पुरुषोत्तम महिनाको महत्व

Read Time = 13 mins

विश्वका सम्पूर्ण राष्ट्रहरूलाई अवलोकन गर्ने हो भने नेपाल धर्म र संस्कृतिमा धेरै धनी छ किनभने हाम्रा देशमा विभिन्न भाषाभाषी तथा जातजाति छन् । तिनीहरूको आआफ्नो किसिमको धार्मिक महत्व रहेको छ । फलतः हाम्रा धार्मिक पर्वहरू असंख्यरूपमा रहेका छन् । हाम्रो देशमा हिन्दूहरूको बाहुल्यता छ । उनीहरूको धार्मिक पर्व धेरै छन् । यसमध्ये पुरुषोत्तम महिना पनि एउटा महत्वपूर्णको पुण्य प्राप्ति गर्ने पर्वको रूपमा छ । यसर्थ पुरुषोत्तम महिनालाई मलमास, अधिकमास आदि नामबाट पनि चिनिन्छ । हाम्रो समाजमा मलमासको धार्मिक दृष्टिले जति महत्व छ त्यतिकै रूपमा वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण स्थान रहेको पाइन्छ ।

अतः प्राडा.दुर्गाप्रसाद दवाडीको भनाइ अनुसार मलमास भन्नाले अधिकमास र क्षयमास दुवै मानिन्छन् । तर, क्षयमास कहिले ९७४, कहिल १११५, कहिले १२५६, कहिले १३७८, कहिले १४१, कहिले ४६ र कहिले १९ वर्षमा पर्छ भने अधिकमास भने प्रायः बत्तीस महिना सोह्र दिन चार घडीमा पर्छ । यहाँ विचारणीय विषय काल अथवा वर्ष हो । यसलाई शास्त्रीय दृष्टिले विचार गर्दा काल छ प्रकारको छ । जुन वषर्, अयन, ऋतु, मास, पक्ष र दिवस हुन्छ ।

त्यसमा वैदिक सनातन वर्णाश्रम धर्मानुयायीहरूले मानी आएका वर्षका भेद पाँच प्रकारका छन् । जसमा सावन, सौर, चान्द्र, नाक्षत्र, वार्हस्पत्य हुन । सावन वर्षमा ३६० दिन हुन्छन् । जुन सौर वर्ष ३६५ दिनको हुन्छ । जसमा वैशाख संक्रान्तिदेखि प्रारम्भ भई चैत संक्रान्तिमा तीस बितेपछि पुनः वैशाख संक्रान्ति नलागेसम्मको ३६५ दिनको सौर वर्ष हुन्छ । जसलाई भन्ने हो भने चान्द्र वर्ष प्रायः ३५० दिनको हुन्छ । कृष्णपक्षको प्रतिपक्षदेखि शुक्पक्षको पूर्णिमासम्मको एक एक महिनाका गरेर बाह्र महिनाको हुन्छ । चान्द्रवर्षमा प्रायः तेस्रो वर्ष ३५० भन्दा बढी दिन पनि हुन्छन् किनभने मलमास लाग्ने वर्षमा बीस दिनको एक महिना नभएर प्रायः उनन्साठी वा साठी दिनको एक महिना पर्न जान्छ ।

यसमा बृहन्नारदीय पुराणमा उल्लेख भएअनुसार अधिकमासको उत्पत्ति बाह्र महिनाको मयलहरू जम्मा भएर भएको देखिन्छ । तर, स्वयं विष्णुले नै आफ्नो पुरुषोत्तम भन्ने नामबाट यस महिनाको नामकरण गरी यतिबेला गरिएको यज्ञ, अनुष्ठान, व्रतोपवासादि कर्मबाट अनन्तगुणा बढी प्रतिफल पाइनेछ ।

विगत वर्षलाई हेर्ने हो भने अधिकमास विसं २०७७ साल असोज २ देखि असोज ३० गतेसम्म परेको थियो । त्यसरी नै विसं २०६४ साल जेठ ३ गतेदेखि जेठ ३१ गतेसम्म परेको थियो भने त्यस्तै गरी विसं २०६७ साल वैशाख २ गतेदेखि ३१ गतेसम्म थियो भने त्यस्तैगरी अधिकमास विसं २०६९ साल भदौ २ गतेदेखि ३१ गतेसम्म परेको थियो । त्यसरी विसं २०७२ सालमा भने असार २ गतेदेखि असार ३१ गतेसम्म परेको थियो । त्यसरी २०७५ सालमा भने जेठ २ गतेदेखि जेठ ३० गतेसम्म परेको थियो । यो खास गरीकन प्रत्येक तीन–तीन वर्षको अन्तरालमा पर्ने गरेको पाइन्छ ।

