व्यवसायीलाई सहायता चाहिएका बेला सरकारले झन् दुःख दिने काम गर्‍यो : ओली

‘औद्योगिकीकरण र उत्पादन वृद्धि भएन भने नेपाल भिखमगुवाको देश बन्छ’

नारायण भण्डारी
Read Time = 7 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले व्यवसायीलाई दुःखका बेला झन् दुःख दिएको बताउनुभएको छ । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार सरकार व्यवसायीको अभिभावक नभएको बताउनुभएको हो । ‘सरकारले व्यवसायीप्रति शत्रुको व्यवहार गरेको छ । अभिभावकीय भूमिका भएन । सरकार निष्ठुर भयो,’ उहाँले भन्नुभयोे, ‘व्यवसायीलाई सहायता चाहिएको बेला झन् दुःख दिएको छ । उद्योगी व्यवसायीलाई तर्साउने काम गरिएको छ । यो गलत हो ।’ सरकारले हेलिकोप्टरको भाडा नतिरी उडान बन्द गरिएको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा उत्पादकत्व र उत्पादन वृद्धिका लागि देशलाई औद्योगीकरणको आवश्यकता रहेको बताउनुभयो । त्यसो गर्न सकिएन भने नेपाल भिखमगुवाको देश हुने उहाँको भनाइ छ । नेकपा एमाले सुखी नेपाली र समृद्ध नेपालीको आकांक्षा लिएर अघि बढेको बताउँदै ओलीले त्यसका लागि ठिक नीति लिएर अघि बढ्नु पर्ने बताउनुभयो । सबै कुरा सबल भयो भने मात्र सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा पूरा हुने उहाँको भनाइ छ ।

देश जस्तोसुकै अवस्थाबाट पनि सामान्य अवस्थामा फर्कन सक्ने र उठ्नसक्ने गरी तयारी अवस्थामा रहनुपर्नेमा उहाँले जोड दिनुभयो । कुनै पनि बेला जस्तोसुकै विपत्ति आउनसक्ने बताउँदै सबै खाले विपत्तिसँग लड्न सक्ने क्षमता राख्नुपर्ने ओलीको भनाइ छ । सकार आफ्ना कमी कमजोरी नहेरी अरूलाई दोष दिनमा नै व्यस्त रहेको उहाँले बताउनुभयो । प्रतिशोधको राजनीतिले देश उभो लाग्न नसक्ने ओलीको भनाइ छ । व्यक्ति हेरीहेरी पक्राउ गर्ने र फसाउने षड्यन्त्रमा सरकार लागेको उहाँले बताउनुभयो ।

ओलीले प्रतिनिधिसभा सदस्य सुनिल शर्मालाई कस्तो प्रतिक्रिया आउँछ भनेर समातेको आरोप लगाउनुभयो । ‘कसैलाई पनि आरोप लगाउन सकिने भो, हतकडी लगाउन सकिने भो, पछि ए होइन रहेछ भनेर सोध्न सकिने भो’, उहाँले भन्नुभयो । सरकार विरोधीलाई तर्साउने र अत्याउने काममा लागेको उहाँले बताउनुभयो ‘यो नाङ्लो ठटाएर हात्ती तर्साएको हो, सुनिल शर्माको गिरफ्तारी’, उहाँले भन्नुभयो । सरकारकै योजनामा सुन आयात र तस्करी भएको बताउँदै ओलीले त्यसको छानविनको लागि उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने बताउनुभयो । सरकार सो तस्करीको अनुसन्धानलाई समिति बनाउन नदिन लागेको उहाँको भनाइ छ । ‘एयरपोर्टबाट यसरी आउँछ भने, अन्तबाट के भएको होला ?’, ओलीले प्रश्न गर्नुभयो । सरकारले छानविनको लागि अझै ३५ दिन मागेको बताउँदै त्यो सुन लुकाउने र व्यवस्थापन गर्ने समय मागेको ओलीले बताउनुभयो । सरकार बाटो होइन कुबाटोतिर लागेको ओलीले बताउनुभयो ।

यो सरकारले उद्योगी–व्यवसायीलाई सिध्याउने काम मात्र गर्‍यो : दुगड
नेकपा एमालेका नेता मोतीलाल दुगडले उद्योगी व्यवसायीहरूलाई टर्चर र उद्योग मास्ने काम भइरहेको आरोप लगाउनुभएको छ । बुधबार साँझ होटल ¥याडिसनमा नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था-समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै दुगडले आफ्ना समस्याहरूको बारेमा कुरा राख्नै नसक्ने कस्तो प्रजातन्त्र ल्याउनुभएको भनी सरकारलाई प्रश्न गर्नुभयो । ‘अब त अति भो, क्षति भो अब जागौँ आजबाट रणनीति बनाएर अघि बढाऔँ, उद्योगी व्यवसायीलाई टर्चर, उद्योग मास्ने काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘हामीले बोल्न सक्दैनौँ आफन कुरा राख्न सक्दैनौँ कस्तो प्रजातन्त्र ल्याउनुभएको ?’ निजी क्षेत्रलाई सिध्याउने, मनोबल गिराउने काम मात्र भएको उहाँले आरोप लगाउनुभयो । ‘काण्डैकाण्ड ल्याएर तर्साउने काम भएको छ । अहिले समृद्ध नेपाल सुखी नेपाली होइन, समृद्ध बालुवाटार, दुःखी नेपाली छ’, उहाँले भन्नुभयो । त्यस्तै, सरकारले ल्याएको बजेट अर्थतन्त्रको समस्या समाधान गर्ने गरी नआएको महँगी चर्काएको दुगडको टिप्पणी रहेको छ ।

उद्योगीलाई धम्क्याएर किडन्याप शैलीमा राजस्व उठाउने काम भएको छ र त्यो पनि बाटैमा हराएको उहाँले आरोप लगाउनुभयो । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्थिति बचाउन पनि आग्रह गर्नुभएको छ ‘ओलीजी तपाईंले कस्तालाई सुम्पिनुभो सत्ता आउनुहोस्, बचाउनुस्’, दुगडले आग्रह गर्नुभयो । त्यस्तै, दुगडले पछिल्ला घटना क्रमलाई केलाउँदै आफूहरू सबै जेल जान तयार रहेको तर देशलाई बचाउने बताउनुभयो । ‘हामी सबै जेल जान तयार छौँ तर देशलाई बचाउँछौँ’, उहाँले भन्नुभयोे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?