कोरिया छोडेर खोरियामा कर्म : वार्षिक लाखौँ आम्दानी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । रोजगारीका लागि इपिएस भीषामा कोरिया जानुभएका गम बहादुर कुँवरले कोरियामा बाख्रापालन गरेको देखेर आफ्नो गाउँ सम्झनुभयो । कोरीयामा पाँच वर्ष विताउनुभएका कुँवरले बाख्रापालनको संभावना आफ्नै क्षेत्रमा रहेको बताउदै कोरीयाबाट फर्केर बाख्रापालन थाल्नुभएको थियो ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका-१ दुदिलाभाटीको ज्यामिरे गाउँका कुँवरले गाउँहरु बसाईसराईले रिक्तिनेक्रम जारी रहेकै समयमा उहाँले भने पहाडी क्षेत्रकै नमूना बाख्रा फर्म सञ्चालन गरेर मनग्य आम्दानी मात्रै गर्नुभएको छैन अध्ययन, अवलोकनका लागि विभिन्न मानिसहरु समेत भित्राइरहनुभएको छ ।

“ज्यमिरे गाउँमा ८० घर छन् तर ४० घरमा मानिस बस्दैनन् धेरैले गाउँ छोडेर खेतबारी बाँझै छोडेर गए, मलाई त्यही बाँझोबारीले बाख्रापालन गर्न सघाएको छ” कुँवरले भन्नुभयो “४०० रोपनी जग्गा आफ्नै छ, गाउँलेहरुको खेतबारी र वनको एक हजार २०० रोपनी जग्गाको घाँस काट्छु, घाँसमा आधारित भएर बाख्रापालन गर्दा आधा नाफा हुँदो रहेछ, गत वर्ष ९० लाखको बोका, बाख्रा र पाठापाठी विक्रि गरे, ४५ लाख नाफै भयो, बसाईसराईले उजाडिएको ज्यामिरे गाउँ हरियाली भएको छ, चार/पाँच वटा घर त मैले फर्मकै लागि प्रयोग गर्दै आएको छु ।”

२०७४ सालमा १० वटा बाख्राबाट कुँवरले शुरु गरेको बाख्रापालन अहिले पहाडी जिल्लामै नमुना बाख्राफर्मको रुपमा लिइएको छ । उहाँको साहारा बाख्राफर्ममा अहिले ४०० बोका, बाख्रा र पाठापाठीहरु रहेका छन् । ८ वटा ब्लकमा छुट्टा छुट्टै आधुनिक बाख्राको खोर रहेको बताउदै कुँवरले अहिले १६० वटा माउ मात्रै बएने रहेको जानकारी दिनुभयो । खत्रीले दुई वटा आधुनिक खोरमा ब्याउने बाख्रा, केही घरमा पाठापाठी सहितका बाख्रा, तीन वटा खोरमा पाठापाठी र तीन वटा खोरमा बिक्रिका लागि तयारी बोकाहरु राखिएको कुँवरले जानकारी दिनुभयो । अहिले ५० बोका विक्रिका लागि तयारी हुन लागेको कुँवरको भनाई छ ।

कुँवरकै नेतृत्वमा गलकोट नगरपालिकाका ११ वटा वडा समेटिएको बाख्रा पकेट क्षेत्र समेत घोषणा गरिएको छ । गत वर्षनै ३१ वटा बाख्रा फर्मका लागि खोर सुधार योजना अन्र्तगत एक/एक लाखका दरले अनुदान प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत वितरण गरिएको छ । यो वर्ष भने बोका विक्रि थोरै हुने भन्दै खत्रीले ६० बाख्राहरुको एकै साथ गर्भ तुइएकाले समस्या भएको सुनाउनुभयो ।