यसमा बृहन्नारदीय पुराणमा उल्लेख भएअनुसार अधिकमासको उत्पत्ति १२ महिनाको मयलहरू जम्मा भएर भएको देखिन्छ । तर, स्वयं विष्णुले नै आफ्नो पुरुषोत्तम भन्ने नामबाट यस महिनाको नामकरण गरी यतिबेला गरिएको यज्ञ, अनुष्ठान, व्रतोपवासादि कर्मबाट अनन्तगुणा बढी प्रतिफल पाइनेछ । यस पुराणमा उल्लेख अनुसार हाम्रो मयलबाट उत्पन्न भएकोले तेरो स्थान हाम्रो सरह हुनुहुँदैन भनी अन्य सबै महिनाहरूले घृणा गर्न थालेकाले एकपटक मलमास रुँदै भगवान् विष्णुको शरणमा पुगेको थियो । उसको दुःख पुकारा सुनिसकेपछि विष्णुले यस महिनालाई घृणा होइन सबैले सम्मान गरून् भन्ने उद्देश्यले पुरुषोत्तम मासको नामकरण गरी विशेष धार्मिक महत्व प्रदान गर्नुभएको थियो ।

त्यसैले त्यतिबेलादेखि हालसम्म विशेष पुण्य प्राप्तिका लागि यति बेला विभिन्न ३३ नामबाट भगवान् विष्णुको पूजा गर्दै आइएको पाइन्छ । यसरी पूरा महिनाभर भगवान् विष्णुको पूजा गरी अन्तिम दिन विष्णुको पूजा गरिएको सोही ३३ नाममा ३३ वटा मालपूआ दान गर्नाले अनन्त पुण्य मिल्ने विश्वास लिइन्छ । यो तल उल्लेखित ३३ नामको महिनाभरि नै दिनको एकपटक पूजा तथा पाठ गर्नाले धेरै पुण्य पाउने कुरा धार्मिक शास्त्रमा उल्लेख भएको पाइन्छ । उक्त ३३ नाम यस प्रकार उल्लेख छ :
विष्णवेनमः, जिष्णवेनमः, महाविष्णवेनमः, हरयेनमः, कृष्णायनमः, अब्जनाभयनमः, केशवायनमः, माधवायनमः, रामायनमः, मधुसुदनायनमः, अच्युतायनमः, पुरुषोत्तमायनमः, गोविन्दायनमः, वामनायनमः, त्रिविक्रमायनमः, संकर्षणायनमः, श्रीकण्ठायनमः, बैकुण्ठायनमः, नारायणायनमः, अनिरूद्धायनमः, प्रद्युम्नायनमः, जनार्दनायनमः, दामोदरायनमः, श्रीपतयेनमः, वासुदेवायनमः, नृसिंहायनमः, शेषशायिनेनमः, पृश्निगर्भायनमः, उरूक्रमायनमः, श्रीधरायनमः, गोपीजनवल्लभायनमः, गोपालायनमः र गोलोकाधिपतयेनमः रहेका छन् ।

हिन्दू धर्मशास्त्र बमोजिम चान्द्रमान अनुसार विशेष परिस्थिति बाहेक प्रत्येक तीन वर्षको अन्तरालमा एक एक मलमास वा अधिकमास पर्ने गर्दछ । यसरी पुरुषोत्तम अर्थात मलमासमा प्रायः शुभकार्य वर्जित छन् कुनै शुभकार्यको प्रारम्भ गर्न हुँदैन । यसमा नित्य र नैमित्तिक कार्य गर्न हुन्छ । जसमा नित्य जस्तै सन्ध्या, तर्पण, देवपूजन, वलिवैश्वदे, अग्निहोत्र, दश पूर्णमास मात्र आदि । जसमा नैमित्तिक, जस्तै जातकर्म, नामकरण, निष्क्रमण, अन्त्येष्टि यी कर्म गर्न हुन्छ । यसमा अवन्यागलिक कर्म अर्थात त्यस्ता कर्म जुन नगरेमा कर्मलोप हुने सम्भावना हुन्छ ।

