कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुिनल शर्मा पक्राउ परेका छन् । बिहीबार दिउँसो शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनकै निवास काठमाडौंको गल्फुटारबाट पक्राउ गरेको हो । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेस सांसद शर्मालाई प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप सिआइबीले लगाएको छ । ‘उहाँ (सुनिल शर्मा) लाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको पुरानै मुद्दामा पक्राउ गरिएको हो’, प्रहरीको स्रोतले भन्यो, ‘प्लस टु उत्तीर्ण गर्नका लागि नम्बर नपुग्दा उहाँ आफैँले थपेको पाइएको छ ।’

मोरङ क्षेत्र नम्बर ३ बाट २०७९ मंसिर ४ को निर्वाचनमा विजयी शर्मा कांग्रेसमा नेता डा. शेखर कोइरालानिकट मानिन्छन् । उनले गत साउन ३ गते त्रिभुवन विमानस्थल परिसरबाट बरामद १०० केजी सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग पनि गरेका थिए । शर्माले गत साउन १० गते संसद् बैठकमै सुन तस्करीका मुख्य अभियुक्त नसमातिए आमरण अनशन बस्ने चेतावनी दिएका थिए ।

शर्माले प्रतिनिधिसभाको बुधबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले विमानस्थलबाट भएको सुन तस्करीलाई लिएर नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए । सांसद शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक पनि हुन् ।

सिआइबीले कांग्रेस सांसद शर्मा पक्राउबारे संसद् सचिवालयलाई जानकारी गराएको छ । सिआइबीले संसद् सचिवालयलाई पत्र पठाएर जानकारी गराएको सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी गराउनुभयो । सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्था छ ।

नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा फौजदारी कसुरमा कुनै सांसद पक्राउ परेमा पक्राउ पर्नेबित्तिकै त्यससम्बन्धी जानकारी सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त जानकारी दिनुपर्ने प्रावधान रहेको छ । सोही व्यवस्थाअनुसार सिआइबीले सभामुख देवराज घिमिरेलाई शर्मा पक्राउको सूचना दिइसकेको छ । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ अनुसार संविधानको धारा ३ अनुसार कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएपछि सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने प्रावधान रहेको छ ।

सोही नियमको उपनियम ३ मा कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षको लागि थुनामा रहेमा वा फरार रहेमा निलम्बन गरिने व्यवस्था रहेको छ । यो व्यवस्थाअनुसार सांसद शर्मा निलम्बन हुन सक्नेछन् । यस्तै, अभियोग प्रमाणित भएमा उनले फौजदारी कसुरअन्तर्गत लिखत किर्तेसम्बन्धी कसुरमा सजाय पाउन सक्नेछन् । ‘मुलुकी अपराध संहिता २०७४’ को परिच्छेद २५ मा रहेको लिखतसम्बन्धी कसुरअन्तर्गत सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको सजाय पाउने व्यवस्था रहेको छ । अपराध संहिताको दफा २७६ को उपदफा ४ को (ग) मा यससम्बन्धी व्यवस्था रहेको छ । उनीमाथि लागेको अभियोग प्रमाणित भएमा सांसद शर्माको सांसद पद जानेछ भने उनले सात वर्षसम्म कैद सजाय पाउन सक्छन् ।

शर्मा पक्राउबारे जानकारी लिइरहेका छौं : कांग्रेस
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेको बारेमा जानकारी लिइरहेको बताउनुभएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले सांसद शर्मा पक्राउबारे जानकारी लिइरहेको र किन र के कारणले पक्राउ गरिएको भन्ने आधिकारिक जानकारी लिइसकेपछि पार्टीको धारणा बनाउने बताउनुभयो ।

उहाँले संसद् चलिरहेको बेलामा कसैलाई पक्राउ गरेमा तत्काल त्यसको जानकारी सम्बन्धित संसद्मा जानकारी गराउनुपर्ने र त्यसबारेमा पनि सभामुखलाई सांसद शर्मा पक्राउ परेको जानकारी तत्काल गराएको हो वा होइन भन्नेबारेमा जानकारी लिने काम गरिरहेको बताउनुभयो । उहाँले हाउस चलिरहेको बेलामा देवानी मुद्दामा सांसदलाई पक्राउ गर्न नपाइने र सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइए पनि कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन् ? के छानविन गर्ने कुरा हो ? यसमा आधिकारिक जानकारी लिएपछि मात्रै कांग्रेसले आफ्नो धारणा बनाउने बताउनुभयो ।

सुनील शर्माको सचिवालयले भन्यो- राजीनामा मागेको प्रतिशोधमा पक्राउ गरियो
सुनील शर्माको सचिवालयले राजीनामा मागेको प्रतिशोधमा पक्राउ गरियो बताएको छ । शर्माको सचिवालयले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साँध्न राज्यसत्ताको दुरुपयोग गरी उनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको हो । ‘सुन तस्करीको विषयलाई लिएर संघीय सदनमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण संसद्को अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिनाअनुमति र पक्राउ पुर्जीसमेत जारी नगरी सीआईबीले क्रुरतापूर्वक पक्राउ गरेको कुरा आम जनसमुदायमा जानकारी गराउँदछौँ’, सांसद शर्माका स्वकीय सचिव विवेक लिम्बुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?