सुनिल शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको कांग्रेस सांसदको आरोप

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउ गरेको विषय प्रवेश गरेको छ ।

शुक्रबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको धारणा राखेका थिए ।

बैठकमा सांसदहरूले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूकै संलग्नता रहेको आशंका पैदा भइरहेकोमा घटनाक्रमले त्यसलाई थप पुष्टि गरिरहेको समेत बताए ।

सुन तस्करीका विषयमा मन्त्रीहरूको कनेक्सनबारे बोल्दा शर्मालाई समातिएको भन्दै तत्काल सरकारले माफी मागेर शर्मालाई रिहा गर्नु पर्ने सांसदहरुको धारणा थियो ।

शुक्रवार संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुन तस्करी प्रकरणमा मन्त्रीहरुको राजीनामा मागेको प्रतिशोधमा डा. शर्मालाई पक्राउ गरिएको र यसबारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिनुपर्ने बताउनु भयो ।

उहाँले संसद चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्न नमिल्ने भन्दै अनुसन्धानका लागि बयान लिने बाटो रोज्न सक्नेमा त्यसो नगरी गिरफ्तार गर्नुले प्रतिशोध साँधेको स्पष्ट हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘डा. सुनिल शर्माको गिरफ्तारीको विषय उठेको छ । सबै सांसदहरुले उक्त विषय गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो । सामान्य केसमा यसरी संसद च्लिरहेको बेलामा यसरी सांसदलाई पक्राउ गर्नु एक प्रकारको गैरकानूनी काम हो । गैरसंसदीय अभ्यास पनि हो । उहाँले यसभन्दा अघि केही मन्त्रीको राजीनामा माग्नुभयो, त्यही अभिव्यक्तिलाई लिएर पक्राउ गरिएको हो भन्ने यो प्रतिशोध प्रधानमन्त्री, गृहमन्त्री हुनुहुन्छ, उहाँले संसदमा यो जवाफ दिनुपर्ने थियो । कसले गरेको हो, किन गरियो ? यो भन्दाअघि पनि अप्रेशन चलाइएको थियो, केही मानिसलाई धरौटीमा छोडियो, सबै छुटे पछि । संसद चलिरहेको बेलामा सांसदलाई यसरी गिरफ्तार गर्नुपर्ने बाध्यता किन भयो ? यसका लागि कानूनी अन्य बाटो हुनसक्थे, बयान हुनसक्थ्यो । अरु बाटो हुनसक्थे तर उहाँलाई प्रतिशोधको भावनाले पक्राउ गरियो । यसको जवाफ गृहमन्त्रीले दिनुपर्छ ।’

सांसद घिमिरेले सांसदलाई संसद चलिरहेको बेलामा पक्राउ गर्नु गैरसंसदीय अभ्यास भएको बताउनु भयो ।

अर्का सांसद अर्जुननरसिंह केसीले सुन तस्करीको छानबिनलाई डाइभर्ट गर्न सरकारले त्यसबारे आवाज उठाइरहेका सांसद शर्मालाई पक्राउ गरेको आरोप लगाउनु भयो ।

उहाँले सुन तस्करीका विषयमा मन्त्रीहरूको कनेक्सनबारे बोल्दा शर्मालाई समातिएको दाबी गर्नुभयो । २७ वर्षपछि मुद्दा उठाउनुपर्ने सान्दर्भिकता कहाँबाट आयो ? भन्दै उहाँले प्रश्न समेत गर्नुभयो । शर्मालाई प्रतिशोधात्मक ढंगले पक्राउ गरिएकाे उहाँको भनाइ थियो ।

यस्तै प्रमुख सचेतक रमेश लेखकले सांसद पक्राउ गर्नु अनुचित भएको बताउँदै बैठकमा सांसदहरुले धारणा राखेको बताउनु भयो ।

बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?