प्रधानमन्त्रीसहित गठबन्धनका नेताद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, अदालतले रोक नलगाएकाले निर्माण हुनेमा विश्वस्त रहन आग्रह

हिमालय टाइम्स
Read Time = 15 mins

संजीवकुमार मिश्रा/हिटा
बारा । बाराको निजगढमा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ पाँच दलीय गठबन्धनका शीर्ष नेताले विमानस्थलको निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री देउवासहित सत्तारूढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले शनिबार बाराको निजगढमा निर्माणाधीन बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको हो ।

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता र मन्त्रीहरूले शनिबार बिहान निजगढ पुगेर निर्माणाधीन निजगढ विमानस्थलको निरीक्षण गर्नुका साथै कार्यप्रगतिको पनि जानकारी लिनुभयो । शीर्ष नेताहरूसँगै अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, वनमन्त्री रामसहायप्रसाद यादव र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले पनि निर्माणाधीन विमानस्थलको निरीक्षण गर्नुभएको थियो । सर्वोच्च अदालतको पूर्ण पाठले निजगढमा विमानस्थल बन्न रोक नलगाएको निष्कर्ष निकालेपछि शीर्ष नेतासहित विभागीय मन्त्रीहरूले संयुक्त रूपमा पहिलोपटक निर्माणक्षेत्रको भ्रमण गर्नुभएको हो ।

शीर्ष नेताहरूको टोलीलाई विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादवले ब्रिफिङ गर्नुभएको थियो । त्यसअघि शीर्ष नेताले विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गर्नुका साथै निर्माण कार्यको प्रगतिबारे जानकारी लिनुभएको थियो । निर्माणाधीन विमानस्थलको निरीक्षण र आयोजना प्रमुखको ब्रिफिङपछि उहाँहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ ।

दुईवटा रनवे सहितको सुविधासम्पन्न विमानस्थल बनाउँछौँ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताउनुभयो । शनिबार निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणस्थलको निरीक्षणपछि प्रधानमन्त्री देउवाले भन्नुभयो,‘सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै साँचो छ । दुईटा रनवेसहित विमानस्थल बनाउँछौं । त्यसका लागि विज्ञसँग छलफल गरिरहेका छौं । कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं ।’

दुई धावनमार्गसहितको विमानस्थल बनाउन निर्देशन
निरीक्षण र कार्य प्रगतिको जानकारी लिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग (रनवे) सहितको विमानस्थल निर्माण गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री देउवासहित सत्तारूढ दलका शीर्ष नेताहरूको टोलीले निजगढ विमानस्थलको शनिबार स्थलगत निरीक्षणपछि दुई धावनमार्गसहितको विमानस्थल निर्माण गर्न निर्देशन दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेताहरूले विमानस्थल बनाउनुपर्नेमा जोड दिएको अधिकारीले बताउनुभयो । प्रधानमन्त्री देउवासहित गठवन्धनका शीर्ष नेता र मन्त्रीहरूले विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे पनि जानकारी लिनुभएको प्राधिकरणका महानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

निजगढ विमानस्थल गेम चेन्जर ड्रिम प्रोजेक्ट हो : प्रचण्ड
पूर्व-प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको अर्थतन्त्रलाई गुणात्मक परिवर्तन ल्याउने योजना भएको बताउनुभयो । निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि छुट्याइएको क्षेत्रको प्रधानमन्त्री देउवासँगै निरीक्षण गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘निजगढमा एयरपोर्टको सम्बन्ध फास्ट ट्रयाक (काठमाडौं–मधेस द्रुमार्ग) सँग पनि छ । यो विमानस्थल निर्माण नहुने हो भने अर्बौं लगानी गरेको फास्ट ट्रयाकको औचित्य हुने छैन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको योजना गेम चेन्जर ड्रिम प्रोजेक्ट हो, यो अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सक्ने योजना हो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि धेरै छलफल र अध्ययनपछि छनोट गरिएको हो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तीन अर्ब लगानी भइसकेको छ । प्रधानमन्त्रीले दुईटा रनवेको बनाउने गरी गो अहेड भनिसक्नु भएको छ । हामी सबैले समर्थन गरिक्यौँ ।’

अदालतले विमानस्थल निर्माणमा रोक लगाएको छैन : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतको फैसलामा आत्तिनुपर्ने कुरा नभएको जिकिर गर्नुभयो । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्ता गठबन्धनका नेताहरूसँगै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेपछि अध्यक्ष नेपालले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठको केही अंश पढेरसमेत सुनाउनुभएको थियो । पूर्ण पाठ हेर्दा निजगढ विमानस्थल बन्दैन कि भनेर आत्तिने अवस्था नरहेको जिकिर गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ आइसकेको छ । र, पूर्ण पाठलाई हेर्दा हामी आत्तिनुपर्ने केही अवस्था रहेनछ । फैसलाको निचोड हेर्दा यहाँ विमानस्थल बन्दैन कि अदालतले रोक्यो कि भन्ने खालको आशंका छ, त्यो आशंकाबाट हामी मुक्त भएका छौँ । किनभने अदालतको आदेशमा हवाई उडानलाई व्यवस्थित, भरपर्दो सुरक्षित र अन्तर्राष्ट्रिय सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक रहेको ठहर गरेको छ ।’

