संसद् अवरुद्ध गरेर एमाले गैरजिम्मेवार बनेको कांग्रेसको निष्कर्ष

गतिरोध अन्त्य गर्न पहल गर्ने निर्णय, छलफल गर्ने वातावरण सुनिश्चित गर्न आग्रह

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई संसद्को अवरोध अन्त्य गर्न आग्रह गरेको छ । सोमबार सम्पन्न कांग्रेस संसदीय दलका बैठकले सदनको अवरोध अन्त्य गर्न आग्रह गरेको हो । संसद्को अवरोध अन्त्य गरी छलफल गर्ने वातावरण सुनिश्चित गर्न कांग्रेसले एमालेलाई आग्रह गरेको छ । कुनै विषयमा प्रतिपक्षले संसद्मा आलोचनात्मक रूपमा प्रस्तुत हुनु स्वाभाविक भए पनि लामो समयसम्म सदन अवरुद्ध गर्ने कार्य गैरजिम्मेवार कार्य भएको कांग्रेसको निष्कर्ष छ । ‘सदन अवरुद्ध भएका कारण जनताका सरोकारका विषय उठ्न सकेका छैनन् भने सदनमा विचाराधीन महत्वपूर्ण विधेयक कानुन बन्न सकेका छैनन् । नयाँ विधेयक प्रस्तुत गर्ने, विषयगत समितिको नेतृत्व चयन गर्ने कार्य अवरुद्ध छ,’ बैठकका निर्णय सुनाउँदै भन्नुभयो, ‘नेपाली कांग्रेस सत्तारूढ दलहरूसँगै प्रमुख प्रतिपक्षलगायत अन्यसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद् सुचारु गर्न पहल गर्ने निर्णय गर्दछ । संघीय संसद् नै निष्क्रिय भएको अवस्थाले संसदीय पद्धतिप्रति नै जनतामा वितृष्णा उत्पन्न हुने जोखिम भएको हुँदा लामो समयसम्म संसद् अवरोध गर्ने कार्यलाई उचित मान्न सकिँदैन । प्रमुख प्रतिपक्ष दललाई सदनको अवरोध समाप्त गरी सबै विषयमा सदनमा नै छलफल गर्ने वातावरण सुनिश्चित गर्न अपिल गर्दछ ।’

कांग्रेसले सदनको गतिरोध अन्त्य गर्न पहल गर्नेसमेत निर्णय गरेको प्रमख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उहाँका अनुसार सदनको गतिरोध अन्त्य गर्न सत्तारूढ दलहरूसँगै प्रमुख प्रतिपक्षलगायत सबै दलसँग संवादको अग्रसरता लिने कांग्रेसले निर्णय गरेको छ । ‘सरकारलाई सदनप्रति जवाफदेही बनाउनुपर्छ । संसद् आफैँ जनताप्रति उत्तरदायी हुनुपर्दछ । कुनै विषयमा आफ्ना असहमति व्यक्त गर्न प्रतिपक्षले सदनमा आलोचनात्मक रूपले प्रस्तुत हुनु स्वाभाविक हो,’ उहाँले भन्नुभयो, ‘तर लामो समयसम्म सदनमा छलफल हुन नसक्ने गरी संसद् अवरुद्ध गर्ने कार्य गैरजिम्मेदारी हो ।’ संसद्मा विचाराधीन सबै विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्न कांग्रेसले सरकार र संसद्मा क्रियाशील सबै दलहरूलाई अपील गरेको छ । संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने र मौलिक हक सुनिश्चित गर्ने विधेयक तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नेसम्बन्धी विधेयक ल्याउन पनि सरकारसँग माग गरेको छ । कांग्रेसले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सबै प्रकारका घटनाहरूको स्वतन्त्र रूपमा छानविन गर्न सरकारसँग माग गरेको छ ।

विमानस्थलबाट अवैध सुन बाहिरिनु गम्भीर चिन्ताको विषय
कांग्रेसले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको ठहर गरेको छ । कांग्रेसले गैरकानुनी कार्य पूर्ण रूपले नियन्त्रण हुनुपर्ने भन्दै यस कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान र छानविनको दायराभित्र ल्याई कानुनी कारबाही गर्न सरकारलाई अनुरोध गरेको छ । सुन तस्करी प्रकरणबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान र छानविन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गरिएको प्रमुख सचेतक लेखकले बताउनुभयो । ‘विमानस्थल जस्तो सरकारका सबै महत्वपूर्ण निकायको सदैव निगरानीमा रहने स्थानबाटै अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको छ । पटक–पटक घटित हुने यस्ता घटनाले थप चिन्तित बनाएको छ,’ उहाँले भन्नुभयो, ‘यस्ता गैरकानुनी कार्य निस्तेज गर्न पूर्णरूपले नियन्त्रण हुनुपर्दछ । यस्ता कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान र छानविनको दायराभित्र ल्याई कानुनी कारबाही गर्नुपर्दछ ।’

सिआइबीले नै छानविन गर्नुपर्ने निष्कर्ष
कांग्रेसले विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको सुन सम्बन्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नै छानविन गर्नुपर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय न्यायिक छानविन समितिको माग गरिरहेको समयमा कांग्रेसले राज्यका निकायबाटै छानविन गर्नुपर्ने निष्कर्ष निकालेको हो । कांग्रेसको निर्णयले राज्यका निकायमार्फत नै छानविन गर्ने सरकारको अडानलाई बल पुगेको छ । ‘अभियोजन गर्ने प्रयोजनका लागि नै गठित भएको केन्द्रीय अनुसन्धान ब्युरोलगायत सरकारी निकायहरूले छानविन र अनुसन्धान गरिरहेको छ । कांग्रेस यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानविन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गर्दछ ।’ बैठकमा कांग्रेस महामन्त्री गगन थापाले सुन तस्करीमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको संलग्नता भएको कुरा निरन्तर आइरहेको भन्दै छानविन गर्नुपर्ने बताउनुभएको थियो ।

गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपले काम गर्ने
प्रमुख सचेतक लेखकले वर्तमान सत्ता गठबन्धन कांग्रेसको पहल, प्रयत्न र सहयोगमा बनेको बताउनुभयो । उहाँले अहिलेको सन्दर्भमा गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपमा काम गर्न आवश्यक रहेको बताउनुभयो । बैठकले गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपले काम गर्ने निर्णय गरेको उहाँको भनाइ छ । ‘सरकारमा सहभागी दलहरूको गठबन्धन कांग्रेसको पहल, प्रयत्न र सहयोगमा बनेको हो । सोहीअनुसार वर्तमान सरकारले निरन्तरता पाएको छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रको सर्वोत्तम हितका लागि राजनीतिक स्थिरता आवश्यक छ । गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपमा काम गर्न आवश्यक छ । बैठक गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपले काम गर्ने निर्णय गर्दछ ।’ दलको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई अनुशासनमा बसेर बोल्न निर्देशन दिनुभएको थियो । आलोचना गरे पनि अनुशासनभन्दा बाहिर नजान उहाँले चेतावनी दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?