हिन्दू धर्मशास्त्र बमोजिम चान्द्रमान अनुसार विशेष परिस्थितिबाहेक प्रत्येक तीन वर्षको अन्तरालमा एक-एक मलमास वा अधिकमास पर्ने गर्दछ । यसरी पुरुषोत्तम अर्थात् मलमासमा प्रायः शुभकार्य वर्जित छन् कुनै शुभकार्यको प्रारम्भ गर्न हुँदैन ।

ती कर्म मासमा गर्न पर्ने हुन्छन् । त्यसैगरी सन्ध्यादि नित्यकर्म नगरेमा जातकर्म नामकरण आदि नगरेमा लोप हुने सम्भावना भएकाले त्यस्ता कर्म गर्नु हुन्छ । जसमा मलमास चूडाकर्म व्रतबन्ध, अग्नाधान, यज्ञोत्सव, महालय श्राद्ध राज्यभिषेक अति वर्जित छन् । यसमा पनि अपूर्ण व्रतको मलमासमा गर्नु हुँदैन । यसैगरी व्रतको समाप्ति पनि मलमासमा गर्नु हुँदैन । जसमा भन्ने हो भने बैशाख स्नान कात्तिक स्नान माघस्नान यी पुण्य स्नान भने मलमासको दुवै महिनामा गर्नुपर्दछ ।

अन्त्यमा भन्नुपर्दा पूर्णमासीदेखि दोस्रो पूर्णमासी अर्थात एक अमावश्यदेखि दोस्रो अमावश्यसम्मको समय झण्डै २९ दिन ९ घण्टादेखि २० घण्टा सम्मको हुन्छ । जब चन्द्रमा अनुसार महिनाहरूको गणना हुन्छ । अनि १२ महिना मिलेर एक सौरवर्ष भन्दा झण्डै १० दिनको घटी हुन्छ र तीन-तीन वर्षमा कुनै न कुनै राशी अन्तरगत नै उसको आरम्भ एवं अन्तरगत नै उसको आरम्भ एवं अन्तमा दुई पूर्णिमा अथवा दुई अमावश्य हुन जान्छ, यस्तो अवस्थामा नेपाली पचांगमा अधिकमास पुरुषोत्तम वा मलमास भनिन्छ ।

त्यस्तैगरी अर्को अर्थमा भन्नुपर्दा अधिकमासको अर्थ बढी भएको महिना भन्ने हुन्छ । यसर्थ बढी भएको महिना भन्नाले एक वर्षभित्र एक महिना नै बढी भएको हुन्छ । तर, सो बढी दिन वा महिनागत हिसाबले नभई तिथिगत हिसाबले भएकोले सो वृद्धि वर्ष दिनको परिमाण १२ महिनामा ३६५ दिनमा नभई तिथिबाट बन्ने र पक्षमा मात्र हुन्छ । त्यसैले अन्य साल २४ पक्षको वर्ष दिन हुन्छ भने अधिकमास परेको साल २६ पक्षको वर्ष दिन हुन्छ तर महिना र दिन भने उही बाह्र महिना र ३६५ दिन नै हुन्छ । चान्द्रमानका अनुसार प्रत्येक वर्षमा बढी हुने ११ दिनलाई जम्मा गरी प्रत्येक तीन वर्षमा एउटा अधिकमास आउँछ ।

तर, चान्द्रमान अनुसार भने प्रत्येक महिनाको दिनमान २९ मात्र हुने भएकाले वर्षदिनमा कूल ३५४ दिनमात्र हुन्छ । यही ३६५ दिन र ३५४ दिनको फरकबाट आउने ११ दिनको बढी समयलाई मिलान गर्न नै यस महिनाको योगदान बढी भएको धार्मिक शास्त्रले बताएको पाइन्छ । यसमा बुझ्नुपर्ने कुरा के रहेको छ भने खासगरी कन १२ महिनामा मंसिर, पुस र माघ महिनामा भने पुरुषोत्तम महिना पर्दैन । यसरी अरू बाँकी ९ महिनामा मात्र पुरुषोत्तम महिना पर्दछ । यसरी अधिकमास विसं २०३९ सालमा असोज र फागुन महिनामा दुईपटक परेको थियो भने त्यस्तैगरी अब आउने विसं २०८५ सालको कात्तिक र चैत महिनामा पर्ने कुरा स्पष्ट छ । अतः यसलाई विभिन्न नामबाट सम्बोधन गरिन्छ जस्तैः अधिकमास, क्षयमास, मलमास वा पुरुषोत्तम महिना आदि नामबाट पुकारिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?