भ्रष्टाचार काण्डमा नाम आएका सबैलाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ : गगन थापा

फाइल फोटो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार काण्डमा नाम आएका सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताउनु भएको छ । जारी संसदीय दलको बैठकमा महामन्त्री थापाले सबै ठूला भ्रष्ट्राचार र अनियमितता प्रकरणमाथि अनुसन्धान गर्नुपर्ने बताउनु भयो ।

नेताहरूका नाम कुनै काण्डमा जोडिनेबित्तिकै शीर्ष नेताहरूले फरक फरक काण्डको छानविनको कुरा उठाउने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘कुनै एक काण्डमा शीर्ष नेताका नाम जोडियो भने ए मेरो मात्र छानबिन गर्ने तिम्रो नाम जोडिएको काण्ड के हुन्छ भनेर भन्ने गरिएको छ,’ उहाँले भन्नुभयो, ‘यसरी आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने यस्तो अवस्था बदल्नुपर्छ।’

महामन्त्री थापाले प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नाम जोडिएका माओवादीका नेताहरूमाथि छानबिन नगरेकोप्रति आशंका व्यक्त गर्नुभयो । माओवादीको आइतबार बसेको पदाधिकारी बैठकमा सुन प्रकरणबारे प्रष्ट पार्न महरालाई प्रधानमन्त्रीले आग्रह गरेका खबर आएको भन्दै थापाले माओवादीले भन्दा पनि यसमा सरकारका निकायहरूले छानबिन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको बैठकले भनेअनुसार कसैले प्रष्ट पारेर हुँदैन । नाम जोडिएपछि छानबिन गरेर टुंगो लगाउनुपर्छ । तुरुन्त छानबिन होस् । क्लियर गर्नुपर्छ । संलग्नता प्रधानमन्त्रीको पार्टीको होस् वा हाम्रो जोसुकै जुनसुकै भएपनि कारबाहीको दायरामा ल्याउनैपर्छ ।’

यी काण्डहरूमा संलग्न देखिएमा जुनसुकै पार्टीका भए पनि नेतादेखि सांसद कसैलाई छाड्न नहुने थापाले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?