एकीकृत समाजवादीले महाधिवेशनको मिति र स्थान तय गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ ।

ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय संगठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन ।

पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा संगठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको टुंगो लगाइने महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही भदौ ७ गतेसम्म चल्ने बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै संगठनको पुनःगठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल गरिने छ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन बैठकमा छलफलका लागि पेस गर्नु हुनेछ ।

ती दुवै प्रतिवेदनमा आवश्यक सुझावसहित परिमार्जन गरिने छ । समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा देखिएका चुनौती तथा सम्भावनाबारे समेत बैठकमा बहस हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?