हालका दिनहरूमा वामएकताको चर्चा व्यापक बन्दै गएको छ । नेपोलियन बोनापार्टले असम्भव भन्ने कुरा मुर्खहरूको डायरीमा मात्र हुन्छ भनेको कुरालाई मान्ने हो भनेमात्र नेपालका वामपन्थीहरूको एकताको कुरा पत्याउन सकिन्छ नत्र अहिलेसम्मको इतिहास हेर्ने हो भने यस कुरामा विश्वास गर्न मुस्किल हुन्छ । नेपालमा वामपन्थी वा कम्युनिस्ट पार्टीको स्थापना पुष्पलाल श्रेष्ठबाट भएको हो । नेपाली कांग्रेस पार्टीको स्थापनाको केही वर्षपछि स्थापना भएको कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको लामो समयपछि मात्र आफ्ना राजनीतिक गतिविधि देखाउन थालेको हो । नेपाली कांग्रेसले भने स्थापनाको केही वर्षपछि नै राजनीतिमा सक्रियता देखाएको थियो र तत्कालीन राणा शासनको विरुद्धमा क्रान्ति गरेर सफलतासमेत प्राप्त गरेको थियो ।
पुष्पलाल श्रेष्ठको राजनीतिक जीवनको सुरुवात पनि कांग्रेस पार्टीबाटै भएको थियो । पछि उहाँले कांग्रेस छोडेर कम्युनिष्ट पार्टी स्थापना गरेपछि पनि उहाँ सक्रिय हुन सक्नुभएन र नेपालमा कुनै राजनीतिक परिवर्तन गर्ने हो भने नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी संयुक्त रूपमा आन्दोलनमा उत्रिनुपर्छ भन्ने धारणा अघि सार्नुभयो । उहाँको यही धारणा अनुसार २०४६ सालको राष्ट्रिय जनआन्दोलन नेपाली कांग्रेस पार्टीले अगुवाइ गरेको भए तापनि नेपालका सबै वामपन्थी पार्टीहरू संलग्न हुन नसके पनि केही ठूला वामपन्थी पार्टीहरू आन्दोलनमा सहभागी बनेका थिए । कालमाक्र्सले ‘दि कम्युनिष्ट मेनुफेस्टो’ लेखेर अगाडि ल्याएको कम्युनिष्ट विचारले संसारका पिछडिएका किसान मजदुरलगायत हेपिएका वर्गलाई समेट्नुपर्ने र सामन्ती साहुमहाजनको विरोधमा उत्रिनुपर्ने सन्देश दिन्छ ।
पछि परेको वर्गहरूको एकता दरिलो बन्ने विश्वास उनले गरेका थिए । नेपालका वामपन्थीहरूको माउ सिद्धान्त यही नै हो । माक्र्सले विश्वका मजदुरहरू एक हौं भनेका थिए तर नेपालमा उनकै मेनुफेस्टो अनुसार स्थापना भएका कम्युनिष्टहरू डेढ दर्जनभन्दा बढी पार्टीमा विभक्त हुन पुगेको अवस्था छ । पञ्चायतकालमा आफ्नो नाम अनुसार पार्टी चलाएका कम्युनिष्टहरू २०४६ सालको महान् राष्ट्रिय जनआन्दोलनमा समेत निरपेक्ष बसेका थिए । त्यसपछि पनि ती पार्टी कोही विघटनको आवस्थामा पुगे, कोही अर्को पार्टीसँग एकता गरेर अगाडि बढे भने कोही नाममा मात्र सीमित बनेका छन् । ती कम्युनिष्ट पार्टीहरू स्वार्थ अनुसार कहिलेकाहीँ पार्टी एकता गरेर अगाडि बढ्दै आएका छन् भने कहिलेकाहीँ चुनावी एकता वा सरकार निर्माणका लागि गठबन्धन गर्दै आएका छन् ।
