डा. हिमलाल घिमिरे विद्यार्थीकालका क्रान्तिकारी नेता हुन् । क्रान्तिकारी यस अर्थमा कि अहिलेको जस्तो बुझाइका क्रान्तिकारी होइनन् । हत्या, आतंक, चन्दा आतंक, लुटपाट आदि मच्चाएर क्रान्तिकारी बनेका होइनन् । हिमलाल त प्रजातन्त्रका लागि लडेका, जेलनेल भोगेका र प्रहरी एवं लोकतन्त्रविरोधी राजावादी र कम्युनिष्टहरूको पिटाइ खाएर खारिएका नागरिक स्वतन्त्रताको बिगुल फुकेर नथाक्ने क्रान्तिकारी विद्यार्थी नेता थिए । उनै घिमिरेले असन्तोषको चरम सीमा नाघेपछि केही अघि सामाजिक सञ्जालमा केही प्रश्न राखेका थिए, जसले मन नछुने नेता भनिएकाबाहेक शायद कोही पनि छैनन् होला ।
उनले बाल्यकालमा कुनै एक विद्यार्थीले उत्सुकताका साथ शिक्षकसँग सोधेको प्रश्नलाई आधार बनाएर वर्तमानलाई सम्बोधन हुने प्रश्न लेखेका थिए । बाल्यकालमा उनका एक साथीले शिक्षकलाई सोधेछन्-सर ! राजारानीले पनि भात खान्छन् ? दिसापिसाब गर्छन् ? यो प्रश्न सुनेर त्यतिबेला सबै गलल्ल हाँसेछन् । अहिले घिमिरे सोध्छन्-के नेपालका नेताले पनि भात खान्छन् ? उनीहरूलाई झुट बोल्न लाज लाग्छ कि लाग्दैन ? उनीहरूमा नैतिकता छ ? नेपालका नेताहरूमा मानवता छ ? परिवार उनीहरूको मात्र छ कि नागरिकको पनि ? पद, सत्ता र पैसा उनीहरूलाई मात्र चाहिने हो ? उनीहरूलाई कानुन लाग्दैन ? राम्रा मान्छेलाई यो देशमा बस्न नदिने हो ?
डा. घिमिरे विद्यार्थीकालका मात्रै नेता होइनन्, उनी अहिलेका प्राज्ञिक नेता पनि हुन् । अध्ययन अध्यापनमा ब्यस्त छन् र शिक्षण संस्थाहरूको नेतृत्व गर्दछन् । आफ्नो व्यक्तिगत जीवनमा असफल छैनन् र प्राज्ञिक उन्नयनमा निरन्तर सफलता हासिल गरिरहेका छन् र पनि उनले राखेका यस्ता प्रश्नहरूले उनको मनमा दन्केको असन्तोषको राँकोलाई प्रतिबिम्बित गर्दछ । आफ्नो सुखशयल र परिवारको आधारभूतभन्दा माथिको आवश्यकताहरू समेत परिपूर्ति गर्न सफल घिमिरेमा त यति नैराश्य छाएको छ भने नेपालको वर्तमान अवस्थाले दुई छाक खान र एकसरो लाउन नसकेका नागरिकहरूमा कस्तो भावना पैदा भइरहेको होला यसै अनुमान गर्न सकिन्छ ।
काठमाडौंमा घर भएका नेताहरूको घर कसरी बन्यो ? कसैले सोध्दैन । गाडी कहाँको कमाइले किनेको हो भनेर प्रश्न राख्ने हिम्मत कसैको छैन । नेपालकै सबैभन्दा महँगो स्कुल युलेन्समा तिम्रो नातिको शुल्क कसरी तिर्छौं भनेर कसैले भन्दैन ।
विसं २०४७ अघि पञ्चायत व्यवस्थाका समर्थकहरूलाई खुल्लमखुल्ला जे पनि गर्न छुट थियो भने प्रतिबन्धित रूपमा नेपाली कांग्रेस र कम्युनिष्टका विभिन्न घटकहरू देश र जनताका लागि भन्दै गाउँगाउँमा लुकीछिपी सक्रिय रहेका थिए । पञ्चायत व्यवस्था र त्यसका नेताहरूले नागरिकहरूको विश्वास गुमाउँदै गएका थिए भने प्रजातन्त्रवादी र कम्युनिष्ट नेताहरू लोकप्रिय हुँदै गएका थिए । यही मेसोमा जनताले राजनीतिक दलहरूका नेताहरूमाथि अगाध आस्था राखेर उनहरूलाई समर्थन गरे । जनआन्दोलन सफल भयो, देशमा प्रजातन्त्र आयो ।
प्रजातन्त्रप्राप्ति पछि जनताले जे सोचेका थिए, ठ्याक्कै त्यस्तै भएन । अभिव्यक्ति स्वतन्त्रतामा केही खुकुलो भएको महसुस गरियो । भौतिक पूर्वाधार र नागरिक सचेतनामा केही विकास पनि भयो । हुँदै नभएको चाहिँ होइन तर नेताहरूले क्रान्तिका बेला जसरी देश र जनतालाई अग्रभागमा राखेका थिए, प्रजातान्त्रिक शासन पद्धतिमा पनि त्यस्तै हुने अपेक्षा राखेका थिए तर परिणाम त्यसभन्दा बेग्लै देखियो । प्रजातान्त्रिक व्यवस्थाका नेताहरूले समेत पञ्चायतकालका शासकहरूले जस्तै पहिला आफू, दोस्रोमा आफ्नो परिवार, अनि नातेदार, त्यसपछि चाकरीदार र अनिमात्रै जनता भन्न थाले । नागरिकमा पैदा भएको असन्तोष र नैराश्यको ज्वाला यहीँबाट सुरु भएको हो । पञ्चायतकालका शासकहरूले त आफूलाई भन्दा पहिला राजालाई भन्नुपर्दथ्यो, प्रजातान्त्रिक नेताहरूलाई त त्यो बाध्यता पनि रहेन । आफैँबाट सुरु गर्दा हुने भयो ।
के नेपालका नेताले पनि भात खान्छन् ? डा.घिमिरेको प्रश्न अत्यन्त सान्दर्भिक छ । केही नेताहरूले त बाल्यकालदेखि नै भात खाएका थिए होलान् तर अधिकांश नेताहरूका भान्सामा न पहिला भात पाक्ने गर्दथ्यो, न अहिले नै पाक्ने गर्दछ । ए बा, खोले सेलायो, खान छिट्टै आऊ भनेर छोराछोरीले चिच्याएर बोलाउने गरेका नेताहरूका भान्सामा अहिले भातको सट्टा भुजा पाक्छ । सिस्नोको तरकारीको सट्टामा लोकल कुखुरा, जंगली बँदेल या कालिजको मासु पाक्ने गर्दछ । एकचोटि खोले खाने अवस्थामा रहेको मानिस सधैं खोले खाने नै हुनुपर्दछ भन्ने आशय होइन कि कुनै व्यवसाय, पेशा या आम्दानी हुने कर्म नगरी स्तर वृद्धि हुँदा भने प्रश्न उठ्ने नै रहेछ ।
पदमा पुग्नुअघिसम्म आफैँ सरहको हैसियत देखेका जनताले पदमा पुगेको छ महिना नबित्दै नेताहरूका घर आलिसान, गाडी सुविधासम्पन्न, खानपानमा चौरासी व्यञ्जन देखेपछि सजिलै चित्त बुझाउन नसक्ने रहेछन् । आफ्ना छोराछोरी गाउँकै स्कुलमा पढाउन बाध्य भएका जनताले आफैंले भोट हालेर जिताएका नेताहरूका छोराछोरी या नातिनातिनाको पढाइ खर्च मासिक रूपमै चालीस पचास हजारसम्म लाग्ने गरेको र त्यसलाई व्यवस्थापन गर्न सक्ने हैसियत नेताले बनाएको देखेपछि आमनागरिकको मन कुँडिनुलाई सामान्य नै मान्नुपर्दछ । भोट दिने जनताको हातमा अझै पनि उही टिकटिके मोबाइल हुनु र नेताका हातमा मात्रै होइन कि उनका घरका प्रत्येक सदस्यका हातमा महँगा टिकटके मोबाइल देखेपछि जनतामा आक्रोश पैदा हुनुलाई आश्चर्य मानिरहनु पर्दैन ।
काठमाडौंमा घर भएका नेताहरूको घर कसरी बन्यो ? कसैले सोध्दैन । गाडी कहाँको कमाइले किनेको हो भनेर प्रश्न राख्ने हिम्मत कसैको छैन । नेपालकै सबैभन्दा महँगो स्कुल युलेन्समा तिम्रो नातिको शुल्क कसरी तिर्छौ भनेर कसैले भन्दैन । तिम्रा छोराछोरीको राजकीय शैलीको जीवनशैलीलाई पुग्ने पैसाको व्यवस्थापन कसरी गर्दछौ भनेर कुनै नेतालाई कुनै निकाय, व्यक्ति या समूहले भन्ने आँट नै गर्दैन । बडाले जो ग¥यो काम हुन्छ त्यो सर्वसम्मत भने झैँ नेताहरूले गरेका हरकार्यहरू सर्वस्वीकृत जस्तै बन्दै गएका छन् । यस्तै प्रवृत्तिले प्रश्रय पाउँदै जाँदा अहिले त घिमिरे जस्ता एकादुई विद्वान्हरू मात्रै आक्रोशित बनेका छन्, भोलिका दिनमा थामिनसक्नु नहोला भन्न सकिँदैन ।
