प्रधानमन्त्रीको न्युयोर्क भ्रमण :

उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहनुभएको छ । न्युयोर्क पुगेको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ । न्युयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा भएको भेटवार्तामा गुटेरेस र प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य तथा अतिकम विकसित देशहरूको आर्थिक विकासलगायत विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभएको छ । नेपाल र संयुक्त राष्ट्रसंघबीच आपसी हितको आदनप्रदान, सम्बन्ध र सहकार्यका लागि राम्रो समझदारी बनेको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड सोमबार पनि विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।

राष्ट्रसंघको महासभामा भाग लिन शनिबार साँझ नेपालबाट प्रस्थान गरेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल आइतबार अमेरिका पुगेको थियो । न्युयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्नुभएको थियो । अमेरिका पुगेलगत्तै प्रधानमन्त्री प्रचण्डले भेटघाटलाई तीव्रता दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले असोज ४ गते बिहीबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले जलवायु, दिगो विकासलगायत महत्वपूर्ण सेसनलाई सम्बोधन गर्नुहुने छ । महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्युयोर्कबाट सिधै चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

‘विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिनेछ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गरिने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताउनुभएको हो । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब त्यसको नियमनका लागि विशेष पहल गर्ने जानकारी दिनुभयो । सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उहाँको भनाइ थियो । सरकारले गरेका राम्रा र सकारात्मक कुरालाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ कि भन्ने गिरोह नै सक्रिय रहेको प्रधानमन्त्री प्रचण्डको आरोप छ ।

परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव रोजम्यारी डी कार्लोबीच भेटवार्ता भएको छ । भेटवार्तामा उहाँहरूबीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसंघस्थित नेपाली नियोगले जनाएको छ । साउद र रोजम्यारीबीच शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूका विषयमा समेत छलफल भएको बताइएको छ । भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी रहनुभएको थियो ।

सरकार र प्रतिपक्षको शृंखलाबद्ध चीन दौडाहा
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोज ५ गते न्युयोर्कबाट सिधै चीन भ्रमण जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण हुनुभन्दा दुई साता अघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले चीन भ्रमण गरेर स्वदेश फर्किसकेको छ । प्रधानमन्त्री र प्रमुख विपक्षी दलको टोलीलाई चीन भ्रमण गराएर चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) ले नेपाल सरकार र प्रमुख प्रतिपक्ष दलसँग सहकार्य गर्ने सन्देश दिन खोजेको छ । चीनले पर्यावरणीय संरक्षण गर्दै विश्वको नमुना सहरका रूपमा विकास गर्न खोजेको छिङहाई प्रान्तको राजधानी सिनिङमा आयोजित ‘चिनियाँ आधुनिकीकरणः प्रकृति संरक्षणमा मानव समुदायको सद्भाव’ विषयक छलफलमा महासचिव पोखरेललाई प्रमुख वक्ताको रूपमा निमन्त्रणा गरेको थियो । सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओ समेत सहभागी थिए । नेपाल र दक्षिण एसियाली देशसँग सहकार्य गर्ने जिम्मेवारीमा रहनुभएका छोङछिङ महानगरका पार्टी सचिव एवं चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियाजुनले एमाले पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी बीचको राजनीतिक सहकार्यका बारेमा विस्तृत छलफल गर्नुभएको थियो । जियाजुनले गत साउनको पहिलो साता (७ देखि १० गतेसम्म ) नेपाल भ्रमण गर्नुभएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) ले कोरोना भाइरस (कोभिड-१९) महामारी सामान्य लयमा फर्केलगत्तै पूर्वसभामुख एवं माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेतृत्व गरेको माओवादीका २० जना नेतासहितको टोलीलाई जेठ ५ देखि १८ सम्म चीन भ्रमण गराएको थियो । त्यसलगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेतृत्व गर्नुभएको नौ सदस्यीय टोलीले जेठ २८ देखि असार ६ सम्म चीन भ्रमण गरेको थियो । अध्यक्ष तिमिल्सिना र पूर्वसभामुख सापकोटाको भ्रमणमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारीका बारेमा छलफल भएको थियो । त्यसबाहेक प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको चाँजोपाँजो मिलाउन माओवादीका महासचिव देव गुरुङलाई चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) ले दुईपटक चीन भ्रमणका लागि निमन्त्रणा गरेको थियो ।

कोरोना महामारी लयमा फर्केलगत्तै चिनियाँ नेताहरूको नेपाल भ्रमण पनि उत्तिकै बाक्लिएको छ । सत्तारूढ दल माओवादी केन्द्रका महासचिव देव गुरुङको निम्तोमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवानका पार्टी सचिव वाङ सिआयो हुईले गत जेठ १६ देखि २० सम्म नेपाल भ्रमण गर्नुभएको थियो । त्यसलगत्तै, चिनियाँ कम्युनिष्ट पार्टी एसिया ब्युरोका उपमहानिर्देशक हु सु मिन नेतृत्वको चिनियाँ टोलीले असार १ देखि ४ सम्म नेपाल भ्रमण गरेको थियो । त्यसपछि छोङछिङ महानगरका पार्टी सचिव एवं चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियाजुनले गत साउन ७ देखि १० सम्म नेपालको भ्रमण गर्नुभएको थियो । जियाजुनले नेपालमा रहँदा राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नुभएको थियो ।

पाँच वर्षपछि प्रधानमन्त्रीस्तरीय चीन भ्रमण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमण गर्न लागेको तेस्रोपटक हो । नेकपा गठन भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा प्रचण्डले दुईपटक चीन भ्रमण गर्नुभएको थियो । यसअघि नेपालबाट प्रधानमन्त्रीको हैसियतमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले २१ जुन २०१८ मा चीन भ्रमण गर्नुभएको थियो । त्यसपछि बेल्ट एण्ड रोड इनियसियटिभ (बिआरआई) को दोस्रो सम्मेलनका लागि नेपालका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २७ अप्रिल २०१९ मा चीनको भ्रमण गर्नुभएको थियो । त्यसपछि चीनबाट चिनियाँ राष्ट्रपति सी चिनफिङले १२ अक्टोबर २०१९ मा नेपालको दुईदिने भ्रमण गर्नुभएको थियो । नेपालबाट प्रधानमन्त्रीस्तरमा पाँच वर्षअघि चीन भ्रमण भएको थियो । प्रधानमन्त्री प्रचण्ड यही २३ सेप्टेम्बर (असोज ५ देखि १२) सम्म आठदिने भ्रमण तालिकासहित चीन जाँदै हुनुहुन्छ । चच्याङ प्रान्तको राजधानी हाङ्चौँ सहरमा आयोजना हुने १९औँ एशियाली खेलकुदको उदघाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले असोज ६ गते चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेट गर्ने तय भएको छ । प्रचण्डले राजधानी बेइजिङ पुगेर समकक्षी चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?