बाँदर र बदेलबाट बाली जोगाउन हम्मे

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । किसानले खानाको लागि वर्षभरी पुग्ने गरी खेतबारीमा लगाएको मकै, कोदो बाँदर र बदेलले खाइदिने गरेको छ । अन्नबाली लगाएर जीवीकोपार्जन गर्दै आएका पाल्पाका किसानहरुको खेतबारीमै पुगेर बाँदर र बदेलले खाइदिने गरेका छन् । उनीहरुलाई आफ्नो आहारा बाँदर र बदेलले खाइदिन थालेपछि जोगाउन धौं धौं भएको छ ।

बाली नाली बाँदर र बदेलले सखाप पार्न थालेपछि जिल्लाका किसानहरु दिनरात बारीमै बास बस्न बाध्य भएका छन् । जंगलनजिकै खेतीबारी हुने किसानहरु दिनभरि बाँदर धपाउँछन् भने राति बदेल ढुकेर बस्छन् । यहाँका ग्रामीण क्षेत्रमा दिनभर बाँदर र रातको समयमा बदेलको समूह आएर मकै, कोदोलगायतको बाली नाली नष्ट गर्न थालेपछि किसान बालीनाली जोगाउन रातभर बारीमै बास बस्न थालेका हुन् । मकै पाक्न लागेको समयमा नजिकैका जंगलबाट बाँदर र बँदेलको समूह आएर बारीका मकै खाने गरेको पीडित किसानहरु बताउँछन् ।

बगनासकाली गाउँपालिका यम्घाका हरी न्यौपाने बाँदर र बदेल धपाउन दिनरात बारीमै जागराम बस्नु परेको बताउँनुहुन्छ । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उहाँमात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन् । पाक्न लागेको बाली नष्ट गरेर बाँदर र बदेलले दुःख दिन थालेको पीडित किसान न्यौपानेको भनाई छ । बालीनाली जोगाउन बारीमै रातभर जाग्राम बस्ने गरेको उहाँले बताउनुभयो ।

बाँदर र बदेल आतंकका कारण बारीमै सुत्न बाध्य भएको रैनादेवी छहरा–४ ध्वाघाटका अर्कका किसान श्रीकृष्ण आत्रेयले बताउनुहुन्छ । ‘दिउँसो बादर धपायो रातिमा बँदेल आएर सताउँछ, पाक्न लागेको मकै बालिमा क्षति पु¥याएपछि अहिले हामी गाउँभरका किसान बारिमै सुत्न बाध्य छौं’ उहाँले भन्नुभयो । बारिमै टहरो बनाएर दिन रात बाँदर र बदेलको निगरानी गर्नु परेको आत्रेयको भनाई छ । उहाँले राहतको नाममा बीउको क्षतिपूर्ति भन्दा पनि किसानलाई गरी खाने वातावरण सिर्जना गरिदिन स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै अर्का पीडित किसान टेकराज पोखरेलले बारिमा बदेल र बाँदरले क्षति पु¥याएको मकै देखाउदै भन्नुहुन्छ ‘यसरी नै बाँदर, बदेलको आतंक बढ्दै गएमा आटो खाना त परै जाओस् पोलेर खाने मकै समेत हुँदैन ।’ बाँदर नियन्त्रणमा स्थानीय सरकारले पहल गरिदिनुपर्ने पोखरेलले बताउनुभयो । पालिका अध्यक्ष रुक्मागत भट्टराईले भने स्थानीय सरकार एक्लैले बाँदर नियन्त्रण गर्न नसक्ने बताउँहुन्छ ।

उहाँले यस विषयमा केन्द्रीयस्तरबाटै नीति बन्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष भट्टराईले भन्नुभयो ‘बाँदर र बदेलबाट किसानले भोग्नुपरेको क्षतिप्रति स्थानीय सरकार गम्भीर छ ।’ बँदेल र बादर आतंकको समाधानको लागि पहल गरिदिन प्रदेश सरकारलाई कार्यपालिकाको निर्णय गरेर पठाएको समेत उहाँले बताउनुभयो । बालीमा क्षति पुगेका किसानहरुको विवरण संकलन गरेर राहतको व्यवस्था गरिने अध्यक्ष भट्टराईले बताउनुभयो ।

बारीमा मकै पाक्न लागेको समयमा नजिकैका जंगलबाट बाँदरको समूह आएर बालीनाली सखाप पार्न थालेपछि किसान चिन्तित छन् । बाँदर र बदेलको समूहले मकै, बेसार, पिडालु, तरुल लगायतका बाली नाली खाइदिने गरेको किसानहरुको गुनासो छ । बाँदर र बँदेलको समूहले मानिसलाई समेत आक्रमण गरेर घाइते समेत बनाउने भएकाले स्थानीय त्रसित भएका छन् । चारैतिर जंगल रहेको गाउँका सबै किसान खेतको बीचमा टिन हालेर दिन रात हल्ला गर्दै बाँदर, बदेल भगाउन बस्ने गरेका छन् । बँदेलले पूरै बाली सखाप गरिदिएपछि जंगल नजिकका जग्गामा त कतिपयले खेती लगाउनै छोडेकाका छन् । केही वर्षपहिले खोला, जंगल नजिकका भेगमा मात्र बाँदर र बदेलले बाली नोक्सान गर्नेमा पछिल्लो सयम गाउँवस्तीतिर पनि यस्तै समस्या आएको हो । एकातर्फ जमिनमा खेती नगरेर बाँझो राख्ने चलन बढ्दै जानु र अर्कोतर्फ गाई भैसी पाल्ने क्रम विस्तारै घट्नुले वनजंगल क्षेत्र बढेर बाँदरसहित जंगली जनावरको आतंक बढेको हो ।

कृषि ज्ञान केन्द्र पाल्पाले जंगली जनावरले पु¥याएको क्षतिमा आफुहरुले केही गर्न नसक्ने बताएको छ । कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले त्यसका लागि पालिकाको कृषि शाखाबाटै किसानले राहतको लागि पहल गर्न सकिने बताउनुभयो । पाल्पाका अन्य ठाउँहरुमा पनि बाँदर र बदेलबाट बाली जोगाउन किसानालाई सकस परेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?