गोर्खा भर्ती, सुगौली सन्धि र १९५० को सन्धि

Read Time = 15 mins

राजाले आफ्ना रैतीलाई विदेशी सैनिक अर्थात् गोर्खा भर्तीको अनुमति दिएबापत बेलायती शासकहरूबाट नियमित पैसा पाउने गरेको भ्रमपूर्ण कुरा मान्नेहरू पनि छन् । तर, यो अंग्रेज नेपाल युद्धभन्दा पहिले नै नासिरी रेजिमेन्टको रूपमा अंग्रेजहरूको सैन्यबलमा सामेल थियो । नासिरी रेजिमेन्ट नामले संगठित नेपालीहरूको यो फौजको युद्धकौशलबाट बेलायतका राजा जर्ज मख्ख परेका थिए । त्यसैले यो रेजिमेन्टलाई सुगौली सन्धिको करिब १० महिना २० दिनअगावै ‘गोरखा राइफल्स’ नाम दिएर आफ्नो निजी फौज बनाए, सम्भवतः यो ‘वान जिआर’ अर्थात् १ गोर्खा राइफल्स थियो । नासिरी रेजिमेन्टको कार्यक्षेत्र बलभद्रको जिम्मामा रहेको पश्चिम इलाका नै थियो । अब कर्नल सिब्राइट मुवेको टोलीमा यसको उपस्थिति थियो वा थिएन त्यो इतिहासकारहरूको अनुसन्धानको विषय हो ।

बलभद्र र उनको टोलीले नालापानी छोडेको करिब ५ महिना अर्थात २४ अप्रिल १८१५ गोरखा राइफल्सको स्थापना दिवस मानिन्छ । अनि १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज नेपाल युद्धको करिब मध्ये भाग । सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज नेपाल युद्धको गौरवशाली समर ‘नालापानी’ हो । ३१ अक्टोबर १८१४ देखि ३० नभेम्बर १८१४ सम्म चलेको यो युद्धमा अंग्रेज मेजर जनरल रोबर्ट रोलो जिलेस्पी सुरुमै नेपाली सैनिकको गोलीको तारो भए ।

त्यसपछि जिलेस्पी (धेरैले गिलेस्पी उच्चारण पनि गर्छन्) को कमान कर्नल सिब्राइट मुबेले सम्हाले । त्यसपछि जे भयो त्यो दुई शताब्दी बितिसक्दा पनि नेपालीले गौरवगाथाको रूपमा गाउँछन् । नालापानीको किल्ला गुमाउनु परे पनि नेपालीले अर्जेको वीरताको रूपमा यो गाथा रहेको छ । बलभद्र कुँवर र उनको टोलीको यो निर्भिक बहादुरीको प्रशंसा शत्रुले पनि नगरी रहन सकेन ।

दार्जिलिङलाई नेपालभित्रबाट समर्थन गर्नेहरू छन् भने तराईवासीलाई पनि भारतबाट समर्थन गर्ने छन् । दार्जिलिङकाहरू हामी माटोसँगै आएकाले हामीलाई बाहिरिया नभन भन्छन् भने तराईका पनि हामी कतैबाट आएका होइनौँ रैथाने हौँ भन्छन् ।

यसपछि नेपालीलाई सदा दुख्ने गरेको सुगौली सन्धिको पालो आउँछ । नेपालको तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय अनि इष्ट इण्डिया कम्पनीको तर्फबाट कर्नल पेरिस ब्राडसाले सही गरे । भनिन्छ यो सन्धिले हालको सिमामा नेपाललाई सीमित गर्‍यो तर वास्तवमा सुगौली सन्धिमा नेपालले महाकालीपश्चिम र मेचीपूर्वमात्र नभएर तिरहुतलगायत हाल नेपाल भएमा भएका तराई पनि गुमाउनु परेको थियो ।

यो अनौठो सत्यलाई त्यही सन्धिका धाराहरूले प्रमाणित गर्दछन् । दार्जिलिङ, कलिङपोङ, डुवार्स आदि क्षेत्रमा कतै गोर्खाको नामले र कतै नेपालीकै नामले आफू भूमिसहित भारतमा गभिएको र विदेशी नभएको भनेर परिचय (पहिचान)को संघर्ष जीवित छ । गोर्खा शब्द नेपालको कुनै किसिमको मञ्जुरी बेगर अझ नेपालसँग युद्धरत अवस्थामै बेलायतले लगेको हो । पछि गोर्खा भर्तीको बारेमा कुनै किसिमको सहमति नेपालसँग भएको प्रमाण पाइँदैन तर सरकारले बेचेको भन्ने आरोप चाहिँ सुनिने गरेको छ ।

