जनस्वास्थ्य प्रयोगशालाहरुको अनुगमन र नियमन गर्ने छुट्टै निकाय नहुँदा समस्या भयो : डा.रुणा झा

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडाैं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरुको अनुगमन र नियमन गर्ने छुट्टै निकाय हुनुपर्ने माग गरेको छ ।

प्रयोगशालाका निर्देशक डा.रुणा झाले अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा अफ्ठ्यारो भएको बताउनुभएको हो । प्रयोगशालाको अनुगमन, परीक्षण, नीति योजना तर्जुमा, मापदण्ड निर्धारण गर्ने निकाय एउटै हुँदा काम गर्न समस्या भइरहेको बताउनु भयो । उहाँले अन्य देशहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इन्स्टिच्युटका रुपमा हुने गरेको भन्दै नेपालमा भने नीति नियम बनाउने, गुणस्तर हेर्ने, लाइसेन्सिङ हेर्ने, परीक्षण गर्ने काम जनस्वास्थ्य प्रयोगशाला एक्लैले हेर्नुपरेको बताउनु भयो ।

डा. झाले कम जनशक्तिबाट अनुगमन, परीक्षणलगायतका काममा अफ्ठ्यारो भएको बताउनु भयो । प्रयोगशालाका अनुसार हाल ७९ जना कर्मचारी कार्यरत छन् । नेपालका ३ हजार १ सय ४१ भन्दा बढी प्रयोगशालालाई ‘ए’ देखि ‘ई’ श्रेणीसम्म वर्गीकरण गरिएको छ । गुणस्तर नियन्त्रण केन्द्रिय प्रयोगशालाले गरेपनि अनुगमन र नियमन गर्ने निकाय छुट्टै हुँदा उपयुक्त हुने उहाँको बुझाइ छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले जनस्वास्थ्य प्रयोगशालालाई विशुद्ध जनस्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरु गर्ने स्थान बनाउनुपर्ने बताउनु भयो ।

डा.झाले भन्नुभयो, ‘धेरै प्रयोगशालाहरु त अस्पताल मातहत छन् । अस्पतालको अनुगमन गर्ने छुट्टै निकाय छ । त्यहाँका प्रयोगशालाहरुपनि सोझै हाम्रो पहुँचमा छैनन् । जसलाई वर्गिकरण चाहिएको छ, उहाँहरु चाहीँ हामीसँग आउनुहुन्छ । मापदण्ड हामीले सिमिलर (एकरुपता) बनाएपनि अस्पतालको प्रयोगशाला हाम्रो निगरानीमा पर्दैन । अस्पतालहरुको अनुगमन प्रदेश, मन्त्रालयबाट हुन्छ । स्वास्थ्य संस्थाको विभिन्न ठाउँबाट अनुगमन हुँदाखेरी त्यसको समग्रमा एकीकृत तथ्याङ्क राख्न र सबै नै कस्ता छन् भनेर जानकारी लिन चुनौति छ । जनशक्ती अभाव छ नै । रक्तसञ्चार र नियमन शाखामा दुई जनाको दरबन्दी छ । दुवै जना नवौं तहको हुनुहुन्छ । दरबन्दीको टाइप पनि मिलेको छैन । संख्यापनि मिलेको छैन । कामको भेराइटीज नै धेरै छ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई । १ लाख ३२ हजार सेवाग्राहीको स्याम्पलपनि हेर्नुपर्‍यो । धेरै जनशक्ति यसैमा लागिरहेको छ । अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदाखेरी अलिकति अफ्ठ्यारो भएकै हो । गुणस्तर नियन्त्रण सम्मको लागि त ठिकै हो । तर, अनुगमन र नियमन गर्ने निकाय छुट्टै हुनुपर्थ्याे ।

प्रयोगशालामा अनुसन्धानका क्रियाकलापहरु कम भएको उहाँले बताउनु भयो । उहाँले कार्यालय भनेर बनाइएको संरचनामा अहिलेपनि ल्याव सञ्चालन भइरहेको बताउनु भयो । उहाँले शुरुमा संरचनामै सुधार गर्नुपर्ने भन्दै नयाँ भवन निर्माण कार्य अघि बढेको जानकारी दिनुभयो । उहाँले प्रयोगशालाका लागि रिसर्च लेभलका जनशक्तिहरु आवश्यक पर्ने भएपनि जनशक्ति अभावमा काम गर्न बाध्य भएको बताउनु भयो ।

स्वास्थ्यको अनुगमन एकिकृत तवरबाट हुन नसकिरहेको बताउँदै डा.झाले केन्द्रिय प्रयोगशाला र प्रादेशिक प्रयोगशालाबिच समन्वय नभएको बताउनु भयो । ‘ए’ र ‘बी’ प्रयोगशालालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हेर्ने, ‘सी’ प्रयोगशालालाई प्रदेशले हेर्ने, ‘डी’ र ‘ई’लाई स्थानिय तहले हेर्ने भनेर वर्गिकरण गरिएपनि प्रभावकारी समन्वय हुन नसकेको बताउनु भयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत हाल दैनिक औषत तीन सयदेखि पाँच सय जनाको स्वास्थ्य परीक्षण हुँदै आएको छ । फरक प्रसंगमा उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेंगीको सेरोटाइप अध्ययन गर्न थालेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘डेंगी पोजेटीभ नेगेटिभ मात्रै नभएर कुन प्रकृति(टाइप)को डेंगी हो भनेर छुट्याउन सक्ने अवस्थामा छौं । यस वर्षको पनि डेंगी सिरोपाइपको अध्ययन गरिरहेका छौं । स्याम्पलहरु कलेक्ट गरेका छौं । यसको परीक्षण गर्ने तयारीमा छौं । डेंगीको कुन सेरोटाइप हो भनेर हेर्ने हो । विभिन्न वर्षमा एउटै सिरोटाइप नहुन सक्छ । यो वर्ष कुन सेरोटाइप आयो भनेर अध्ययन गर्दैछौं । बाहिरबाट हेर्दा सबै डेंगी हो र, त्यसको थप विश्लेषण गरेर कुन सिरोटाइप हो भनेर अध्ययन गर्न लागेका हौं । ’

गुणस्तर, नियमन र अनुसन्धानका लागि प्रयोगशालाको स्थापना भएपनि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा र जनशक्ती यथोचित नहुँदा सेवाप्रवाहमा सकस देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?