शनिवारदेखि अबरुद्ध बेनी–जोमसोम सडक अझै खुलेन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । शनिवार रातिदेखि अबरुद्ध कालीगण्डकी करिडोर अन्तर्गतको बेनी –जोमसोम सडक अझै संचालन हुन नसक्दा बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनी फर्कने यात्रु र यातायातका साधनहरु बिच बाटोमा नै रोकिएका छन् ।

शनिबार परेको अविरल वर्षाले गर्दा आएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको बैसरीमा सडक अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका –३ बैसरीमा सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको म्याग्दी प्रहरीले जनाएको छ ।

वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेका कारणले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक,तीर्थयात्री र सवारी साधनहरुलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कदै गर्नुभएका कृष्ण शर्माले जानकारी दिनुभयो । रघुगङ्गा गाउँपालिका –१ र २ को सिमानाबाट झरेको पहिरोले रघुगङ्गा –३ बैसरीमा सडक अवरुद्ध भएको उहाँले बताउनुभएको छ ।

“माथिबाट खसेको पहिरोले सडक अवरुद्ध छ,सवारी साधन सडकमै लाइन लागेका छन् भने यात्रुहरु बाटो छेउका होटल र घरहरुमा बसेका छन्,अहिले पनि वर्षा भइरहेकोले निरन्तररुपमा पहिरो खसिरहेको छ” उहाँले भन्नुभयो ।

सडक खुलाउन प्रहरी तथा बेनी–जोमसोम–कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन पनि जोखीम भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरले बताउनुभयो ।

“वर्षा भइरहेकोले पहिरो पन्छ्याउन समस्या भएको छ, हिजो रातिदेखि नै सडक अवरुद्ध भएको हो, आज खुल्ने सम्भावना न्यून छ” प्रनाउ कुवँरले भन्नुभयो । यसैगरी लगातारको वर्षाले पश्चिम म्याग्दीका ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?