लगानीको आकर्षण केन्द्र बन्दै कृषि, लगानी थप्न आइपीओको तयारीमा श्रीनगर एग्रिटेक

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । ‘कृषिमा लगानी, बालुवामा पानी’ को अवस्था चिर्र्ने गरी पछिल्लो समय कृषिमा निजी क्षेत्रको लगानी बढ्दै गएको छ । खासगरी कर्पोरेट हाउसहरुको प्रवेशसँगै कृषि क्षेत्र कृषि यान्त्रिकीकरण र व्यवसायिकरणतर्फ उन्मुख हुँदै गएको हो । कृषिजन्य उत्पादनको प्रसोधन र बजारीकरणमामात्रै सीमित रहेका कतिपय कर्पोरेट हाउसहरु उत्पादनमासमेत केन्द्रित हुन थालेका छन् । जसका कारण उत्पादनसँगै ठूलो संख्यामा रोजगारी पनि सिर्जना हुँदै गएको छ ।

दुई दशकदेखि पशुपन्छी तथा दानाजन्य उत्पादनमा सफल कृषि कम्पनीका रूपमा पहिचान बनाएको श्रीनगर कम्पनीले वार्षिक एक सय करोडको कारोबार गरिरहेको छ । हाल श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड बनेको कम्पनीले एक वर्षभित्र साधारण सेयर (आईपीओ) को समेत तयारी गरेको छ । जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजबीच आईपीओ निष्कासन सम्झौता भइसकेको छ । श्रीनगरमा पाँच हजारभन्दा बढी कृषक, व्यवसायी तथा उद्यमी आवद्ध रहेको कम्पनीले जनाएको छ । यसअघि श्रीनगर एग्रो फार्म प्रालिका रुपमा रहेकोमा लगानी विस्तार तथा थप परियोजनासहित पब्लिक कम्पनीमा रूपान्तरण भएको हो ।

सेयर बजारमा बैंक तथा वित्तीय क्षेत्र, जलविद्युत, बिमालगायतका क्षेत्रले आधिपत्य जमाइरहेको वेला कृषि कम्पनी लगानीकर्ताको थप आकर्षणको केन्द्र बन्नसक्नेमा कम्पनीका अध्यक्ष सतिसचन्द्र श्रेष्ठ आशावादी देखिनुहुन्छ । किनभने प्रालि हुँदा पनि राम्रो कमाइ गरिरहेको श्रीनगर पब्लिकमा गएपछि थप योजना र लगानीले आम्दानी पनि बढ्ने भएकोले लगानीकर्तालाई पनि बढी प्रतिफल दिनसक्ने उहाँको जिकिर छ ।
काठमाडौंको बालाजुको एउटा कुखुरा फार्मबाट सुरू भएको श्रीनगरले लुम्बिनी प्रदेश केन्द्रित भएर हाल नेपालभर आफ्ना उत्पादन तथा सेवा विस्तार गरिरहेको छ । बैंकिङ क्षेत्रमा राम्रो क्यारियर बनाउनुभएका श्रेष्ठ आकर्षक कमाइको मोह त्यागेर कृषिमा होमिनुभएको थियो । उहाँ भन्नुहुन्छ‘मेरो पृष्ठभूमी बैंक हो । बैंकिङ क्षेत्रमा काम गरिरहँदा सिटी बैंकको राम्रै जागिर छाडेर कृषि क्षेत्रमा रमाउन खोजेको हुँ, केही उतावचढाव थाती राख्ने हो भने श्रीनगर एग्रोको पछिल्लो दुई दशक बढीको यात्रा निकै सफल र सन्तुष्ट यात्राका रूपमा मैले लिएको छु ।’ श्रीनगरले दुईचार हजार कुखुराको पोल्ट्री फार्मबाट काम सुरु गरेको थियो । हाल पशुपालन र दानाजन्य उत्पादनमा विश्वासिलो ब्राण्ड बनिसकेको श्रीनगरको आगामी योजना खाद्यमा आक्रामक लगानीको रहेको छ ।

प्रालि हुँदा पनि राम्रो कमाइ गरिरहेको श्रीनगर पब्लिकमा गएपछि थप योजना र लगानीले आम्दानी पनि बढ्ने भएकाले पनि अन्य कम्पनीभन्दा कृषि कम्पनीले बढी कमाइ दिने श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ‘कृषि कर्मले कम्पनी वा संस्था वा कृषकलाई मात्र फाइदा हुँदैन, यसले त आम उपभोक्तालाई पनि उत्तिकै फाइदा दिन्छ, अर्थतन्त्रलाई पनि कृषिले बढावा दिन्छ, आयातमुखी अर्थतन्त्रका कारण मुलुक आर्थिक संकटमा फस्दै गएको सन्दर्भमा उत्पादनमा आधारित उद्योगले नै अबका दिनमा उपभोक्ता, लगानीकर्ता र कृषकलाई लाभ दिने हो ।’

श्रीनगर हाल फार्म (चल्ला, कुखुरा र अण्डा) र दाना उद्योगमा सफल मानिन्छ । किनभने श्रीगर एग्रो नेपालको पहिलो आइएसओ ९००१ः२०१५ सर्टिफिकेट प्राप्त इन्टिग्रेटेड एग्री बिजनेस फर्म पनि हो । अब फुड, तयारी कुखुरा, प्रोसेस्डमा पनि अघि बढ्ने कम्पनीको तयारी छ । श्रीनगर एग्रो सुरूमा प्यारेन्ट चल्ला उत्पादन तथा सप्लाइमा केन्द्रीत थियो । कम्पनीले विस्तारै वन स्टेप सोलुसनको अवधारणाअनुसार योजना अगाडि बढाएको हो । जसअनुसार किसानका लागि आवश्यक बिउ र चल्लादेखि दानासम्म सप्लाइ गर्ने र उत्पादनको बजारको ग्यारेन्टी गर्ने काम गरिरहेको छ ।

किसान तथा एग्रोभेटका लागि आवश्यक पर्ने सेवाको समेत उपलब्धताले पनि श्रीनगरले विश्वास कमाएको देखिन्छ । करारखेतीका माध्यमबाट पनि कम्पनीले काम गरिरहेको छ । श्रीनगरले रूपन्देहीको सुद्धोदन नगरपालिका ४ मा पौने दुइ बिघामा दाना उद्योग सञ्चालन गरिरहेको छ भने नजिकै पौने तीन बिघाको ह्याचरी तथा फार्म र अर्को पौने चार बिघामा एउटा व्यवसायिक फार्म सञ्चालन गरिरहेको छ । पाल्पाको तेल्घामा २३ रोपनीमा ब्रिडर फार्म सञ्चालनमा छ । बुटवलमा पनि मासु प्रसोधन उद्योगलगायत फुडमा नयाँ योजनाकासाथ कम्पनी अघि बढिरहेको छ । श्रीगरले गत आर्थिक २०७९ ।०८० वर्षमा सय करोडभन्दा बढी कारोबार गरेकोमा आगामी वर्ष कम्तिमा पनि डेढ सय करोड कारोबारको लक्ष्य लिएको छ । त्यसो त कम्पनी विभिन्न समस्या र चुनौती पार गर्दै अहिलेको अवस्था आइपुगेको हो । नेपालमा प्रक्रियागत झन्झट नै प्रमुख चुनौती रहेको बताउने श्रेष्ठ व्यवसाय गर्ने र गर्न चाहनेलाई सम्वन्धित राज्यका निकायहरुले अनावश्यक दुःख र हैरानीमात्रै दिने गरेको उहाँको अनुभव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?