व्यावसायिक ड्रागन खेतीबाट आकर्षक आम्दानी लिँदै सिन्धुली दुधौलीका काफ्ले

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 9 mins

सिन्धुली । ‘बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौतारिरहनु पदैँन ।’

सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । उहाँले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फ्रुटको फल र विरुवा उत्पादन गर्नुहुन्छ । यसले पाँच जनाको काफ्ले परिवारलाई स्वरोजगार बनाएको छ ।
व्यवसायिक कृषि कर्मले एउटा परिवारलाई स्वरोजगार मात्रै होइन, देशनै समृद्ध बन्ने बुझाई भएका काफ्ले परिवारले आर्कषक आम्दानी पनि गरिरहेका छन् ।

‘यस वर्ष होलसेलमा प्रतिकिलो पाँच सयका दरले ६ लटमा २० कुइन्टल फल बेच्दा १० लाख र विरुवा बेचेर तीन लाख आम्दानी भइसकेको छ । चार हजार विरुवा ग्राहक पर्खिएर नर्सरीमा बसिरहेका छन्,’ युवा किसान काफ्ले भन्नुभयो ।

वितेको दुई वर्षमा आठ कठ्ठाबाट उत्पादन भएको फल बेचेर १३ लाख आम्दानी भएको उहाँले बताउनुभयो ।

काफ्ले परिवारको १८ कठ्ठामा ड्रागन फ्रुटको खेती छ । ९३० ओटा पोलमा तीन हजार पाँच सय वटा विरुवा रोपिएको छन् । अहिले ९ सय बोटले फल दिइरहेका छन् । विरुवा रोपेको पछिल्लो वर्षदेखि प्रतिबोटले बार्षिक १७ लटसम्म उत्पादन दिने गरेका छ ।
उहाँले भन्नुभयो, ‘जेठदेखि कात्तिकसम्म महिनाको तीन पटकसम्म टिप्न सकिन्छ । रोपेको पहिलो वर्ष प्रतिबोट आठ किलोसम्म उत्पादन भएकोबाट विरुवा रोपेको तेस्रो वर्षबाट प्रतिबोट ४५ किलोसम्म उत्पादन भइराखेकोे छ ।’

युवा किसान काफ्लेले प्रतिविरुवा ४५० रुपैयाँमा किनेर रोपेको भएपनि उहाँले अहिले प्रतिविरुवा दुई सयमा विक्री गर्दै आउनु भएको छ । तीन बर्षअघि आफ्नो ठाउँको वातावरणमा सुहाउँदो जातको तीन सय वटा विरुवा रोप्नु भएको थियो । विरुवा रोपेको पछिल्लो वर्षदेखि ड्रागन फ्रुटले फल दिन थाल्यो । दुई वर्षमा १३ लाख आम्दानी भएपछि काठमाडौँमा खाद्यान्न पसल गरिरहेका युवा भरत काफ्लेलाई आमाले बेच्न पठाएको फलले गाउँमै फर्किएर खेती विस्तार गर्न प्रेरित गर्यो ।

पसल सुरु गरेको दुई महिना वित्न नपाउँदै कोरोना कहरले कारोबार ठप्प भएपछि छोडेर गाउँ फर्किनु भएका काफ्लेलाई फेरी काठमाडौँ फर्किन मन लागेन । दुई वर्षदेखि उहाँ व्यवसायिक ड्रागन फ्रुट खेतीमा रमाइरहनु भएको छ ।

सुरुमा खेती लगाउन अलि खर्चिलो भएपनि वर्षेनी आम्दानी बढ्दै जाने भएकाले यो व्यवसायमा निरास हुनु नपर्ने उहाँको भनाई छ । कृषि ज्ञान केन्द्र सिन्धुलीबाट दुई लाखको अनुदान लिएर दुई सय पोल थप्नु भएको उहाँले यसै वर्ष डेढ विगाहमा खेती विस्तार गर्न लागेको बताउनुभयो ।
उहाँकाअनुसार एक पटक रोपेको गुणस्तरी विरुवाको आयु २५ वर्षभन्दा धेरै हुन्छ । ड्रागन फ्रुटको १५३ प्रजातिको हुन्छन् । उहाँले रेड सायन जातको ड्रागन फ्रुट खेती विस्तार गरिरहनु भएको छ ।

व्यवसायिक ड्रागन फ्रुट खेती विस्तारदेखि बजारमा पुर्याउनेसम्मका धेरैजसो काम पाँच जनाको परिवारले धानेको छ । महिनावारी तलव दिइने गरी कर्मचारी राखिएको छैन । कामको प्रकृतिअनुसार आवश्यक मात्रामा ज्यालामा मजदुरको सहयोग लिने गर्नुहुन्छ ।

