कानोइङमा गणेश आठौँ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालका गणेश गुरुङ एसियाड कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको आठौँ हुनुभएको छ । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनल चरणमा गणेश आठौँ हुनुभएको हो । उहाँले कोरिया र हङकङका खेलाडीलाई पछि पार्नुभएको थियो । यसअघि शनिबार नै गणेश शीर्ष दशमा रहँदै फाइनलमा प्रवेश गर्नुभएको हो ।

शुक्रबार हिट चरणमा शीर्ष १६ मा पर्दै गणेश सेमिफाइनल चरणमा पुग्नुभएको थियो । फाइनल चरणमा दश खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । चिनियाँ खेलाडीले स्वर्ण, जापानका खेलाडी रजत र चाइनिज ताइपेका खेलाडीले कांस्य पदक जितेका थिए ।

मंगोलियामाथि रोमाञ्चक जित निकाल्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले ११औँ स्थान हासिल गर्‍यो । शनिबार भएको क्लासिफिकेसन खेलमा मंगोलियामाथि तीन-दुईको सेटमा रोमाञ्चक जित निकाल्दै नेपालले ११औँ स्थान हासिल गरेको हो ।

डिक्विङ स्पोर्ट्स सेन्टर जिम्नासियममा शनिबार भएको खेलमा नेपालले पहिलो सेट १७-२५ ले गुमायो । त्यसपछि दोस्रो र तेस्रो सेट २५-१८, २५-२१ ले आफ्नो पक्षमा पारेपछि नेपाल जित नजिक पुगेको थियो । तर, चौथो सेट नेपालले १८-२५ गुमाएपछि खेल पाँचौँ सेटमा लम्बियो ।
निर्णायक तथा पाँचौँ सेटमा एक समय चार–सातले पछि रहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई १५-१२ ले जित्न सफल भयो । एसियाली खेलकुदमा नेपाली महिला टोलीको यो पहिलो जित हो । यसअघि नेपालले खेलेका सबै चार खेलमा हार भोगेको थियो ।

समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग समान तीन–शून्यको सोझो सेटमा पराजित हुँदा नवौँदेखि १२औँ स्थानको प्ले अफमा भारतसँग तीन-एकको सेटमा तथा हङकङसँग तीन–शून्यको सेटमा पराजित भएको थियो ।

एसियाडको भलिबलमा नेपाली महिला टोलीले पहिलोपटक सहभागिता जनाएको हो । एसियाड महिला भलिबलमा अफगानिस्तान पुछार (१३औँ) मा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?