ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न घरघरमा स्वास्थ्यकर्मी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच गर्नका लागि म्याग्दीको बेनी नगरपालिकाले घरघरमा स्वास्थ्यकर्मी पठाएको छ ।

बेनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एवम् उपचार गर्न घरघरमा स्वास्थ्यकर्मी पठाएर उनीहरुको स्वास्थ्योवस्थाको जानकारी लिने र आवश्यक उपचार सहित औषधी घरमै पुगेर दिने गरेको हो ।

घरदैलोमै पुगेर ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचारसम्बन्धी सेवा उपलब्ध गराउन थालेपछि नगर क्षेत्र भित्रका ज्येष्ठ नागरिकहरु खुसी भएका छन् ।

बेनी नगरपालिकाभित्रका १० ओटै वडाका घरघरमा पुगेर ज्येष्ठ नागरिकको तथ्याङ्क सङ्कलन, प्रेसर (उच्च रक्तचाप) चेकजाँच, स्वास्थ्य परामर्श र सामान्य औषधी वितरणका गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।

यसैक्रममा गत सोमबार र मंगलबार थाकन पोखरी शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु बेनी नगरपालिका वडा नं ६ का विभिन्न टोल र वस्तीहरुमा पुगी ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच तथा उपचार सहित आवश्यक परामर्श प्रदान गरेका बेनी नगरपालिकाले जनाएको छ ।
अहिले नगरपालिका भित्रका प्रत्येक घरघरमा स्वास्थ्यकर्मी पुगेर पहिलो चरणमा तथ्याङ्क सङ्कलन, दीर्घरोगी पहिचान, उनीहरूको स्वास्थ्य अवस्था पत्ता लगाउने र कुन–कुन औषधि सेवन गर्छन् त्यसको बारेमा समेत जानकारी लिइने गरेको बेनी नगरपालिका सूचना अधिकारी युवराज थापाले जानकारी दिनु भयो ।

गत आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रम नगरपालिकाले अभियानकै रुपमा सञ्चालन गर्ने उहाँको भनाई छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो ।

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक र त्यसको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लेख छ ।

त्यस्तै उपधारा २ मा आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने भन्ने उल्लेख भए पनि ग्रामीण भेकमा नागरिक यस्तो सुविधाबाट प्राय वञ्चित जस्तै भएको अवस्थामा नगरपालिकाले गरेको कार्य देशैभरका स्थानीय तहले गर्दा जनस्वास्थ्यका हिसाबले निकै फलदायी हुने लम्सालको भनाई छ ।

बेनी नगर प्रमुख सुरत केसीले ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी घरदैलोमै औषधि उपचार तथा परामर्श गर्न कार्यक्रम अगाडि बढाइएको बताउनु भयो ।

बेनी बजारभित्र पर्ने वडा नं ७ र ८ का बासिन्दाले बेनी अस्पतालबाट सेवा लिने गरेका छन् ठूला वडामा एक हप्ता र साना वडामा तीनदेखि चार दिनभित्र ज्येष्ठ नागरिकको लगत सङ्कलन गरिसक्ने लक्ष्य रहेको नगर प्रमुख केसीले बताउनु भयो ।

ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य अवस्था, समस्या, प्रयोग गरेको औषधिका विषयमा समेत विवरण सङ्कलन गर्ने स्वास्थ्यकर्मीले परामर्श सेवा पनि दिइरहेका छन् ।

बेनी नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, हरेक महिनाको १५ गते स्वास्थ्यसंस्थामा ४५ वर्षदेखि माथिका नागरिकहरूको लागि नसर्ने रोगको स्वास्थ्य शिविर सञ्चालन र विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने बेनी नगरपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?