अध्यक्ष नेपालले अदालतको फैसलाले विमानस्थल बनाउन विज्ञको टोलीबाट अध्ययन गराउन पनि भनेको स्मरण गर्दै भन्नुभयो, ‘विमानस्थल बनाउन सबै क्षेत्रका विज्ञ रहेको विशेषज्ञ समूहबाट अध्ययन गराएर यहाँ कुन ठाउँको कति क्षेत्रफलको कति क्षमताको विमानस्थल बनाउनुपर्ने हो, वातावरणीय क्षति कम हुनेगरी प्राविधिक दृष्टिकोणले उपयुक्त स्थानमा विमानस्थल बनाउन भनेर आदेश आएको छ । फैसलाको मूल उद्देश्य के हो भने वातावरण कमभन्दा कम क्षति होस् । यसमा संवेदनशील भएर चल्ने काम होस् भन्ने कुरा देखिन्छ ।’

विमानस्थल निर्माणमा राष्ट्रिय सहमति जुट्नुपर्छ : यादव
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राष्ट्रिय सहमति जुट्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री सहितको टोलीमा निजगढ विमानस्थलको निरीक्षणमा जानुभएका अध्यक्ष यादवले ५०-६० वर्षपछिको अवस्थालाई मध्यनजर गर्दै विमानस्थल निर्माणको काम अघि बढाउनुपर्ने धारणा राख्दै भन्नुभयो, ‘कुनै पनि कुरा निर्माण गर्दा हामी आजको नहेरौँ । भोलिलाई हेरेर निर्णय गरौँ । कमसेकम दुई–तीन पुस्ताको भविष्य हेरेर हामीले ठाउँ राख्नुपर्छ । अहिले दुईवटा रन वे भनिएको छ । भविष्यमा चाप बढ्दै गयो भने चार लेन हुनुपर्छ । सकभर यहाँ रहेका पुराना बस्ती जोगाउने गरी अगाडि बढौं । त्यो जोगियोस् । भविश्य पनि हेरौँ, यी सब गरेर विमानस्थल यहाँ बन्छ । यसका लागि सबैले सहयोग गर्नुपर्छ । यो बनेन भने हामीलाई नै नोक्सान हुन्छ । अझ भविष्यको पुस्ताले ठूलो नोक्सान व्यहोर्नुपर्छ ।’

के छ सर्वोच्च अदालतको फैसलामा ?
सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाटो खुला गरेको छ । निजगढमा विमानस्थल बनाउने गरी आजसम्म भएका सरकारी निर्णय बदर गर्नेबारे यो मुद्दा सुनुवाइ गरेको पूर्ण इजलासका पाँचै न्यायाधीशहरू सहमत भए पनि उक्त विमानस्थलको विकल्पका सम्बन्धमा भने तीनजनाको एउटा र दुईजना न्यायाधीशले अर्कै राय दिएका छन् । न्यायाधीश विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशसिंह राउतको बहुमतीय रायले नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न एयरपोर्ट आवश्यक रहेको भन्दै विकल्प खोज्न भनेको छ । त्यो विकल्प निजगढ नै हुने कि अन्त हुने भन्नेबारे उक्त रायमा कुनै किटान गरिएको छैन । बहुमतीय रायमा यसरी विमानस्थल निर्माण गर्दा दिगो विकासको अवधारणा, जैविक विविधताको संरक्षण, अन्तरवंशीय समन्याय, वातावरण संरक्षणको अनिवार्यता जस्ता कुराप्रति अन्देखा गर्न वा त्यस प्रकारका कुराहरूलाई अवमूल्यांकन गरी हेर्न भने हुँदैन भनिएको छ । उनीहरूले निजगढ विमानस्थलको प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुने गरी विकल्प खोज्न भने पनि निजगढमै विमानस्थल बनाउन रोक भने नलगाएको दाबी गरिएको छ ।

अल्पमत रायमा निजगढको विकल्प निजगढ नै हुने भनेर हरिकृष्ण कार्की र मनोजकुमार शर्माले राय दिनुभएको छ । उहाँहरूले निजगढमा एयरपोर्ट बनाउने निर्णय बदर गरेर शून्यमा छोड्दा राष्ट्रिय गौरवको आयोजनामा राज्यले गरेको लगानी खेर जाने र मुलुकको अन्तर्राष्ट्रिय हवाई उडानको विकास अनिश्चित हुने भन्दै निजगढमै कम वनक्षेत्र भएको ठाउँमा विकल्प खोज्न भन्नुभएको छ ।

वनजंगल फँडानीले वातावरणमा असर पर्ने लगायतको तर्फ गर्दै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा सर्वोच्च अदालतले असार १५ गते फैसलाको पूर्णपाठ सार्वजनिक गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?