जनताको प्रश्न ‘संसद्प्रति एमाले सधैं ‘अनुदार’ किन ?’

हिमालय टाइम्स
Read Time = 7 mins

✍️ रामचन्द्र रायमाझी

प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ । सत्तामा हुँदै पनि संसद्प्रति अनुदार देखिएको एमाले सत्ताबाहिर हुँदा निरन्तर त्यसविरुद्ध उभिँदै आएको छ । उसले संसद्लाई जनताका समस्या उठाउने र समाधान खोज्ने थलोभन्दा आफ्नो स्वार्थ पूरा गर्न त्यसलाई प्रयोग गर्दै आएको छ । आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न प्रधानमन्त्री, मन्त्रीहरूको राजीनामा माग्ने र संसद् अवरुद्ध गर्ने एमालेको नियमित कार्यजस्तै बनेको छ । पछिल्लो केही दिनयता सुन तस्करीको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्नैपर्ने अडान राख्दै एमालेले प्रतिनिधिसभा चल्न दिएको छैन् । साउन १० मा उच्चस्तरीय छानविन माग्दै प्रतिनिधिसभाको बेलमा गएको एमाले आफ्नो माग पूरा नभई संसद् चल्न आवश्यक ठानेन ।

मुलुकमा आर्थिक मन्दीले आमनागरिक प्रताडित भइरहेका छन् । त्यतिमात्र होइन, लम्पी स्किन र डेंगी जस्ता महामारीका कारण जनता समस्यामा छन् । यस्तो अवस्थामा सार्वभौम संसद्को प्रमुख प्रतिपक्षीले भने सदनलाई बन्धक बनाएको छ । सरकारसँग जवाफ माग्ने जिम्मेवारी पाएको प्रतिपक्षीले नै संसद् अवरुद्ध गरिदिएपछि सरकारलाई पनि हाइसञ्चो त भएको छ, तर जनताका आममुद्दा भने ओझेल परेका छन् । एमालेले संसद्लाई बन्धक बनाएर जनताको आवाज अवरुद्ध पारेको पाल्पाका होटल व्यवसायी जीवलाल सुवेदी बताउनुहुन्छ ।

एमालेले साउन १० गते यता लगातार संसद् अवरुद्ध गर्दै आएको छ । साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसको छानविन सुरुमा राजस्व अनुसन्धान विभागले नै गरेको थियो भने पछि सिआइबीले गरिरहेको छ ।

एमालेले संसद्लाई बन्धक बनाएर एकातिर जनताको आवाज अवरुद्ध पारेको र अर्कोतिर संसदीय व्यवस्थालाई नै कमजोर पार्ने प्रयास गरिरहेको उहाँको भनाइ छ । सुवेदीले भन्नुहुन्छ, ‘जनताको आवाजलाई सशक्त ढंगले सदनबाट उठाउनुपर्ने प्रतिपक्ष दल नै सधैं किन अनुदार देखिएको हो ?’ जब-जब जनतामा समस्या पर्छ, तब एमालेले कुनै न कुनै बाहना बनाएर संसद् अवरोध गर्ने गरेको उहाँले बताउनुभयो । ‘जनता महँगीले समस्यामा छन्, आर्थिक मन्दी छ, विभिन्न महामारीबाट जनता आजित छन् यस्तो अवस्थामा सरकार र प्रतिपक्ष भने स्वार्थको लडाइँ लडिरहेका छन्’, तानसेन भगवती टोलका देवेन्द्रबहादुर रायमाझीले भन्नुहुन्छ । उहाँ एमालेले सधैं ससद्लाई नै किन तारो बनाइरहेको होला ? भन्दै प्रतिप्रश्न गर्नुहुन्छ ।

एमालेको निरन्तर अवरोधका कारण आमजनताका जल्दाबल्दा विषयमा छलफल र नियमित कार्यसूचीमा संसद् प्रवेश गर्न सकेका छैनन् । २६ गते शुक्रबार दिउँसो १ बजे सुरु भएको बैठकमा नेकपा एमाले सांसदहरूले अवरोध गरेपछि बैठक साउन २९ गते सोमबारसम्मका लागि स्थगित भएको थियो । बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिनुभएको थियो । उहाँ बोलिरहँदा एमाले सांसदहरू सिटबाट उठेर विरोध गर्दै अवरोध गरेका थिए ।

सभामुख घिमिरेले बैठकका नियमित कामकारबाही अघि बढाउन सांसदसँग आग्रह गरेका थिए, तर पनि विरोध जनाइरहे । एमाले सांसदहरूले राष्ट्रियसभा बैठक पनि अवरोध गरेका थिए । बैठकको प्रारम्भमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समसामयिक विषयमा कुरा राख्न दलीय आधारमा सांसदलाई समय दिए पनि एमाले सांसदहरूको अवरोधपछि बैठक स्थगित भएको थियोे । राष्ट्रियसभाको अर्को बैठक साउन ३१ गते १ बजे बस्ने भनिएको छ ।

एमालेले साउन १० गते यता लगातार संसद् अवरुद्ध गर्दै आएको छ । साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसको छानविन सुरुमा राजस्व अनुसन्धान विभागले नै गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको छ । एमालेले उक्त सुन तस्करीको छानविन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न संसद् अवरोध गरेर दबाब दिइरहेको छ ।

२०७४ को निर्वाचनपछि गठन भएको प्रतिनिधिसभा आफ्नै पार्टीको प्रचण्ड बहुमत हुँदाहुँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीले रहस्यमय रूपमा दुई-दुई पटक विघटन गर्नुभयो । दुई पटककै विघटनलाई बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरे पनि एमालेका कारण संसद् सुचारु हुन सकेन । दुईपटक असंवैधानिक ढंगबाट सरकारको नेतृत्व गरेको एमालेले सर्वोच्च अदालतले दुवै पटक बदर गरेपछि सत्ताच्युत भएको थियो । ऊ त्यसयता पनि संसद्लाई सुचारु गर्न सकारात्मक देखिएन् । विभिन्न बाहना बनाउँदै एमालेले संसद् अवरोध गर्दै आइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?