पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने

Read Time = 2 mins

पोखरा । यही सेप्टेम्बरदेखि पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा.लि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो । यसअघि उक्त कम्पनीले पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बलुनको उडान सुरु गरिएको थियो ।

हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिनेछ । फेवा किनारबाट तीनदेखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लंगै देखिन्छ । बलुनले सराङकोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृंखलाको अदभुत दृश्य हेर्न पाइन्छ ।

बर्खाका तीन महिना असार, साउन र भदौबाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उडान भरिने कम्पनीले जनाएको छ ।

यो एड्भेन्चरका लागि नेपालीलाई प्रतिव्यक्ति आठ हजार रुपैयाँ र विदेशीलाई प्रतिव्यक्ति एक सय युएसडी (नेपाली १२ हजार ६ सय रुपैयाँ) लाग्ने कम्पनीले जनाएको छ । साथै प्रतिव्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्ससमेत रहेको कम्पनीले जनाएको छ ।

बलुनको उडान अवधि ३० देखि ४० मिनेट रहनेछ । २१ मिटर अग्लो बलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकै पटक यात्रा गर्न मिल्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?