आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘बुद्धविहार’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । वरपर जंगल, छेउमा रिघा गाउँ । बीचमा छ, उदय ‘रिघा बुद्ध विहार’ । उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको बुद्ध विहार निकै सुन्दर देखिन्छ । पछिल्लो समय बुद्ध विहार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । १२ वर्ष अगाडि शिलान्यास गरिएको विहार केही महिना अगाडि मात्रै संचालनमा आएको हो । विहार संचालनमा आएपछि दैनिक आन्तरिक पर्यटक घुम्न आउन थालेका हुन् ।

उच्च पहाडी हावापानी, शान्त वातावरण र चिरबिर चराचुरुङ्गीको आवाजले आगन्तुकलाई थप आकर्षित गरेको छ । मध्यपहाडी लोकमार्गदेखि आधा घण्टाको उकालो यात्रामा पुग्न सकिने बुद्ध विहार नजिकै रिघा गाउँ छ । मौलिक गाउँका रुपमा परिचित रिघा गाउँले पर्यटकलाई आकर्षित गरेकै थियो, त्यसमाथि नवनिर्मित बुद्ध विहारका कारण दैनिक घुम्न आउने आगन्तुकको संख्या बढ्न थालेको हो । रिघा गाउँ, बुद्ध विहारसँगै यस ठाउँबाट देखिने अनगिन्ती दृश्यले पर्यटकलाई मोहित गराउँछ ।

कच्ची सडक हुँदा यात्रामा केही कठिनाई भए पनि बुद्ध विहार क्षेत्रमा पुग्दा धेरैको थकान, भोग र प्यास मेटिन्छ । यस क्षेत्रको प्रचारप्रसार नहुँदा ओझेलमा परेको उदय रिघा बुद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर घर्ती काउचाले बताउनुभयो । बुद्ध विहार क्षेत्र प्राकृतिक सौन्दर्यको हिसाबले निकै मनोरम भए आवश्यक पूर्वाधार निर्माण हुन नसकेको बताउनुभयो । काउचाले लामो समयको मेहनतपछि अहिले विहार संचालनमा आएको सुनाउँदै अब यसको प्रचारप्रचारमा लाग्नु पर्ने बताउनुहुन्छ ।

‘रिघा आफै पनि पर्यटकीय ठाउँ हो, यहाँको सुन्दरता र मौलिकता ओझेलमा प¥यो, अहिले केही परिर्वतन हुन थालेको छ, प्रचार हुन थालेको छ, त्यही भएर पनि होला मान्छेहरु पनि आउन थालेका छन्,’ अध्यक्ष काउचाले भन्नुभयो, ‘धार्मिक आस्था राख्ने पनि आउने प्रवचन सुन्ने गर्छन् भने, अरु आउने फोटो, भिडियो खिचेर जान्छन्, पहिले खास्सै मान्छे आउँदैनथे, अहिले दिनदिनै आउने गरेको पाएको छु, रिघामा आउने धेरै जसो बुद्ध विहारसम्म जान्छन् ।’

रिघा उदय बुद्ध विहार स्थानीयको जनश्रमदानसहित करिब एक करोड लागतमा निर्माण भएको हो । करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको विहारलाई प्रवर्धनका लागि हरेक वर्ष बजेट विनियोजन भएको र काम गरिदै आएको गलकोट नगरपालिका–११ का अध्यक्ष डम्मर श्रीसले बताउनुभयो । केही समय अगाडिसम्म गुमनाम जस्तै रहेको यस क्षेत्रको अहिले प्रचार हुन थालेको भन्दै अब गलकोट क्षेत्रकै महत्वपूर्ण धार्मिक तथा पर्यटकी गन्तव्य बन्न सक्ने उहाँ बताउनुहुन्छ ।

अब विहार क्षेत्रमा पर्यटक बढाउन पदमार्ग, प्रतिक्षालय, खानेपानी व्यवस्थापन बगैचा, पोखरी निर्माण गर्ने, पिकनिक स्पटका रुपमा विकास गरिने अध्यक्ष श्रीसको भनाइ छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशबाट १५ लाख रुपैयाँ विनियोजन भएको भन्दै यसबाट बुद्ध विहारको तल थप्ने र बगैचा निर्माण गर्ने बताउनुभयो । हाल यस क्षेत्रमा वृक्षारोपण गर्न कार्य भइरहेको उहाँको भनाइ छ । राष्ट्रिय लोकमार्ग नजिकै रहेको हुँदा यस क्षेत्रमा विदेशदेखि पनि धार्मिक पर्यटक आउने संभावना रहेको श्रीस बताउनुहुन्छ ।

अहिले विहारमा बौद्ध दर्शनका बारेमा प्रवचन दिने र बेलाबेला भिक्षुहरु आउने गरेको उहाँको भनाइ छ । लोकमार्गदेखि विहारसम्म पुग्ने सडकको अप्ठ्यारो रहेको हुँदा यसलाई व्यवस्थित गर्नका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने अध्यक्ष श्रीसले बताउनुभयो ।

‘रिघा गाउँ र बुद्ध विहारलाई जोडेर ‘पयटकीय हब’ का रुपमा विकास गर्ने योजना बनाएका छौँ, यहाँको कला, संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यलाई अब देश विदेशसम्म फैलाउनु छ,’ अध्यक्ष श्रीसले भन्नुभयो, ‘यहाँ भौतिक पूर्वाधार निर्माण गर्ने चरणमा छौँ, हरेक वर्ष काम पनि भइरहेको छ, यहाँ आउने सडक अलिकति अप्ठ्यारो छ, यसलाई व्यवस्थित गर्नका लागि पनि माथिल्लो निकायसँग आग्रह गरेका छौँ, पहिलेको तुलनामा अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?