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटवढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको वराहा पोखरी , जडभरत गुफा , ९ रोपनी क्षेत्रफलको विशाल चट्टानमा जग विना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड , एकसय ८ शिवलिङ्ग, साँढेका विशाल मुर्तिहरु घण्टा यहाँका मुख्य आकर्षण हुन् ।
पूर्व पट्टी कालीगण्डकी नदी, दक्षिणतर्फ वेनी वजार , उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना वोकेको क्षेत्र हुँदा हुँदै पनि सरकारले खासै ध्यान दिन नसकेको गुनासो स्थानीय बासिन्दाहरुको रहेको छ ।
ढुङ्गामा कहिल्यै नसुक्ने पानीको मूल
यहाँ रहेको ढुङगाबाट पानीको मूल निस्कने पोखरी विदेशी पर्यटकहरुका लागि आश्चर्यको विषय बनेको छ ।
जस्तै खडेरीमा पनि पानी नसुक्ने र जस्तै वर्षामा पनि पानीको सतह नवढ्ने यो पोखरीको विषयमा खोज अनुसन्धान गरिनुपर्ने स्थानीय तथा त्यहाँ पुग्ने भक्तजनहरुको माग रहेको छ ।
त्यसैगरी आर्थिक दृष्टिकोणले पनि गलेश्वर ऐतिहासिक स्थल भएको इतिहासकारहरुले बताएका छन् । १९ औं वीसौ शताव्दीको सुरुवातताका गलेश्वर म्याग्दीका उत्तरी क्षेत्रहरुको साथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीहरुको समेत सम्पर्क हुने ठाउँको रुपमा चिनिने गरेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश वानियाँद्धारा लिखित विभिन्न लेखहरुमा चर्चा गरिएको छ । यो क्रम वेनी जोमसोम सडक विस्तार नहोउन्जेलसम्म जारी रहेको थियो । मासिक र साप्ताहिक रुपमा मन्दिरमा संकलन हुने भेटी सार्वजनिक गर्दै आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले भेटी र चन्दा पूर्वाधार निर्माणमा उपयोग गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच