बागेश्वरबाबाद्वारा पशुपतिनाथ मन्दिरमा आज सवा करोड दीप प्रज्ज्वलन गर्ने

भोलिदेखि शास्वतधाममा शुरु हुने हनुमान कथा प्रवचनको सम्पूर्ण तयारी पूरा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । पूर्वी नवलपरासीको दुम्कौलीस्थित शास्वतधाममा भोलिदेखि शुरु हुने हनुमान कथा प्रवचनका लागि आज काठमाण्डौ आइपुग्नु भएका भारतस्थित बागेश्वरधामका आचार्य धीरेन्द्र कृष्ण शास्त्रीले आज साँझ ४ बजे पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाका अनुसार ४ बजे पशुपतिनाथ दर्शनकालागि आउने शास्त्रीलाई कोषले भब्य स्वागत गर्ने छ । पशुपतिनाथ मन्दिर दर्शन पछि शास्त्रीले सवा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम छ। यो उहाँको इच्छा अनुसार गर्न लागिएको हो । त्यसपछि साँझ पशुपतिको आरती दर्शन गर्ने कार्यक्रम तय भएको छ । आजै साँझ साढे ६ बजेदेखि साँढे ७ बजेसम्म मन्दिर परिसरमा हुने आरतीमा शास्त्री सहभागि हुनु हुनेछ ।

त्यहाँ उहाँले हनुमान कथा प्रबचन दिने भनेर यस अघि प्रचार गरिएपनि त्यस्तो कार्यक्रम तय भएको छैन । उहाँ पूजा र आरतीमा मात्र सहभागि हुने खतिवडाको भनाई छ ।

बागेश्वर धामका संरक्षक र बागेश्वर बाबा भनेर चिनिने धिरेन्द्र कृष्ण शास्त्री आज बिहान एअर इन्डियाको जहाजवाट काठमाण्डौ आउनु भएको हो । पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको नेपालका चर्चित उद्योगपति बिनोद चौधरीको निजि मन्दिरमा हनुमान कथा प्रबचनका लागि नेपाल आउनुभएको हो ।

शनिवारदेखि सोमवार दिउँसो ४ बजेसम्म उहाँले त्यहा हनुमान कथा प्रबचन गर्ने चौधरी ग्रुपले जनाएको छ ।

आज बिहान दिल्लीबाट काठमाण्डौ आइपुगेको शास्त्रीलाई चौधरी ग्रुपका निर्देशक बरुण चौधरी लगायतले एअरपोर्टमा स्वागत गर्नुभएको थियो ।

हिन्दु अतिवादी चरीत्रका भनेर विवादमा आइरहने शास्त्रीले ललितपुर स्थित चौधरी ग्रुपकै होटल भिवान्तमा शुक्रवार रात बिताउनु हुनेछ ।

शनिवार काठमाण्डौबाट भरतपुर बिमानस्थल हुँदै पूर्वी नवलपरासीको दुम्कौली स्थित बिनोद चौधरीको निजि मन्दिर शास्वतधाममा शास्त्रीलाई ल्याइने भएको छ । उहाँले त्यहा लगातार ३ दिन सम्म हनुमान कथा वाचन गर्ने कार्यक्रम रहेको चौधरी ग्रुपले जनाइको छ ।

शास्वतधाममा शास्त्रीको कथा सुन्न भन्दै सर्वसाधारणलाई चौधरी ग्रुपले पास उपलब्ध गराएको छ । तीन दिनसम्म दैनिक करिब ११ हजार भन्दा धेरैले कथा सुन्ने ब्यबस्था मिलाइएको छ । शास्वतधाममा सबै तैयारी पूरा भएको छ ।

दुम्कौलीस्थित शास्वतधाम हिन्दु धर्मका सबै देवी देवताको एकै थलोमा पुजा गर्न सकिने मन्दिर भनेर चिनिन्छ । यहा संस्कृत गुरुकुल समेत संचालित छ । त्यहा कक्षा ६, ७ र ८ सम्म संस्कृतमा समेत पढाइ हुन्छ ।

शास्वतधाम मन्दीरको प्रचारकालागि भन्दै चौधरी ग्रपले बिवादस्पद छविका शास्त्रीलाई आमन्त्रण गरेका हो । उहाँ मन्दिर परिसरमा रहेको मिराया होटलमा बस्ने तय भएको छ । आउँदो सोमवार उहाँ चितवनको मेघौली स्थित होटल ताज शेराइमा रहने र भोलिपल्ट काठमाण्डौ हुँदै राति दिल्ली जाने कार्यक्रम तय भएको छ ।

शास्त्रीसंग करिब २५ जनाको टोली छ । भारतमा बागेश्वारधाम बाबा भनेर चिनिने शास्त्रीले कथित तल्लो तहका अछुतहरुलाई धार्मिक आडम्बरका आडमा हेप्ने गरेको भन्दै कतिपयले आलोचना गर्दै आएका छन् ।

दुम्कौलीमा आवश्यक सबै सुरक्षा ब्यबस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्यबिनोद चौधरीको निजि मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलो पटक नेपाल आउनु भएको हो ।

शास्वतधाममा हुने कथा प्रबचनको प्रत्यक्ष प्रशारणकालागि ८ वटा भारतीय टेलिभिजन च्यानलका प्रतिनिधि शुक्रवार नवलपरासी आइपुगेका छन् । शास्वतधाम वास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणिय र आर्कषक शैलीको हिन्दु मन्दिर हो । शास्त्रीले भारत र नेपाल हिन्दु धर्म अबलम्बन गर्नु पर्ने आवस्यकता रहेको भन्दै आउनु भएको छ । उहाँको कथा सुन्नका लागि शास्वतधामले अनलाइन पासको ब्यवस्था गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?