डब्लूएचओकाे क्षेत्रिय निर्देशकका उम्मेदवार आचार्यको लबिङमा स्वास्थ्यमन्त्री बस्नेत

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बन्नुभएका डा. शम्भु आचार्यका पक्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत देखिनुभएको छ ।

उहाँले भारत भ्रमणका बेला माल्दिभ्स, भारत, म्यान्मार, भुटान, श्रीलंका, थाइल्याण्ड, कोरिया लगायतका देशका स्वास्थ्य मन्त्रीहरूसँग आचार्यका पक्षमा लबिङ गर्नुभएको हो । डब्लूएचओका तीन वटा महत्वपूर्ण कार्यक्रममा भाग लिन भारतको गुजरात जानुभएका मन्त्री बस्नेतले त्यहाँ बस्दा नेपाल सरकारले डब्लूएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशकको उम्मेदवार जनस्वास्थ्य विज्ञ डा. आचार्यको पक्षमा मत दिन आग्रह गर्दै लबिङ गर्नुभएकाे थियो ।

एक साता लामो भारत भ्रमण सकेर सोमबार स्वदेश फर्कनुभएका स्वास्थ्य मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आफूले नेपाल सरकारको तर्फबाट डा.आचार्यको पक्षमा मत मागेको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘डा. आचार्यको उम्मेदवारी हामी सबै नेपालीका लागि प्रतिष्ठाको बिषय हो । मैले भारतमा बस्दा डब्लूएचओ ‘सेरो’ देशहरूका स्वास्थ्य मन्त्रीहरूलाई भेटेर नेपालको उम्मेदवारीको बिषयमा कुराकानी गरेर मत मागेको छु । सबै पक्षबाट सकारात्मक प्रतिकृया पाएको छु ।’

लामो समय विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा बसेर निर्देशकको रुपमा काम गरिसक्नुभएका डा।आचार्य आउँदो महिना हुने डब्लूएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशक निर्वाचित भए नेपालको स्वास्थ्यमा दूरगामी प्रभाव पर्ने बताउदै मन्त्री बस्नेतले यस बिषयमा नेपाल सरकारले अझै प्रयास जारी राख्नेमा जोड दिनुभयो । डब्लूएचओ ‘सेरो’ मा दक्षिण पूर्वी एशिया क्षेत्रका ११ वटा देश पर्छन् । क्षेत्रीय निर्देशकमा विजयी हुनका लागि ६ मत आवश्यक पर्छ ।

डब्लूएचओ ‘सेरो’का सदस्य देशहरूमा नेपालसहित भारत, बंगालादेश, भुटान, श्रीलंका, थाइल्याण्ड, टिमोर लेस्टे, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार र दक्षिण कोरिया सदस्य छन् । डा।आचार्यसँगै बंगालादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदकी पुत्री सैमा वाजेद पनि उम्मेदवार हुनुहुन्छ । दुई कार्यकाल भारतकी डा।पूनम क्षेत्रपालले क्षेत्रिय निर्देशक भएर आउँदो महिना कार्यकाल सकिन लागेको छ । डब्लूएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशको चयन आउँदो अक्टुबरको अन्तिम हप्ता हुने छ ।

मन्त्री बस्नेतले भारतमा रहँदा डब्लूएचओ ‘सेरो’ देशहरूको स्वास्थ्य मन्त्रीहरूको बैठकमा सहभागी भएर क्षयरोग अन्त्यको लागि नेपालको तर्फबाट मन्तव्य राख्दै उच्चस्तरीय राजनीतिक प्रतिवद्धता जनाउनुभएको थियो । त्यसैगरि मन्त्री बस्नेतले डब्लुएचओको प्राकृतिक चिकित्सा सम्बन्धी ग्लोबल समिटमा भाग लिएर त्यसको प्लेनरी सेसनमा नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो ।

यसका साथै स्वास्थ्यमन्त्री बस्नेतले वान हेल्थ, वान अर्थ नामक फर्मा एक्स्पोको अवलोकन समेत गर्नुभएको थियो। आफूले गुजरातमा बस्दा भारतका समकक्षी डा। मनसुख मांडविया र त्यहाका स्वास्थ्य सचिवसँग दुई पक्षिय वार्ता गरेर नेपालको स्वास्थ्य क्षेत्र सुधारका पक्षमा सहयोग मागेको मन्त्री बस्नेतले जानकारी दिनुभयो । जिपी कोइराला स्वासप्रस्वास केन्द्रको संरचना र सेवा विस्तार, वीरगञ्जको नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भारतीय प्राध्यापहरूबाट अध्यापन गराउन र आयुर्वेद चिकित्साको क्षेत्रमा नयाँ प्रविधिको बारेमा सहकार्यका बारेमा सहयोग मागेको उहाँले जानकारी दिनुभयो । यसका साथै भारतको आयूष मन्त्रालयका राज्यमन्त्री र अधिकारीहरुसँग आयुर्बेद क्षेत्रको विकासका लागि छलफल भएको र भारत सरकारले सहयोगको आश्वासन दिएको मन्त्री बस्नेतले बताउनुभयो ।

मन्त्री बस्नेतसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र, स्वास्थ्य मन्त्रीका सल्लाहकार विश्वरुप खड्का, स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्य, आयुर्वेद विभागका महानिर्देशक डा। वाशुदेव उपाध्याय सहितको टोलीले सहभागिता जनाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?