
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण सम्पन्न भएको छ । नेपालका महामहिम राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपालको दुई दिने भ्रमण सम्पन्न गरी उहाँ बुधबार आफ्नो देश फर्किनुभयो । उहाँको यस भ्रमणलाई मध्यपूर्व एशियाबाट भएको हालसम्मकै उच्चस्तरीय भ्रमण मानिएको छ । विकसित देशबाट उच्चस्तरीय भ्रमण हुँदा नेपालजस्तो सानो र विकासोन्मुख मुलुकका केही अपेक्षाहरू हुनु स्वाभाविक हो । नेपालका यस्ता केही अपेक्षाहरू थिए । यस सम्बन्धमा नेपाल र कतार सरकारका बीच केही सम्झौताहरू भएका पनि छन् जसलाई उपलब्धिका रूपमा लिनुपर्ने हुन्छ । यस भ्रमणमा डेढ सय जनाको भ्रमण टोली रहेको थियो भने ११ जना विशेष प्रतिनिधि मण्डलका रूपमा रहेका थिए ।
यस अर्थमा, यो भ्रमण बहुपक्षीय विज्ञता र अर्थपूर्ण देखिएको छ । कतार सम्पन्न राष्ट्र मानिन्छ । मूल रूपमा पेट्रोलियम पदार्थको धनी र व्यापारिक केन्द्र वन्न सफल यो देश अहिले संसारका मासिहरूको गन्तव्य मानिएको अवस्था छ । नेपालीहरूका लागि भने कतार अन्य केही राष्ट्रहरू जसरी नै श्रमगन्तव्य हुनपुगेको छ । चार लाखभन्दा बढी युवायुवती कतारको श्रमबजारमा रोजगारी गरिरहेका छन् । कतारबाट पैसा र प्रविधिसमेत नेपाल भित्र्याउनुपर्ने सुझाव विज्ञहरूको रहनुको कारण पनि यही हो । नेपाली श्रमिकहरू श्रमका लागि कतार जाने गरेका छन् र चार लाखभन्दा बढीको यो संख्या कम होइन । त्यसैले नेपाली श्रमिकहरूको हितअनुकूलको श्रम सम्झौताको अपेक्षा नेपालको रहेकोमा त्यस्तो भएको भने पाइएन । इस्लाम धर्मावलम्बी राष्ट्र भएका कारण कतारमा कानुन कार्यान्वयनमा विशेष कडाइ गरिन्छ । यसकारण केही निर्दोष नेपालीहरू त्यहाँको कठोर कानुनको फन्दामा परेका छन् । जेल पर्नेहरूको संख्या धेरै छ । यो विषयलाई नेपालले नागरिक जिम्मेदारीका रूपमा प्रभावकारी ढंगले उठाउनुपर्ने थियो ।
कतार हमास समूहप्रति उदार देखिन्छ । त्यस कारण इजरायल र हमासबीचको युद्धका समयमा केही नेपालीहरू मारिए र एकजना नेपाली विपिन जोशी अहिलेसम्म पनि अज्ञात अवस्थामा रहनुभएका कारण रिहाइका लागि पहल गरिदिन राष्ट्रपतिले कतारी अमिरलाई आग्रह गर्नुभएको छ । आजका दिनमा सबै नेपालीको आग्रह हो यो ।
सम्पन्न देशका राजाले हाम्रो देशमा यसस्तरको भ्रमण गर्नुलाई उपलब्धिमूलक मान्नु स्वाभाविक हो । हामी नेपाली श्रमको गन्तव्य सुरक्षित गर्न र विप्रेषण वृद्धि गर्ने चाहना राख्छौं । यसका लागि परम्परागत सम्बन्ध कायम राख्ने निर्णय भएको छ भने लगानी सहकार्यसम्बन्धी विषयमा पनि छलफल भएको छ । लगानी सहकार्यको आशय नेपालले कतारमा लगानी गर्नेभन्दा पनि कतारले नेपालमा लगानी गर्ने भन्ने अर्थमा बुझ्न सकिन्छ ।
