स्वास्थ्यमन्त्रीद्वारा दुवाकोटको वीर अस्पतालको भ्रमण, अस्पतालको जग्गामा तारबार लगाउन निर्देशन

हिमालय टाइम्स
Read Time = 6 mins

भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको दुवाकोटमा प्रस्तावित विस्तारित वीर अस्पतालको स्थलगत भ्रमण गर्नुभएको छ ।

भ्रमणका क्रममा मन्त्री बस्नेतले नेपाल सरकारका उच्च अधिकारी, सरोकारवाला निकाय र स्थानियवासीसँग छलफल गर्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई हस्तान्तरण गरेको ५७० रोपनी जग्गालाई तत्काल तारबार लगाउनु निर्देशन दिनुभएको हो ।

वीर अस्पताल निर्माणका लागि चागुनारायण नगरपालिकाले विसं २०७३ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई उक्त जग्गा हस्तान्तरण गरेको थियो ।

अस्पताल निर्माण भएपछि हजारौं विरामीले सर्वसुलभ स्वास्थ्य सेवा पाउनुका साथै भक्तपुरकै काचुली फेर्ने बताउँदै मन्त्री बस्नेतले अस्पताल निर्माणमा सरोकारवाला सबैको सहयोग हुनु पर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य क्षेत्रको कायापलट गर्ने महत्वाकांक्षी योजनाका साथ आफू अगाडि बढेको बताउदै मन्त्री बस्नेतले भन्नुभयो, ‘म दिनको एक महत्वपूर्ण काम गर्ने योजना अनुसार अगाडि बढेको छु । यो अस्पताल पनि बनाएरै छाड्छु ।’

स्वास्थ्य सेवाको जनताको सहज पहुँचका लागि आफूले तीन महिनामा धेरै महत्वपूर्ण काम गरेको दावी गर्दै उहाँले सबै संघीय अस्पतालमा साडे ३५ सय जनरल बेड विपन्नका लागि निशुल्क गर्नु र हरेक अस्पतालमा विपन्नका लागि १० प्रतिसत बेड निशुल्क हुनु उपलब्धि भएको बताउनुभयो ।

न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेतले दुवाकोटमा एक हजार देखि १५ सय शैयाको अस्पताल र शैक्षिक भवन, आवासगृह बनाउने गुरु योजना बनिसकेको भए पनि विविद कारणले अस्पताल निर्माणमा ढिलाइभएको बताउनुभयो । उहाँले विसं २०७४ देखि दुवाकोटमा विस्तारित वीर अस्पताल सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै स्थानियवासीलाई ओपिडी सेवाका साथै एक्सरे, ल्याव सहितका सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।

अस्पताल निर्माणमा चीन सरकारले सहयोग गर्ने आश्वासन दिएपछि सरकारले त्यसको संभाव्यता अध्ययनका लागि चीन सरकारलाई अनुरोध गरेको थियो ।

चिनियाँ प्राविधिक टोलीले संभाव्यता अध्ययन पछि सन् २०१९ मा प्रस्तावित अस्पताल निर्माण स्थलको भौगोलिक अवस्था कमजोर भएको, सडकको पहुँच सहज नभएको, बिजुलीको प्रवन्ध नभएको , खानेपानीको व्यवस्था नभएको र जग्गा एकिन नभएको जनाएको थियो । भएका कमी कमजोरी सुधार गरिए फेरि संभाव्यता अध्ययन गरिने चिनिया टोलीले बताएको थियो । त्यसपछि जग्गा एकिन भएको, सडकको पहूच बिस्तार गरिएको, बिजुलीको समस्या समाधान गरेको सरकारका अधिकारीले दावी गरेका छन् ।

छलफलमा सडक विभाग, नापी कार्यालय, नगरपालिका, भवन विभागका अधिकारीले अस्पताल निर्माणका लागि कुनै समस्या नरहेको बताएका छन् । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपाल सरकारले वीर अस्पताल निर्माणका लागि अहिलेसम्म भएका प्रगति समावेश गरेर चीन सरकारलाई फेरि संभाव्यता अध्ययनका लागि अनुरोध गरिने बताउनुभयो ।

चागुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले वीर अस्पताल नगरपालिका लागि गौरवको योजना भएको स्मरण गर्दै अस्पताल निर्माणका लागि कसैको विरोध नभएको बताउनुभयो। अस्पताल निर्माणमा चिन सरकारले सहयोग गरे राम्रो हुने बताउँदै त्यसो नभए नेपाल सरकार आफैले पनि बनाउन अगाडि बढ्नु पर्ने सुझाव दिनुभयो ।

वीर अस्पताल निर्माणका लागि स्थानियबासी जग्गा, बाटो र आवश्यक सहयोग गर्न तयार रहेको मेयर खत्रीले बताउनुभयो । अस्पतालको एरियामा रेखांकन गरेर बार लगाउनका लागि ५ करोड बजेट छुट्याइएको र आवश्यक परे स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयले सहयोग गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

छलफल कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय, भवन विभाग, सडक विभाग, विद्युत प्राधिकरण लगायतका उच्च अधिकारीले अस्पताल निर्माणमा समस्या नरहेको बताएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?