सेनाको जग्गा मिचिएको भन्दै पाल्पा दरवार परिसरको पर्खाल निर्माण कार्य रोकियो

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 10 mins

पाल्पा । पुरातत्व विभाग अन्तर्गत तानसेन नगरपालिकाले निर्माण गर्न थालेको पाल्पा दरवार परिसरको शितलपाटीदेखी जिल्ला प्रशासन गेटसम्मको सुरक्षा पर्खाल निर्माणको कार्य यति बेला विवादित बनेको छ । नेपाली सेनाले उक्त क्षेत्रामा मोड मिलाउन नदिएपछि उक्त निर्माण कार्य विवादमा परेको हो ।

नगरपालिकाले नेपाली सेनाको जग्गा मिचेर निर्माण कार्य अगाडि बढाएको भन्दै सेनाले निर्माण कार्य रोक्न भनेपछि उक्त कार्यले विवादको रुप लिएको छ । अहिले नगरपालिका काम अगाडि बढाउने नबढाउने भन्ने विषयमा अलमलमा परेको स्रोतले जनाएको छ ।

सो विषयलाई लिएर नेपाली सेना र जिल्लाका राजनीतिक दलहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । यहाँ सबै राजनीतिक दलहरुले निमार्णधिन पर्खाल नेपाली सेनाको ठाडो आदेशमा रोकिएको बताएका छन् भने सेनाले अवरोध नगरिएको तर दलहरुको बुझाईमा भ्रम रहेको बताएको छ । दलहरुले सो विषयमा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ललेलाई भेटेर आपत्ती जनाएका छन् । निर्माण कार्य रोकिएपछि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपालले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई भेटी स्थानीय सरकारकाले मापदण्ड अनुसार नेपाली सेनाले सहजीकरण गर्नुपर्नेमा उल्टै निर्माण कार्यमा रोक लगाएको भन्दै आपत्ती जनाएका हुन् ।

शितलपार्टीको घुम्ती साँघुरो हुँदा पटक-पटक ठूला दुर्घटना हुने गरेको सर्बदलिय सहमतिमा तानसेनको शहरी सडकको मापदण्ड अनुसार दरवारको पर्खाल निर्माणको क्रममा मोड सुधार मात्र गरेकोमा सेनाले अवरोध गर्नु जनभावना विपरित काम भएको दलहरुको गुनासो छ । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले नेपाली सेना पनि सरकारको एउटा अंग भएको र उसले पनि जनताको लागि गरिने काममा स्थानीय सरकारलको नीति नियमलाई स्विकार गर्नुपर्ने बताउनुभयो । सभापति श्रेष्ठले निर्माण कार्यलाई तत्काल सुचारु गर्ने वातावरण सिर्जना गरिदिन प्रजिअलाई आग्रह गर्नुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पा दरवारलाई विश्व सम्पदा सुचीमा समावेश गर्ने भनेर विभिन्न किसिमबाट पुरातत्व विभागदेखी केन्द्र प्रदेश सरकारबाट विभिन्न काम भईरहेको अवस्थामा सेनाले निर्माण कार्य प्रभावित गर्न खोज्नु पाल्पाली जनताको भावना विपरित भएको बताउनुभयो । अध्यक्ष घिमिरेले तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई फोन गरेर जनताका टहरा भत्काउने, तर अन्य पक्षसँग निरिह हुने गरी असमान व्यहार नगर्न अनुरोध समेत गरेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विकले दलहरुको असहमतिमै दरवार परिसरमा राष्ट्रिय अनुसन्धान, निशान भगवती मन्दिर लगायतका संरचना बनेता पनि दरवार परिसरको पर्खाल निर्माणले जगाएको आशामा नेपाली सेनाले अवरोध गरेर जनताको भावना विपरित काम गरेको उल्लेख गर्नुभयो । राष्टिय स्वतन्त्र पार्टीका उपाध्यक्ष सुमन गैरेले दरवारको पर्खाल निर्माणमा भएको अवरोधको समाधान जिल्ला सुरक्षा निकायको प्रमुखको हिसावले प्रमुख जिल्ला अधिकारीले गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुवँरले दरवार संग्रहालयलाई गुरुयोजना अनुसार कार्यान्वयन गर्नको लागि हामीले लालपुर्जा भएको, जिल्ला समन्वय समिति, जिल्ला बाल संगठन, जिल्ला विद्युत प्राधिकरण, राष्ट्रिय अनुसन्धान कार्यालयहरुलाई पूर्ण रुपमा हटाउन लागिरहेको समयमा नेपाली सेनाले बाटो निर्माणमा अवरोध गर्नु राम्रो काम नभएको बताउनुभयो । राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला अध्यक्ष विशाल दर्लामीले पाल्पा दरवार सग्रहालय देशकै गहना भएकाले गुरुयोजना अनुसार दरवारको विकास गर्नुपर्ने समयमा सेनाले स्थानीय सरकारको मापदण्ड अनुसार बाटो कायम गर्न अवरोध गर्नु गलत भएको बताउनुभयो ।