“यो वर्ष जम्मा ७ लाखको बोका बाख्रा विक्रि गरे, यो वर्ष समग्रमा ४० लाखको कारोबार गर्न मुस्किल छ, किसानलाई यस्तो समयमा फर्म धान्नै समस्या हुन्छ, ६० वटा बाख्राको गर्भ नतुइएको भए अहिले ५०० बढी बाख्रा-पाठा हुन्थे” उहाँले भन्नुभयो-“अहिले निकै अनुभव भइसक्यो, हटियाको मासुपसल बन्द गरेर अहिले घरमै मासु पसल सञ्चालनमा ल्याएको छु, १० केजी भन्दा माथी खसी तथा बोकाको मासु अर्डर भएमा घरमै पुर्‍याइदिन्छु, दाना खरिद गर्न, बोकाको बजारीकरण गर्न र घाँस बोक्नको लागि आफ्नै पीकअप जीप संगै १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छु ।”

उहाँले बाख्रापलन व्यवसायसंगै कामदार परिचालन गरेर एक हजार कागतीका बिरुवा, २६१ ओखर र ४० सुन्तलाका विरुवा यो वर्ष नै रोपेको बताउनुभयो । कुँवरले ४० रोपनी जग्गामा मात्रै खुर्सानी खेति गर्दै आएको सुनाउनुभयो । १० जना कामदारहरुले घाँस काट्ने देखि मासुको बजारीकरण गर्दै आएको र वचत भएको समयमा कागती, सुन्तला बगैचा र खुर्सानीखेतिको काम गर्दै आएका छन् । कुवँरले १५ देखि २० हजारका दरले मासिक तलब दिएर स्थानीय १० जना युवाहरुलाई बाख्रा फर्ममा प्रतयक्ष रोजगारी दिदै आउनुभएको छ ।

कुँवरले यो फर्म विस्तार भएर अहिलेको अवस्थामा आउनुमा नेपाल सरकारको ब्याजमा अनुदान सहितको ऋणको ठूलो भूमिका रहेको बताउनुभयो । “एक करोड जम्मा तीन प्रतिशत व्याजमा ऋण लिएको थिए, अहिले मासिक एक लाख ५३ हजार किस्ता तिर्छु” कुँवरले भन्नुभयो “फर्म विस्तारको आधार यही व्याज अनुदानको ऋण बन्यो, अहिले ऋण समेत आधा घटाइसकेको छु ।”

कुँवरका भाई विष्णु कुँवरसमेत कोरियाबाट फर्केर बाख्रापालनमा सघाए पनि अहिले लोकसेवा तयारीको लागि काठमाण्डौमा हुनुहुन्छ । कुँवरले आफ्नो फर्मलाई फार्मस्टेको रुपमा विस्तार गर्ने लक्ष्य लिनुभएको छ । पर्यटकहरुलाई आफ्नै फर्मको तयारी खसी तथा बोकाको मासु खुवाइदै त्यही बास बसाउनेगरी फार्मस्टे बनाउने तयारीमा आफू रहेको बताउनुभयो । बसाइसराईले उजाडिएको गाउँमा कुँवरले भने पर्यटकहरु ल्याएर गुल्जार बनाउने लक्ष्य लिनुभएको छ ।

कुनै रोग व्यादी नभए आफ्नो फर्मबाट वार्षिक एक करोडको कारोबार हुँने कुँवरको लक्ष्य अनुसार फर्म सञ्चालित भइरहेको छ । उक्त बाख्रा फर्म पहाडी जिल्लाको ठूलो र नमुना बाख्रा फर्म मध्येमा पर्ने भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

बोयर तथा खरी प्रजातीको क्रस गरिएका बोकाको मासु राम्रो भएकाले उक्त प्रजातीका बोकाको मासुको माग उच्च हरने र अहिले सम्म बजारको कुनै चिन्ता नरहेको बताउनुभयो । फर्ममा हाल सम्म रु. पाँच करोड लगानी भइसकेको छ । फर्मको खोर मात्रै ६ रोपनी जग्गामा फैलिएको छ । पाँच सय भन्दा बढी बाख्रा पाल्न खोर तथा घाँसको समस्या नहुँने गरी फर्मको संरचना र घाँसको व्यवस्थापन भएको कुँवरको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?