ड्रागन फ्रुटको विरुवा उत्पादन, माटो तयार, रोप्ने तरिकादेखि उत्पादित फल र विरुवाको बजारीकरणका सम्बन्धमा बुझन् तथा अवलोकनको लागि कतिपय ठाउँबाट उहाँको मेहनती बहुउद्धेश्यीय कृषि फर्म पुग्ने गर्दछन् । युटुव र गुगलमा अध्ययन गरेकै भरमा पहिलो पटक दुधौलीमा ड्रागनको खेती सुरु गर्नुभएको युवा किसान भरत काफ्ले यस खेतीका सम्बन्धमा तालिमनै दिन सक्ने हुनुभएको छ ।

ड्रागन खेती सुरु गर्दाको पहिलो संर्घष सुनाउँदै उहाँले भन्नुभयो, ‘आफूहरुले गोरु नपालेको र ट्याक्टरले जोतेर खेती गर्न बाटो नभएकाले हाम्रो छ कठ्ठा खेत बाँझै बस्थ्यो । जोत्न नपर्ने र एक पटक रोपेपछि २५ वर्षभन्दा बढी ढुक्क हुने ड्रागन फ्रुट खेतीका बारेमा हामी दाजुभाइ भएर युटुव र गुगलमा सर्च गरेर अध्ययन गयौँ । काभ्रेको पात्ले खेतमा भेषमान श्रेष्ठले लगाएको खेती हेर्न धायौँ र आफैले सुरु गरेका गयौँ । त्यसपछि अनलाइन फारम भरेर हैदरवादसम्म पुगेर एकै पटक दुई महिने तालिम लिए । तालिम र आफूले खेती गरिरहेको अनुभवका आधारमा तालिम चलाउन सक्ने भएको छु ।’
वातावरणमा अनुकुल्ताका आधारमा ड्रागनको जात पहिचान नगरी खेती गर्नले कतिपय किसानको व्यवसाय घाटामा गएकोले गुणस्तरी जातको विरुवा ठाउँको हावापानी र माटोअनुसार मिल्दो पहिचान गर्न उहाँको सुझाव छ । उहाँकाअनुसार आफुले बेच्ने गरेको ड्रागनले विरुवा रोपेको १३ महिनामा फल दिन सुरु गर्छ । उहाँले वार्षिक ६ लाखको विरुवा विक्री गदै आउनुभएको छ ।

उहाँको फर्ममा उत्पादन भएका फल र विरुवा जिल्लाको स्थानीय तथा बाहिरी जिल्लाहरु काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौँका बजारहरुमा विक्री हुँदै आएको छ ।

समयको मागअनुसार आधुनिक प्रविधिलाई पछ्याउँदै व्यवसायिक कृषि गरेर बजारको अभाव पूर्ती गर्न सके आफ्नो ठाउँको माटोमै मनग्य आम्दानी र कयौँ अवसरहरु रहेका किसान युवा काफ्लेको बुझाई छ । सरकारी, गैरसरकारी निकाय तथा सामाजिक रुपमा पनि किसान र कृषि पेसालाई हेपाइको दृष्टिले हेरिने भएकाले युवा पुस्तामा खेती, किसानी कर्ममा आर्कषण नभएको उहाँले बताउनुभयो ।

व्यवसायिक कृषिले मात्र समृद्ध नेपाल बन्ने भएकाले सरकारले देशका वेरोजगार युवालाई कृषिमा आर्कषित गर्ने तथा दिगो रुपमा व्यवसायिक खेती गर्न सहयोग गर्ने खालका कार्यक्रममा जोड दिनुपर्ने उहाँको सुझाव छ ।

पछिल्लो समय ड्रागन फल उत्पादनमा विशेषगरी सिन्धुलीका पढेलेखेका युवा लागेका छन् । जिल्लाको विभिन्न स्थानमा यसको खेती सुरु गरिएको भएपनि कुनै एकिन तथ्याङ कृषि सम्बद्ध निकायमा छैन । कृषि ज्ञान केन्द्र सिन्धुलीका सूचना अधिकृत श्रीकृष्ण अधिकारीले स्वादिष्टसँगै स्वास्थ्यवद्र्धक र बहुउपयोगी फल ड्रागन जिल्लाका सबै स्थानीय तहहरुमा विस्तारै फस्टाउँदै गएको र आवश्यक प्राविधि सहयोग प्रदान गरिदै आएको बताउनुभयो । उहाँकाअनुसार यो फलको गर्न त्यत्ति गाह्रो छैन । तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?