तानसेन नगरपालिकाका नगर प्रवक्ता यादव सिंह कार्कीले दरवार क्षेत्रको बाटोको मापदण्ड ८ मिटर भएकाले सोही अनुसार सबैले कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । पुरानो संरचना रहँदासम्म नगरपालिकाले कोही कसैलाई जवरजस्ती नगर्ने तर नयाँ संरचना बनाउँदा नगरपालिकाको मापदण्ड अनुसार सबैले संरचना बनाउनुपर्नेमा उहाँको जोड छ । संस्कृतीकर्मी राजेन्द्र गोपाल सिंहले राजनीतिक दलहरुले प्रमुख जिल्ला अधिकारी समक्ष देखाएका समस्या समाधानमा गम्भीर बन्न आग्रह गर्नुभयो । स-साना कुरामा सेना र दलहरुबिच द्धन्द्ध सिर्जना हुनु राम्रो नभएको भन्दै प्रजिअले समन्वय गरेर चाडो भन्दा चाँडो निकास निकाल्नुुपर्ने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले यर्थाथ कुराहरु बुझेर देखिएको समस्या समाधानको लागि आफुले पहल गर्ने बताउनुभयो ।

नेपाली सेना दि फिशेस महिन्द्र दल गण पाल्पाका गणपती भुपेन्द्र गुरुङ्गले सो क्षेत्रमा नेपाली सेनाको ३ रोपनी जग्गा भएकोमा नगर सरकार तथा प्रमुख जिल्ला अधिकारीको सल्लाहमा पुरानो बाटो भन्दा भित्र पर्खाल लगाउने गरी भएको सहमति अनुसार नै पर्खालको संरचना निर्माणको लागि अनुरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘नगरपालिकासँग भएको सहमति भन्दा बढी नै भित्र गएर पर्खाल निर्माणको काम भएको छ । यसले नेपाली सेनाको सुरक्षा गार्ड र मन्दिरको पुजारी बस्ने भवनमै ठूलो क्षति हुने अवस्था आएकाले सहमति अनुसारको पर्खाल निर्माण गर्न निर्माण व्यवसायीलाई अनुरोध मात्र गरेका हौं ।’ निर्माण कार्यमा सेनाले अवरोध गरेको कुरा दलहरुको बुझाईमा भ्रम परेको गणपति गुरुङ्गको भनाई छ । दलहरुको भावना अनुसारको जग्गाको विषयमा आफुले निर्णय दिन सक्ने अवस्था नभएकाले माथिल्लो तहमा समन्वय गर्ने उहाँले बताउनुभयो । दरवार संग्रहालय निर्माणको पक्षमा विगतदेखी नेपाली सेनाले सहयोग गर्दै आएको र भोलिका दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने गणपती गुरुङ्गको भनाई छ ।

अहिले दरबार क्षेत्रमा छुट्टाछुट्टै काम भइरहेको छ । दरवार गेटदेखी जिल्ला प्रशासन कार्यालय तर्फको ५० मिटर ढुङ्गाको पर्खालको काम लुम्बिनी प्रदेश सरकार अन्र्तगत शहरी विकास तथा भवन डिभिजन कार्यालयले गर्दै आएको छ । दरवार गेटदेखी शितलपाटी तर्फको ७० मिटर ढुङ्गाको पर्खाल शहरी विकास तथा संघीय कार्यान्वयन ईकाई भैरहवाबाट काम भईरहेको छ । दरवारको मुलढोकाको पुननिर्माणको काम भने पुरातत्व विभागबाट भईरहेको छ । काम भए पनि पुरातात्विक शैलीलाई बिर्सेर काममा झारा टार्ने काम भइरहेको स्थानीयको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?