वर्तमान प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री हुनुअघिसम्म ठेकेदारले उपलब्ध गराएको आलिसान महलमा बस्ने गर्दथे । यदि त्यो घर भाडामा लिएका थिए भने त्यत्रो घरको भाडा तिर्ने स्रोत के हो भनेर कसैले सोधेन, होइन ठेकेदारले सित्तैमा दिएको हो भने किन दियो भनेर पनि चासो नलिने मुलुक नेपालबाहेक कुनै होला भन्ने लाग्दैन । यसै गरी अरू थुप्रै नेताहरू मासिक लाखौं भाडा तिर्नुपर्ने घरमा बसिरहेका देखिएको छ तर नेताको आर्थिक स्रोतका बारेमा आजसम्म कुनै निकायले छानबिन गर्ने तत्परता देखाएको पाइँदैन ।
ठूला भनिएका नेताहरू प्रत्येकले घरदेखि बाहेक सम्पर्क कार्यालय खोलेका छन् । सम्पर्क कार्यालयहरू पनि एक-दुईवटा साना कोठा भाडामा लिएर होइन कि भव्य महलहरूमा राखेका छन् । तीन-चारजना सहयोगी (पिए)हरू बोकेर दौडिन्छन् । घरमा पकाउनेदेखि अन्य काम गर्नेहरूको लर्कोको त कुरै गर्नुपरेन । हुन त राणाहरू पनि जनताकै सम्पत्ति लुटेर धनी भएका हुन् र पनि पुराना कुराले मान्यता पाइसकेका हुँदा पशुपतिशमशेर जस्ता नेताहरूले यस्तो व्यवस्था गर्दा कसैले आश्चर्य मान्दैन तर दश वर्षअघिसम्म के खाऊँ र के लाऊँ भएका नेताहरूमा आएका आश्चर्यजनक परिवर्तनहरूले भने जनतामा निराशाबाहेक केही पैदा गर्न सक्दैन ।
माओवादी नेताहरूमा पनि कृष्णबहादुर महरा पटक-पटक विवादमा आउने नेतामा परेका छन् । अरू नेताहरूका बारेमा चर्चा चले पनि केही समयमै सामसुम पारिन्छ तर महराले भने मुक्ति पाउन निकै पापड बेल्नुपर्ने गरेको छ ।
रवि लामिछानेका बारेमा प्रश्न उठाउनुलाई त अहिलेको युवापुस्ताको एउटा समूहले अपराधै ठान्दछ र पनि मनमा लागेपछि प्रश्न गर्नै पर्दछ । महिलाहरूका लागि निःशुल्क बस चलाउनु समाजसेवा हो र यस्तो कार्य सक्षम नेताहरूबाट हुनैपर्दछ । गरिबगुरुवाका लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्नु पनि उत्कृष्ट कार्य हो तर राम्रा काम गर्नका लागि पनि आर्थिक स्रोतको जोहो राम्रै तरिकाले गर्नुपर्दछ । भोलि जनताले खोज्दा यी कामका लागि पैसा कहाँबाट आयो भन्ने रवि लामिछानेले भन्न सक्नैपर्दछ । अवैध रूपमा वाकीटकी बोकेका रास्वपाका युवाहरू देखिए झैँ यो कार्य अपारदर्शी हुन भने पाउँदैन ।
यस्ता नेताहरू सयौँ छन् र पनि चोखै छन् । नेपालमा केही नेताहरू मात्रै अभागी देखिए । कांग्रेसका हस्ती भनिएका नेताहरू बढी संख्यामा मुछिएका छन् भने अन्य दलका केहीमात्रै । कांग्रेसका हस्ती भनिएका चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी र खुमबहादुर खड्काहरू मात्रै डामिए । उनीहरूभन्दा चर्का अन्य दलका अरू नेताहरू दूधले धोए जत्तिकै भएर बस्ने सौभाग्य पाइरहेका छन् । जेपी गुप्ता पनि कांग्रेसमै छँदा पोलिए । यिनीहरूभन्दा बढी चर्चा पाएका अन्य दलका नेताहरू किन पर्दैनन् भन्ने चाहिँ आश्चर्यकै विषय बनेको छ ।