भ्रमण अवसरमा जेजति र जुन विषयमा चर्चाहरू भए नेपालका लागि यो उपलब्धिपूर्ण मानिन्छ । कतारको आर्थिक समृद्धिबाट नेपालले धेरै कुरा सिक्नुपर्छ र प्रेरणा लिनुपर्छ भनिएको छ, यो वास्तविकता पनि हो । नेपालीहरू कतारमा गएर श्रम गरेर बसेका मात्र छैनन्, ठूलाठूला होटल रेष्टुरेन्ट सञ्चालनदेखि अन्य व्यवसायसमेत गरेर बसेका छन् । तिनको त्यस्तो व्यवसायबाट प्राप्त प्रतिफल नेपाल भित्रिन सक्यो भने नेपाल नै लाभान्वित हुने हो । यसैगरी अर्थका साथै प्रविधिसमेत भित्र्याउन सके यसबाट राष्ट्र बढी लाभान्वित हुन सक्छ । अनौपचारिक रूपमा यस्ता धेरै विषयमा छलफल हुनुका साथै कतारी राजाको हालको यस भ्रमणका क्रममा केही विषयमा औपचारिक सम्झौता पनि भएका छन् ।
कला र संस्कृति, शिक्षा, कूटनीतिक तालिम, युवा खेलकुद, न्यूज एजेन्सीजस्ता विषयमा यसरी औपचारिक रूपमा सम्झौता भयो । यसका साथै अन्य केही विषयमा समेत सम्झौता हुन पुगेको छ । यस्ता केही सम्झौता निजी क्षेत्रमा भएका छन् नेपालको तर्फबाट एफएनसिसिआई र कतारका तर्फबाट त्यहाँको चेम्बर्स अफ कमर्सका बीचमा यस्ता सम्झौताहरू भएका छन् । औपचारिक सम्झौताहरूमा दुवै देशका कानुनमन्त्रीहरूले हस्ताक्षर गर्नुभएको छ । कतारका अमिरले नेपालमा उच्चस्तरीय भेटघाट गर्नुभयो । नेपालका राष्ट्रपति तथा प्रधानमन्त्री लगायत विभिन्न उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट गर्नुभयो ।
समग्रमा कतारी राजाको नेपालको छोटो समयको भ्रमण सफलतापूर्वक सम्पन्न भयो । यसबाट केही उपलब्धि हात परेका छन् र विकसित देशको अमिरले हाम्रोजस्तो विकासोन्मुख देशको भ्रमण गर्नुलाई उहाँको सद्भावपूर्ण व्यवहारका रूपमा लिन सकिन्छ । निश्चित रूपमा भोलिका दिनमा हामीलाई केही प्राप्ति हुने भएका छन् र कतारले नेपालमा लगानी पनि गर्नसक्छ । श्रमिकको संख्या पनि बढाउला तर नेपालका तर्फबाट केही कमी कमजोरीहरू देखिन आए । कूटनीतिक कमजोरी भएनन् होला । हाम्रो सरकारलाई सबैभन्दा बढी अमिरलाई सुरक्षा दिनबाट चुकिन्छ कि भन्नेमा चिन्ता रहेको हुनुपर्छ । त्यसमा सरकार सफल भएको छ तर ट्राफिक व्यवस्थापनमा भने पुरानै समस्या देखिन आयो । उपत्यकमा विशेषगरी विमानस्थल निकटका स्थानमा यातायात व्यवस्थापनमा अस्तब्यस्तता देखिन आयो । यसले गर्दा यात्रुहरू गन्तव्यमा पुग्न नसकेको र बाटाबाटामा अलपत्र पर्नुपरेको जताततै देखिन आयो । अस्पताल पुग्नुपर्नेहरू पुग्न सकेनन्, बिरामी भेट्न हिँडेकाहरू बाटाबाटै फर्किनुपर्यो । जरुरी काम भएकाहरू पनि बाटामै अलपत्र पर्नुपर्यो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी बटुवाहरूलाई रोकेर राजकीय शैलीमा गराइयो भनेर त्यसबेला निकै आलोचना भएको थियो । वर्तमान राष्ट्रपतिज्यूले आपूmबाट त्यस्तो नहुने प्रतिबद्धता जनाउनुभएको थियो तर हाल कतारी राजाको भ्रमणका बेला पुनः पहिले पहिलेकै जसरी जनतालाई सास्ती हुनेगरी यातायात अस्तव्यस्त बन्नुले चाहिँ सरकारले आफ्नो आलोचना गर्ने ठाउँ छोडेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच