अवैध तरकारीलाई कडाइ गर्दै बर्दघाट

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरभित्र अवैध रूपमा भित्रिने भारतीय तरकारीलाई चेकजाँच गरी कडाइ गरेको छ । नगरपालिकाले पहिलो प्राथमिकता नगरका किसानको उत्पादन, दोस्रो स्वदेशी र तेस्रोमा वैधानिक रूपमा आउने तरकारीलाई प्राथमिकता दिने गरी अनुगमन र चेकजाँच कडाइ गरेको हो ।

आइतबार भारतबाट अवैध रूपमा ल्याइएका तरकारी र मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । नगरपालिकाले विशेष गरी साप्ताहिक हाटबजारमा विषादी परीक्षण नगरी अवैध रूपमा ल्याइएका तरकारी बिक्री हुँदा एकातर्फ मानव स्वास्थ्यमा गम्भीर असर गर्ने र अर्कोतर्फ नगरभित्रका किसानका उत्पादनले बजार नपाउने समस्या भएपछि कडाइसाथ हरेक हाटबजारमा नगर प्रहरी परिचालन गरी निगरानी गरिने श्रेष्ठको भनाइ छ ।

अवैध रूपमा कारोबार गर्न कोही कसैलाई छुट नभएको नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभयो । उहाँले नगरभित्रका ठूला व्यापारीलाई नगरका किसानद्वारा उत्पादित वस्तुलाई पहिलो प्राथमिकता दिएर खरिद गरिदिनुपर्ने, आन्तरिक उत्पादनले नपुगे भारतीय तरकारी ल्याउनै परे वैधानिक तवरले ल्याएर बिक्री गर्नुपर्ने बताउनुभयो ।

नगरले आइतबार भुताहाबाट पाँचवटा मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेका बोडी, गोलभेंडा, परवल, घिरौँला, लौका, खुर्सानीलगायतका तरकारी बरामद गरी प्रहरीमार्फत् भन्सार कार्यालय भैरहवा पठाएको छ । भारतबाट अवैध रूपमा भित्रिने तरकारीका कारण वैधानिक रूपले ल्याई कारोबार गर्ने व्यापारीले आफूहरू मर्कामा परेको गुनासो गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?