माओवादी नेताहरूमा पनि कृष्णबहादुर महरा पटकपटक विवादमा आउने नेतामा परेका छन् । अरू नेताहरूका बारेमा चर्चा चले पनि केही समयमै सामसुम पारिन्छ तर महराले भने मुक्ति पाउन निकै पापड बेल्नुपर्ने गरेको छ । चिनियाँहरूसँग चुनाव जित्नका लागि पचास करोड मागेको उनको पहिलो चर्चित अडियो प्रकरण थियो । त्यसपछि काठमाडौंको तीनकुनेमा घटेको घटनाबाट सफाइ पाउन त अदालतमै पुग्नुपर्यो । अन्य नेताहरूको तुलनामा महरालाई साढे सातीको दशाले नमज्जैसँग घेरेजस्तै देखिन्छ ।
अहिले पनि चिनियाँ तस्करलाई फलफूल व्यापारीका रूपमा मात्रै चिनेको हुँ भनेर महरा भनिरहेका छन् तर मान्छेहरूले सहजै पत्याएका छैनन् । उनले पटकपटक त्यो व्यापारीलाई फोन गरेर कहिले स्याउ त कहिले केरा ल्याइदिनु भनेका हुन सक्छन् तर उनीहरूका बीचमा भएको सम्वादलाई सुन तस्करीसँगै जोडेर फसाउने प्रयास भइरहेको छ । उता जग्गा फिर्ता गरेपछि विष्णु पौडेल चोखिए भने यता कांग्रेसका बालकृष्ण खाँण भने भ्रष्टाचारको आरोपमा हिरासतमा बस्न बाध्य भएका छन् । उस्तै आचरण, समान व्यवहार र एउटै खाले प्रगति भए पनि केही नेताहरू सदाचारीको खोल ओढ्न सफल भएका छन् भने केहीमात्रै अभागी देखिएका छन् ।
तर, जनताले कुन नेता भाग्यमानी, कुन अभागी भनेर सोचिरहने होइन । कर्मको फल सबै नेताले भोग्नै पर्दछ । अब नागरिकहरू तात्न ढिलो गर्न हुँदैन । भ्रष्टाचारीहरूको नकाब उतार्न पछि पर्नु हुँदैहुँदैन । आफ्नो नातेदार होस् या पार्टीको, भ्रष्टाचारी भनेको पूरै देशकै शत्रु हो । बोरामा एउटा आलु कुहियो भने सबै आलुलाई बिगार्छ भने झैँ एउटै भ्रष्टाचारी बाँकी रहे पनि अरूलाई सहज आम्दानीको बाटो सिकाउन थालिहाल्छ । त्यसैले आमनागरिक सचेत भएर भ्रष्टाचार र भ्रष्टाचारीहरूका विरुद्ध डा.घिमिरेले झैँ प्रश्न उठाउने अभियान चलाउन अत्यन्त जरुरी भइसकेको छ ।
“आफ्ना छोराछोरी गाउँकै स्कुलमा पढाउन बाध्य भएका जनताले आफैंले भोट हालेर जिताएका नेताहरूका छोराछोरी या नातिनातिनाको पढाइ खर्च मासिक रूपमै चालीस पचास हजारसम्म लाग्ने गरेको र त्यसलाई व्यवस्थापन गर्न सक्ने हैसियत नेताले बनाएको देखेपछि आमनागरिकको मन कुँडिनुलाई सामान्य नै मान्नुपर्दछ । भोट दिने जनताको हातमा अझै पनि उही टिकटिके मोबाइल हुनु र नेताका हातमा मात्रै होइन कि उनका घरका प्रत्येक सदस्यका हातमा महँगा टिकटके मोबाइल देखेपछि जनतामा आक्रोश पैदा हुनुलाई आश्चर्य मानिरहनु पर्दैन ।”
यस्तै यस्ता विषयहरुलाई उठान गरेर लेखकले कलमको धर्म राम्रोसँग निर्वाह गरेको अनुभूति भयो ।कलमलाई सलाम ।लेखकलाई बधाई ।
हार्दिक धन्यवाद सर