नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सव समारोहमा स्मारिका विमोचन र सम्मान

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सव समारोहमा स्मारिका विमोचन र सम्मान अर्पण गरिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घटन गर्नुभएको उक्त कार्यक्रममा संघबाट प्रकाशित वार्षिक स्मारिका ‘सहचरी २०८०’ को विमोचनसमेत गर्नुभएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका संस्थापक एवं कार्यकारी निर्देशक प्राडा.सन्दुक रूइतलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । गृहमन्त्री श्रेष्ठले समाज सेवाका विभिन्न क्रियाकलापमा नेपाल प्रहरी श्रीमती संघले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेपाल प्रहरी संगठनलाई अझ प्रभावकारी बनाई प्रहरी अधिकृत तथा जवानहरूको मनोबल उच्च राख्न संघको समेत सक्रिय भूमिका रहने हुँदा त्यसतर्फ सशक्त रूपमा अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । विभिन्न क्षेत्रमा समाज सेवामा भूमिका निर्वाह गर्ने सवै संस्थालाई एकिकृत गर्दै आपसी सहयोगका साथै ज्ञान, सीपको प्रयोग गरेर समृद्ध समाज निर्माण गर्ने नीति तय गर्दै सकारात्मक कदम चाल्नेतर्फ छलफल भइरहेको उहाँले बताउनुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले यौनजन्य हिंसा, जबरजस्ती करणीका पीडित तथा प्रभावितलाई उद्धार, संरक्षण र पुनस्र्थापनाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने रक्षा नेपालका अध्यक्ष मेनुका थापा एवं सामाजिक सेवाको क्षेत्रमा सराहनीय तथा प्रशंसनीय कार्यको उच्च कदर गर्दै नेपाल स्नेही काखकी संस्थापक अध्यक्ष नेहा पोखरेल, मेरूदण्ड पक्षघात समूह नेपाल माकलबारी काठमाडौंका संस्थापक अध्यक्ष ऋषिराम ढकाल र प्राणनाथ माईती वृद्धाआश्रम पनौती काभ्रेपलाञ्चोकको संस्थापक अध्यक्ष रघुनाथ तिमल्सिनालाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रसेवकको सहचरीका रूपमा सहधर्मिणीहरूको एकताको प्रतिक र संगमस्थलको रूपमा संघले थप ऊर्जाशील भएर सेवाका नवीन क्षेत्रको पहिचान गरी आफ्नो दायरा अझ फराकिलो बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरी श्रीमती संघले सोही प्रकृतिका अन्य संघहरूबाट भएका असल अभ्यासहरूको आदान-प्रदान गरी कल्याणका कार्यक्रमलाई अझ बृहत र प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्दै आगामी दिनमा नेपाल प्रहरीका परिवारका लागि थप कल्याणकारी क्षेत्रको पहिचान गरी कार्यक्रमलाई कार्ययोजनामा समावेश गरेर कार्यान्वयनमा ल्याउन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

समारोहमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले संघले सामाजिक क्षेत्रमा पुर्‍याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा संघले प्रवाह गर्ने सेवालाई अझ फराकिलो बनाउँदै समाजलाई सुदृढ रूपमा अगाडि बढाउन संघको क्रियाशील भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । महिलाको सहभागिता अर्थपूर्ण हुनुपर्ने उल्लेख गर्दै काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी श्रीमती संघसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँको भनाइ थियो ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले सामाजिक सेवाको क्षेत्रमा प्रशंसनीय एवं उल्लेखनीय कार्यको उच्च कदर गर्दै सपनाको चाहना, समृद्ध नेपाल संस्थाकी अध्यक्ष सपना रोका मगर, स्टार हस्पिटल प्रालिका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका कार्यकारी अधिकृत दीपक घिमिरे, कलेज अफ विजनेस म्यानेजमेन्टका सञ्चालक एवं प्रधानाध्यापक सि.ए. सुमन न्यौपाने, नेपाल पुलिस स्कुल गरुडा रौतहटकातर्फबाट प्रधानाध्यक विना झालाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । साथै उहाँले २०७९ सालको एसईई परीक्षामा प्रहरी विद्यालयहरूबाट सर्वोत्कृष्ट अंक ल्याउन सफल नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकमा अध्ययनरत छात्र ईमोन गौतम नेपाल र नेपाल प्रहरी स्कुल धरान सुनसरीमा अध्ययनरत छात्र आभूषण तिम्सिनालाई प्रशंसापत्र एवं नगद पुरस्कार प्रदान गर्नभएको थियो । समारोहमा संघकी अध्यक्ष कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघलाई आजको अवस्थासम्म पु¥याउन विभिन्न माध्यमद्वारा सहयोग उपलब्ध गराउनुहुने महानुभावहरू, संघ–संस्थाहरू तथा सम्पूर्ण सहयोगी हातहरूप्रति आभार प्रकट गर्नुभएको थियो ।

नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रिनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा सहचरी गीत प्रस्तुत भएकोे थियो भने विभिन्न कलाकारद्वारा सांस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरिएको थियो । सो अवसरमा संघ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, संघका संस्थापक अध्यक्ष वसुन्धारा लामा, गृह मन्त्रालय तथा काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष, सैनिक श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्षलगायत तीनवटै संघका पूर्वअध्यक्ष तथा पदाधिकारी, प्रहरी नायव महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?