विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने स्याङ्जाका शिक्षक नेताको चेतावनी

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । यसपटक शिक्षकका माग पूरा नभए विद्यालय बन्द गरेर काठमाडौ जान सबै शिक्षकहरू तयार हुन स्याङ्जाका शिक्षक नेताहरूले अपील गरेका छन् । शिक्षक महासङ्घ स्याङ्जाबाट प्रतिनिधित्व गर्ने विभिन्न स्तरका नेताहरूले राज्यलाई कडा चेतावनी दिएका छन् ।

शिक्षक महासङ्घ केन्द्रको कार्यक्रम अनुसार आज शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जामा धर्ना दिन पुगेका शिक्षकहरूको कोणसभालाई सम्बोधन गर्दै शिक्षक सङ्घ, सङ्गठन तथा महासङ्घका नेताहरूले शिक्षकलाई राज्यले सबैभन्दा कमजोर रूपमा व्यवहार गरेकाले यसपटक शिक्षकहरूले आन्दोलनलाई निर्णायक टुङ्गोमा नपुर्याई नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले संसदमा पेस भएको सङ्घीय शिक्षा ऐनमा शिक्षकले विगतदेखि नै उठाउँदै आएका मागहरू समेटिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयाे, 'यसपटकको लडाईं निर्णायक भएकाले सबै वर्ग र विचारका शिक्षक एक ढिक्का भएर लाग्नुको विकल्प छैन ।'

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका गण्डकी प्रदेश इन्चार्ज यामबहादुर कुँवरले शिक्षकहरूमाथि भएको विभेद सहन नसकिने स्थितिमा पुगेकाले यसपालि लडाईं जितेर नै छाड्ने दृढता व्यक्त गर्नुभयो । 'शिक्षकले पञ्चायत ढाल्यो, गणतन्त्रका लागि सडकमा आयो, लोकतन्त्रका लागि पटकपटक लड्यो तर व्यवस्था परिवर्तन हुँदा पनि शिक्षकलाई राज्यका अन्य पेसाभन्दा अपमानित बनाइयो ।'

श्रावण २८ गते स्याङ्जाका ११ वटै पालिकाहरूमा धर्ना र ज्ञापनपत्र बुझाएका शिक्षकहरू आज शिक्षा विकास तथा समन्वय ईकाइमा धर्ना दिन पुगेका हुन् ।कार्यक्रममा अधिकांश वक्ताहरूले बिस वर्षसम्म पढाउँदा पनि एक तह बढुवा हुन नपाएका शिक्षकहरूले अहिलेसम्म धैर्य गरेर पढाइरहेको बताएका थिए ।

उनीहरूले आफूहरूको धैर्यताको बाटो टुटेकाले प्रस्तावित शिक्षा ऐनमा बालविकास, विद्यालय कर्मचारी, उच्च माध्यमिक, राहत तथा स्थायी शिक्षकसँग विभिन्न चरणमा भएका सम्झौताहरू कार्यान्वयन नभएकाले विद्यालय ठप्प पारेर काठमाडौं जान आफूहरू बाध्य भएको बताएका थिए ।

मन्तव्यपछि शिक्षक महासङ्घका कार्यवाहक अध्यक्ष वन्दना लम्साल लगायतले शिक्षा विकास तथा समन्वय ईकाइका निमित्त प्रमुख टङ्क बराललाई ज्ञापन पत्र बुझाउनुभएको थियो ।

धर्ना कार्यक्रममा दीपक भण्डारी, अमृतप्रसाद खनाल, हिमलाल ढकाल, पशुपति पौडेल, गायत्री आचार्य, जमुना चापागाईं लगायतका शिक्षक नेताहरूले बोल्नुभएको थियो । नेपाल शिक्षक महासङ्घका कार्यवाहक अध्यक्ष वन्दना लम्सालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासङ्घका जिल्ला सचिव लोकबहादुर गुरूङले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?