त्यसैले विगत दुई सय वर्षभन्दा ज्यादादेखि नेपालको मञ्जुरी बेगर बेलायत-भारत आदिले गोर्खा प्रयोग गर्दै आएका छन् । त्यसैले गोर्खा र नेपाल आजको सन्दर्भमा एकै नै होलान् त ? तराईका रैथाने बासिन्दाले आफूलाई भूमिपुत्र भन्नुको अर्थ यही जमिनको रैथाने हौं भनेको हो । दार्जिलिङकाले भूमिसँग नै आएका भनेको अर्थ पनि त्यही भूमिपुत्र नै भनेको हो । तराईमा पनि त्यहाँका रैथानेहरूको साथमा भारतबाट बसाइँ आएका छन् भने दार्जिलिङ्मा पनि नेपालबाट बसाइँ गएका छन् । दार्जिलिङ्लाई नेपालभित्रबाट समर्थन गर्नेहरू छन् भने तराईवासीलाई पनि भारतबाट समर्थन गर्ने छन् । दार्जिलिङकाहरू हामी माटोसँगै आएकाले हामीलाई बाहिरिया नभन भन्छन् भने तराईका पनि हामी कतैबाट आएका होइनौं रैथाने हौं भन्छन् ।

सुगौली सन्धिको धारा ३ मा नेपालले १) काली र राप्तीबीचको तराई २) बुटवलबाहेक राप्ती र गण्डकीबीचको तराई ३) गण्डकी र कोशीबीचको तराई ४) मेचीपूर्व बर्मासम्मको तराई ५) मेचीपूर्वको पहाड सन्धिको ४० दिनभित्र छोड्नुपर्ने उल्लेख छ । धारा ४ मा तराईका भूभाग छोडेबापत नेपाललाई इष्ट इण्डिया कम्पनीले वर्षको दुई लाख दिने कुरा उल्लेख छ । यो रकम नेपालले त्यस क्षेत्रको मौजाबाट कमाइ गुमाउने भारदारलाई आफूखुशी दिन सक्ने कुरा उल्लेख छ । धारा ५ मा कालीपश्चिमको पहाडी भूभाग छोड्नुपर्ने धारा ६ मा सिक्किमलाई नेपालले आक्रमण गर्न नपाइने कुरा उल्लेख छ ।

धारा ७ मा बेलायतको स्वीकृतिबेगर नेपालले कुनै पनि बेलायती, युरोपेली तथा अमेरिकीलाई सेवामा नराख्ने कुरा उल्लेख छ । अनि धारा ८ मा दुवै मुलकले एक अर्काको मुलुकमा रेजिडेन्ट राख्ने कुरा उल्लेख छ । ९ धारामा सन्धिको यो व्यवस्थाले कोशीपूर्व र मेची–पश्चिमको तराईमात्र नेपालको अधिनमा रहेको देखाउँछ । २ डिसेम्बर १८१५ मा प्रक्रिया आरम्भ भएर ४ मार्च १८१६ मा पूरा भएको यो सन्धिले हालको नेपालको सीमा कोरेको होइन । यो त बेलायती रेजिडेन्ट एडवर्ड गार्डनर र नेपालका राजाबीचको अर्को सहमतिले तराईका ती भूभाग ११ दिसेम्बर १८१६ मा फिर्ता भएका हुन् ।

चतुर डेबिड अक्टरलोनीले यस सन्धिले दिनुपर्ने वार्षिक दुई लाख घाटाको व्यापार देखेको हुनुपर्दछ । त्यसैले सुगौली सन्धिले नेपाललाई धेरै दबाएको भन्दै गोहीको आँसु चुहाएर केही तराईका भूभाग फिर्ता गरे । राप्तीदेखि महाकालीसम्मको तराईमा अधिकार कायम नै राखेर पनि कम्पनीले तिर्नुपर्ने वार्षिक दुई लाख मिनाहा लिए । त्यसको बदला कुशवाह नदीदेखि गण्डक नदीसम्म अनि गण्डकदेखि राप्तीसम्मको भूभाग फिर्ता भयो । कसैकसैले नेपालको यो तराई सुगौली सन्धिले अर्जेको भनेर व्याख्या गर्ने गरेका छन् । तर यी भूभाग ४ मार्च १८१६ देखि करिब ९ महिनामात्र इष्ट इण्डिया कम्पनीको हिस्सा भएका हुन् । राप्तीपश्चिमको तराई, मेचीपूर्वको टिष्टासम्म र कालीपश्चिम काँगडा आदि भूभाग त्यसबेला पनि फिर्ता भएनन् ।

१९५० को सन्धि समान हो वा असमान हो भन्ने बारेमा कुरा गर्नुपर्ने आवश्यकतै छैन । यो नै भंग गर्न सबैभन्दा सजिलो सन्धि होला । यसको धारा १० ले भन्छ ‘यो सन्धि कुनै पनि पक्षले एक वर्षलाई सूचना दिएर भंग नगरेसम्म जारी रहन्छ’ ।

राप्तीपश्चिमदेखि महाकालीपूर्वसम्मको तराई पछि फिर्ता भए पनि अरू भूभाग भने नेपालले सदाको निमित्त गुमायो । अक्टरलोनीसँगको यही व्यवस्थामा नेपालको दक्षिण र कम्पनीको उत्तर सीमा निर्धारण गरेर सीमा स्तम्भ राख्ने कुरा छ । यसैअन्तर्गत बनेका सीमा स्तम्भलाई नेपालीहरू जंगेपिलर भन्छन् । बलले केही हासिल गर्नसक्ने अवस्था थिएन । युद्ध गर्दा नेपाली सेना र गोर्खा राइफल्सको भिडन्त हुने खतरा थियो अर्थात् दुवैतर्फबाट नेपाली नै हताहत हुनसक्ने अवस्था थियो । त्यसैले जंगबहादुरले चतुर्‍याइँको प्रयोगले ‘नयाँ मुलुक’ हाँसिल गरेपछिमात्र अहिलेको नेपालको सीमा निर्धारण भएको हो भन्न सक्ने आधार छन् ।

तर, चाहे नेपालको तराईमा मधेस आन्दोलन चलाउनेहरू हुन वा दार्जिलिङमा गोरखाल्याण्ड माग्ने हुन दुवैले नेपाली मनको घाउ ‘सुगौली सन्धि’ बारम्बार तेस्र्याउने गरेका छन् । त्यसैले सुगौली सन्धिको बारेमा उल्लेख आवश्यक थियो । अब यी सन्धिहरूका व्यहोरा सरकारी चिसा दराजमा मात्र बन्द छैनन् जो कसैले इन्टरनेटबाट पढ्न सक्छ । अर्को उकुच पल्टने गरेर भएको घाउ १९५० को सन्धिलाई मानिन्छ । यो सन्धि समान हो वा असमान हो भन्ने बारेमा कुरा गर्नुपर्ने आवश्यकता नै छैन । सम्भवतः यो नै भंग गर्न सबैभन्दा सजिलो सन्धि होला, त्यसैले यसको धारा १० ले भन्छ ‘यो सन्धि कुनै पनि पक्षले एक वर्षलाई सूचना दिएर भंग नगरेसम्म जारी रहन्छ’ ।

यही सन्धिको नाममा राजनीति गरेर सत्तामा पुगेकाहरूले निर्वाध दशक पार गरिसके तैपनि सन्धि कायम छ । यसको अर्थ सन्धिको अनुपस्थितिमा धेरैको राजनीति गर्ने आधार मेटिन्छ । त्यसैले यसलाई गाली गर्दै जीवित राख्नु उनीहरूको विवशता हो । अहिले १९५० को सन्धिले सुगौली सन्धि खारेज गरेको छ भन्ने तर्क प्रसस्त आएका छन् । भारतीय स्वतन्त्रता ऐन १९४७ मा नै बेलायतले नेपाललगायत सबैसँग इष्ट इण्डिया कम्पनीले गरेका हरेक बन्दोबस्त निरस्त्र गरेको छ । यसका निमित्त हरेक छिमेकीसँग र कम्पनीभित्रका रियासतहरूसँग अलगअलग व्यवस्था गर्नुपर्ने बनाइदिएको छ । त्यसैले वर्तमान भारत संघ निर्माण गर्न तात्कालीन नेतृत्वले साम, दान, दण्ड, भेद प्रयोग गर्नुपरेको थियो ।

यही काम गरेबापत भारतीय संघमा सरदार बल्लभभाइ पटेललाई लौह पुरुषको सम्मान दिइन्छ । १९५० को सन्धिको जुन धाराले सुगौली सन्धि खारेज भयो भनिएको छ त्यो धारा ८ ले भन्छ, ‘जहाँसम्म यस सन्धिमा उल्लेख भएका कुराहरू छन् तीसम्बन्धी विषयमा नेपाल सरकार र भारतीय सरकारको निमित्त बेलायती सरकारले गरेका सन्धि, सम्झौता र सहमतीहरू रद्द गरिन्छ’ । अब यस धाराको कानुनी अर्थ के के हुनसक्छ ? यसले सुगौली सन्धिमा गुमेका भूभागहरूमा अधिकार दिन्छ वा दिँदैन भन्ने कुरा दुई जोड दुई-चार भनेजस्तो नहुन सक्छ ।

सन्धिको धारा १ मै दुवै मुलुकले एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दछन् भनिएको छ । यस धाराले तात्कालीन कायम भौगोलिक अखण्डतामा नेपालको मधेस भनिने तराई अनि भारतको टिष्टा र काँगडासम्मको भूगोल समेटिन्छ कि समेटिँदैन ? यो प्रश्नको उत्तर दिने यो आलेखको सामथ्र्यभित्र पर्दैन । यो आलेखको प्रयोजन केवल प्राप्त तथ्यहरू सकभर जस्ताको तस्तै प्रस्तुत गर्नेमात्र हो । आशा छ मानवीय कमजोरीले कुनै अन्यथा नभई यो दायित्व इमानदारीले पूरा भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?