आफ्नो स्वार्थ सिद्ध नहुने अवस्थामा कम्युनिष्ट आन्दोलनलाई धोका दिएको भनेर अर्को पार्टीका नेताहरूको घोर आलोचना गर्दै ‘गद्दार’ भन्ने आलोचनात्मक उपाधि भिराउने गर्छन् । पुष्पलाल श्रेष्ठ, केशरजंग रायमाझीदेखि मोहनविक्रम सिंह सबैले यस्तो उपाधि पाइसकेका छन् । समयको प्रवाह सँगसँगै हाल खड्गप्रसाद ओली, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहालहरू नेपालको सबैभन्दा ठूला वामपन्थी नेता बन्न पुग्नुभएको छ । स्वार्थको मूल प्रवाहभन्दा बाहिर भएका कारण मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लव अहिले यस्तो सूचीमा छन् । भोलि तिनीहरू राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आए भने तिनलाई त्यसो भन्न छोडिन्छ ।
चीनका प्रधानमन्त्री सि जिन पिङले नेपाल आएका बेला जो सम्पत्ति कमाउनतिर लाग्छ उसलाई कम्युनिष्ट पार्टीको नेता भन्न मिल्दैन भनेका थिए तर नेपालका कम्युनिष्ट नेताहरू न त माक्र्सको विचार अनुसार चलिरहेका छन् न त सिको विचार अनुसार गरिरहेका छन् । उनीहरू अर्बाैंको सम्पत्ति जोडेर सुख-सुविधा ऐस आरामको जीवन बिताइरहेका छन् तर आफूलाई सर्वहार वर्गको प्रतिनिधि भन्छन् । अब यस्तो अवस्थामा नेपालका कम्युनिस्टहरू एकताको कुरा उठाइरहेका छन् । केही समय पहिले समाजवादी एकताको सन्दर्भ उठाएर निकै अगाडिसमेत बढेका थिए तर अन्नतः उनीहरूको उक्त एकता अभियान सफल बन्न सकेन ।
अहिले फेरि वामएकताको कुरा उठाइँदै छ । नेपालमा वामपन्थी पार्टी स्थापनाको ७५ वर्ष भएको छ । वामपन्थी पार्टी स्थापनाको हीरक जयन्तीको सन्दर्भ पारेर अगाडि बढाइएको यो गठबन्धन र दलीय सहमतिमा सफल बन्ला तर समग्र वामएकता हुने सम्भावनामा विविध कारणले गर्दा विश्वास गर्न सकिँदैन । फेरि यसबाट जनतालाई के फाइदा हुनसक्छ र ? जनताको पनि यसतर्फ कुनै चासो नरहेको हो । वामएकतामा हालसम्मको अडिलो एकता २०४६ सालको प्रजातन्त्रपछिको नेकपा माले र नेकपा माक्र्सवादी एकता हो । यही एकताबाट वर्तमान एमाले बनेको हो । यसबाहेकका एकताहरू जुट र फुटको शृंखलाबाट अगाडि बढिरहेका छन् ।
सबैभन्दा टड्कारो दृष्टान्त वर्तमान संविधान निर्माण भएपछिको पहिलो आमनिर्वाचनमा एमाले, माओवादीलगायतको एकताबाट संसद्मा झण्डै दुई तिहाइ स्थान जितेर बनेको सबल नेकपा र त्यसपछि अब नेपालमा ५० वर्ष नेकपाले शासन गर्ने उद्घोषपछि तुरुन्तै उक्त पार्टी तीन चिरा भएको सन्दर्भलाई लिन सकिन्छ । वर्तमान गठबन्धन पनि सरकारमा केही थान मन्त्री खानका लागि मात्र हो । राजनीतिलाई अस्थिर बनाउने प्रयासको प्रतिफलका रूपमा देखिएको यो प्रयास पनि दीर्घकालीन बन्न सक्लाजस्तो नदेखिइरहेको सन्दर्भमा समग्र वामएकता हुन सक्ला ? यस प्रश्नको विश्वसनीय आधारहरू पाउन सकिँदैन । वामपन्थी पार्टीबाट ६ जना प्रधानमन्त्री भएर पनि राष्ट्रलाई उहाँहरूबाट गहकिलो योगदान पुग्न नसकेको, इतिहासमै सबैभन्दा बढी भ्रष्टाचार र अनियमितता भएको घटनाबाट समेत वामएकता जनता र राष्ट्रका लागि कुनै उत्सुकताको विषय बन्न सक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच