आज र भोलि अर्थात् वैशाख १६ गते आइतबार र १७ गते सोमबार नेपालले लगानी सम्मेलनको आयोजना गरिरहेको छ । नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी राष्ट्र तथा कम्पनीहरूलाई प्रभावित र आकर्षित गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गर्न लागिएको हो । नेपालकै लगानीकर्ताहरूले पनि कतिपय कारणले आफ्नो पुँजी लगानी गर्न नसकिरहेको अवस्था छ । नियम कानुनमा भएका असजिला, अप्ठ्यारा पक्ष, सरकारको नीति तथा लगानीको प्रतिफलको प्रत्याभूति नभइरहेका कारण लगानीकर्ताले झट्ट आफ्नो पुँजी लगानी गर्न नसकिरहेको अवस्था छ । उनीहरू यसका लागि सुरक्षित अवस्थाको प्रतिक्षा गरिरहेका छन् । विदेश राष्ट्र तथा प्रतिष्ठानहरूलाई त नेपाल लगानीका लागि सुरक्षित गन्तव्य हो भन्ने पर्याप्त जानकारी पनि नभइरहेको हुनसक्छ ।
यस अर्थमा आफ्नै देशका पुँजीपतिहरूलाई प्रोत्साहन र विदेशहरूलाई पर्याप्त जानकारी दिन तथा लगानीका लागि आकर्षित गर्न आवश्यक छ । नेपाल सरकारले यही महसुस गरेर यो लगानी सम्मेलनको आयोजना गरेको हुनसक्छ । यो उपलब्धिमूलक हुनेमा आशावादी बन्न सकिन्छ । किनभने नेपाल अथाहा साधन र स्रोत भएको देश हो । यस्ता साधन, स्रोतहरूको भरपुर उपयोग गरेर यीबाट अनेकौं प्रकारका चिज, वस्तु, साधन तथा उपयोगका संशाधनको निर्माण तथा उत्पादन गर्न सकिन्छ । अपार प्राकृतिक सम्पदाहरू यसका लागि प्रयोग हुन सक्छन् । त्यसका लागि स्वदेशी तथा विदेशी पुँजिपतिहरूलाई राजी गराउन सक्नुपर्छ । यस पहिले कतिपय अवस्थामा हाम्रो सरकार चुकेको छ र त्यसको सम्पूर्ण नाफा विदेशीले नै लाने गरेका छन् ।
त्यस कारण सरकारले निश्चित मापदण्ड बनाएर एकातिर लगानी आकर्षित गर्न सक्नुपर्छ भने अर्कातिर त्यसको प्रतिफल आफ्नो देशले पनि पाउने गरी तिनलाई नियम कानुनको परिधिभित्र राख्न सक्नुपर्छ । यो लगानी सम्मेलन परिणाममुखी बन्नेछ भन्नेमा आशावादी बन्न सकिन्छ । यसको पूर्वसन्ध्यामै नेपाल र चीनबीच दुईवटा महत्वपूर्ण सम्झौता भएका छन् । चीन हाल संसारकै अग्रणी औद्योगिक र आर्थिक सम्पन्नताले युक्त राष्ट्र हो । यस राष्ट्रले आफ्ना उत्पादनहरू संसार व्यापी बनाइसकेको छ । चीनले विभिन्न देशहरूको आर्थिक क्षमता हेरेर आफ्ना उत्पादनहरू पठाउने गरेको छ । संसारका सम्पूर्ण देशहरूको आर्थिक सामथ्र्य थाहा पाइसकेको चीन लगानीका लागि सक्षम छ ।
त्यसमा पनि नेपालजस्तो सानो देशका लागि केही उद्योग प्रतिष्ठान कलकारखाना लगायत क्षेत्रमा लगानी गर्न चीन पछि पर्दैन भन्ने उसले पहिलेदेखि केही अनुदान, केही साझेदारीका रूपमा गर्दै आएको लगानीका आधारमा भन्न सकिन्छ । अन्तरिक्षमा यान पठाउनेदेखि कृत्रिम सूर्यसमेतको निर्माण गर्न सक्षम राष्ट्र चीनका लागि नेपालमा दश-बीस अर्ब लगानी गर्न त्यति गाह्रो छैन । नेपाल-चीनबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी सम्झौता भएको छ भने अर्को बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता रहेको छ ।
यसका लागि आवश्यक संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहयोग गर्ने सन्दर्भ यसका उल्लेख भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको गत असोजमा भएको चीन भ्रमणकै बेला यससम्बन्धी प्रतिबद्धता चीनले व्यक्त गरेको थियो र त्यसलाई कार्यरूप दिने क्रममा हाल दुई देशबीच यस्तो सम्झौता भएको हो । नेपाल–चीनबीचको यो सम्झौता एउटा दृष्टान्त हुनसक्छ । यसैगरी नेपालसँग सहकार्य गर्न, नेपाललाई अनुदान सहयोग गर्न र नेपालमा लगानी गर्न यस सम्मेलनले विभिन्न मित्रराष्ट्रहरू प्रेरित हुन सक्छन् । लगानी सम्मेलन यसै पनि खर्चिलो छ । यसमा नौ करोड रुपैयाँ खर्च हुनसक्ने अनुमान छ ।
नेपालमा लगानी गर्न कोही उत्साहित भएनन् भने यत्रो खर्च गरेर आयोजना गरिने सम्मेलनकै कुनै औचित्य रहँदैन । चीनले चाहिँ आफूले सहमतिका प्रत्येक विषय पालना गर्दै जाने प्रतिबद्धता जनाएको छ । नेपालका प्रधानमन्त्री आफैंले संलग्नता जनाएर र चिनियाँ प्रतिनिधिमण्डलसँग भेटघाट गरेर अगाडि बढाइएका यस्ता प्रतिबद्धताका विषय निश्चय पालना होलान् भनेर आशावादी बन्न सकिन्छ । लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको प्रधानमन्त्री दाहालको विचार व्यापक बनाउन सक्नुपर्छ । सरकार र सरकारका उच्च पदस्त व्यक्तिहरूले यस सम्मेलनले नेपालमा लगानी बढाउन सहयोग पुर्याउने अपेक्षा गरिरहेका छन् ।
तर, सुधारका काम नसकी हतारमा आयोजना भएको सम्मेलन भनेर केही विज्ञहरूले यसको आलोचना पनि गरेका छन् । जे होस् यो आवश्यक थियो भन्ने मान्यताका आधारमा यसलाई परिणाममुखी बनाउनु आवश्यक छ । नेपालमा लगानी गरेर नेपाललाई नै कुनै प्रतिफल प्राप्त नहुने खालका लगानीलाई प्रोत्साहित गर्नुको भने कुनै औचित्य हुँदैन । त्यसकारण एनसेल प्रवृत्तिका सबै लगानीलाई अवसर दिनुपर्छ भन्ने जरुरी नठानी सरकारले राम्ररी छनौट गरेर तिनको औचित्य पुष्टि गरेरमात्र लगानी गर्न दिनेतर्फ पनि सचेतता अपनाउनु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच