कर्णालीमा लम्पी स्किन रोगले दश हजार पशु मरे

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्ला लगायत कर्णालीका दशवटा जिल्लामा लम्पी स्किन रोगले दश हजार बढी पशु चौपायको मृत्यु भएको छ । महामारी रोगका रुपमा फैलिँदै गएको लम्पी स्किन रोगबाट कर्णाली प्रदेशमा साढे दश हजार पशु चौपायको मृत्यु भएको पशुपंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशले तथ्यांक सार्वजनिक गरेको छ ।

सो रोगबाट बाच्छा बाच्छी, गाई, गोरु, भैसी र चौरीसहित कुल यहाँका दुई लाख २७ हजार दुई सय ६७ संक्रमित पशु चौपायहरु मध्ये १० हजार चार सय ५० को मृत्यु भएको निर्देशनालका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समयमा कालीकोट, जुम्ला र डोल्पामा अहिले बढी पशु चौपायको मृत्यु भएको छ । २३ हजार ६५ पशु चौपाया संक्रमित भएको जाजरकोटमा सबैभन्दा बढी दुई हजार आठ सय ७७ को मृत्यु भएको छ ।” दोस्रोमा २९ हजार पाँच सय ४१ संक्रमित मध्ये कालीकोटमा एक हजार ५८ पशु चौपायाको मृत्यु भएको निमित्त निर्देशक पंगेनीले बताउनुभयो ।

साउन १४ गतेसम्म १३ हजार पाँच सय ९८ पशु चौपाया संक्रमित भएको हुम्लामा साउन १४ गतेको रिपोर्टिङ अनुसार एक हजार नौसय ८३ को मृत्यु भएको उहाँले बताउनुभयो । हुम्लामा पछिल्लो एक हप्तामा कति पशु चौपायाको मृत्यु भएको भन्ने एकिन तथ्याङ्क आउन बाँकी रहेको निर्देशक पंगेनीले जनाउनुभयो । पशु चिकित्स डा.सविना मल्लका अनुसार २९ हजार पाँच सय ४१ संक्रमित पशुहरु मध्ये सुर्खेतमा एक हजार ५८ र ३४ हजार चार सय ७९ संक्रमित भएको सल्यानमा एक हजार २३ पशु चौपायको मृत्यु भएको छ । ७५ हजार तीन सय ६६ संक्रमित हुँदा दैलेखमा छ सय २१ पशु चौपायाको मृत्यु भएको छ । त्यसैगरी, १४ हजार ४१ पशु संक्रमित भएको जुम्लामा पाँच सय ७३, संक्रमित संख्या सात हजार पाँच सय २९ रहेको डोल्पामा पाँच सय ४३, संक्रमितको संख्या १७ हजार छ सय ४१ रहेको रुकुमपश्चिममा चार सय ६९ र तीन हजार तीन सय ४६ संक्रमित भएको डोल्पामा दुई सय २२ पशु चौपायको मृत्यु भएको चिकित्सक डा.मल्ले बताउनुभयो ।

उहाँले कर्णालीका दश जिल्लाको तथ्याङ्कलाई अध्ययन गर्दा ४५ हजार चार सय ३४ बाच्छा बाच्छी, ५३ हजार आठ सय ८९ गाई, एक लाख २४ हजार दुई सय १३ गोरु, दुई हजार छ सय ८३ भैसी र एक हजार ४८ चौरी संक्रमित भएको जनाउनुभयो । संक्रमित पशुवस्तुहरुमा एक हजार आठ सय ६५ बाच्छा बाच्छी, दुई हजार नौ सय ७० गाई, पाँच हजार दुई सय ९९ गोरु, दुई सय ७३ भैसी र ४३ चौंरीको मृत्यु भएको डा.मल्लले बताउनुभयो ।

निर्देशक पंगेनीले बढ्दै गएको लम्पी स्किन नियन्त्रण गर्न आवतजावतमा बन्द गरिएको र घाउ खटिरा आएको पशुमा मलम लगाउने काम गरिएको जनाउनुभयो । पछिल्लो समयमा डोल्पा र जुम्ला यो रोग अलि बढेको देखिएपनि दशै जिल्लामा प्राविधिक खटाइएकोले नियन्त्रणमा आएको उहाँको दावी छ ।

उहाँका अनुसार मृत्यु भएका पशु चौपायको उचित व्यवस्थापन गर्न पालिकास्तरका कर्मचारीलाई निर्देशन दिइएको छ । यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले लम्पी स्किन रोगबाट संक्रमित दुई लाख २७ हजार दुई सय ६७ पशुवस्तु मध्ये एक लाख ५५ हजार एक सय १८ को उपचार गरिएको र १३ हजार ४६ मा खोप लगाइएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार कुल संक्रमित संख्यामा लम्पी स्किन रोगबाट ४ दशमलव ५९ प्रतिशत पशु चौपायको मृत्यु भएको र थप क्षति हुन नदिन उच्च सतर्कता अपनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?