किन दोहोरिरहन्छन् दुर्घटना !

हिमालय टाइम्स
Read Time = 6 mins

फेरि ठूला मध्येको अर्को एउटा दुर्घटना भएको छ । हुन त दुर्घटना मानिसको नियन्त्रण बाहिरकै परिणाम हुन् र संसारका जुनसुकै देशमा पनि हुने गर्छन् तर विभिन्न उपायको अवलम्बन गरेर यसलाई कम गराउन सकिन्छ । नेपाल भौगोलिक रूपमा विकट छ । त्यसैले सडक दुर्घटना तुलनात्मक रूपमा बढी नै हुने गर्छन् । यसका लागि हाम्रो भूबनोटमात्र दोषी छ भन्ने चाहिँ होइन । मंगलबार रामेछापमा भएको दुर्घटनाको मुख्य कारण भौगोलिक नभएर यान्त्रिक नै हो भन्ने प्रारम्भिक अनुमान गरिएको छ । हाम्रो सन्दर्भमा यान्त्रिक कारणले धेरै दुर्घटना हुने गरेका छन् । यसको यो पछिल्लो उदाहरण हो भन्न सकिन्छ । यान्त्रिक कारणले धेरै दुर्घटना हुनुमा पुराना गाडी राम्ररी मर्मत नगरी चलाउने प्रवृत्ति हो ।

१३ जनाको ज्यान जाने गरी भएको रामेछाप बस दुर्घटनाको कारण ब्रेक फेल भएको बताइएको छ । बस चालकले यसै भनेको छ र अनुसन्धान अधिकारीहरूले पनि यसै भनेका छन् । यदि यसो हो भने बस पुरानो र समयमा मर्मत नगरिएको रहेछ भन्ने प्रमाणित हुन आउँछ । यात्रीहरू १३ जनाको मृत्यु भयो र सवार सबै घाइते छन् । उनीहरू सकुशल नै रहेका भए पनि यात्रीलाई बसको ब्रेक फेल भएको हो कि होइन भन्ने थाहा हुन सक्दैन । यस दुर्घटनामा कुशल रहेका त चालक र सहचालक मात्रै हुन् । उनीहरूले आफ्ना कमजोरीका अन्य कारण रहेका भए पनि सत्य बताउँदैनन् तर आधिकारिक रूपमा उनीहरूकै भनाइलाई विश्वास गर्नुपर्ने हुन्छ । यो यस दुर्घटनामा मात्र भएको समस्या होइन ।

जसरी हवाई दुर्घटनामा जुन कारणले दुर्घटना भएको भए पनि अन्तिममा छानविन समितिले चालकलाई दोषी देखाउँछ । किनकि अधिकांश हवाई दुर्घटनामा चालकको मृत्यु हुन्छ तर सडक दुर्घटनामा त चालकहरू जोगिन सक्छन् । दुर्घटनामा चालककै कमजोरी पनि हुनसक्छ तर त्यो कुरा हत्तपत्त पुष्टि हुन आउँदैन । दुर्घटना मानवीय कमजोरीले हुने गरेका छन् । चालक निदाएर, यात्रीहरूसँग गफ गरेर वा ठट्टामा अल्मलिएर, मादक पदार्थ खाएर गाडी चलाएर, साहुहरूसँगको झगडाबाट आक्रोशमा आएर गाडी चलाउँदा दुर्घटना भएका अनेकौं उदाहरण छन् । यस्ता समस्याबाट टाढा रहेर चालकले गाडी चलाउने हो भने यस्ता घटनाबाट सिर्जित दुर्घटना हुँदैनथे ।

अर्कातिर यान्त्रिक कारणलाई कम गर्न निश्चय पनि सकिन्छ । पुराना थोत्रा गाडीहरू नचलाउने र बिग्रिएका गाडीलाई राम्ररी मर्मत गरेरमात्र चलाउने हो भने गाडीका कारणबाट हुने दुर्घटना निश्चय कम हुनेछन् । यसका लागि सरकारले बेलाबेलामा यति वर्ष पुराना गाडी चलाउन नपाउने भनेर नियम बनाउँछ तर यातायात व्यवसायीले यसको विरोध गरेर चक्काजामलगायत दबाबबाट सरकारलाई त्यस्ता नियम फिर्ता लिन बाध्य पार्छन् र तिनै पुराना गाडीहरू वर्षौंसम्म चलाइरहन्छन् । जसले गर्दा बढी दुर्घटना हुने गर्छन् । यसबाहेक मौसमी कारण दुर्घटनाको कारक त हो तर यस्ता कारणले स्थलभन्दा हवाई दुर्घटना बढी हुने गर्छन् ।

भौगोलिक कारणले हुने हिलो वा चिप्लो बाटो, घुम्ती वा मोडहरू भएका सडकहरू बर्खा पानी पर्नाले भत्किँदा, पहिरो जाँदा बाढीले बाटो रोकिँदा वा पुल बगाउँदा हुने दुर्घटना भने मानिस र यान्त्रिक कारणले भन्दा अन्य कारणले हुने दुर्घटना हुन् । मानवीय सचेतताले गर्दा अन्य कारणबाट हुने यस्ता दुर्घटनालाई समेत कम गर्न सकिन्छ । नेपालमा पटक-पटक ठूला सडक दुर्घटना भइरहेका छन् । हवाई दुर्घटनामा चाहिँ मानवीय क्षति नभएको भए पनि छानविन समिति बनाउने गरिन्छ भने सडक दुर्घटना चाहिँ धेरै ठूलो संख्यामा मानवीय क्षति भएको भए पनि त्यसबारे छानविन गर्न समिति बनाउने गरिएको छैन । सडक दुर्घटनामा पनि छानविन समिति बनाएर कारण पहिल्याई त्यस अनुसारको कारबाही गर्ने वा चेतावनी दिने हो भने त्यसले गर्दा दुर्घटनामा कमी हुन सक्ने थियो कि !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?