प्रतिगामी शक्तिलाई पराजित गर्न नसके, लोकतन्त्रमाथि गम्भीर खतरा छः अध्यक्ष भट्टराई

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष भट्टराईले ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई लड्ने समय नहुने भएकालै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । उहाँले जनताका आकंक्षाहरु दिनप्रतिदिन बढीरहेकाले त्यसलाई पूरा गर्न गठबन्धन बनेको दाबी गर्नुभयो ।

अध्यक्ष भट्टराईले मंसिर ४ को निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक ढंगले धक्का दिने उल्लेख गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नबसेको उल्लेख गर्दै आफूले माओवादीसँग सहकार्य गरिरहेको बताउनु भयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नगडेसम्म र विकास र समृद्धिको न्युनतम आधार तयार नभएसम्म माओवादीहरु मिलेर सहकार्य गर्नुको विकल्प नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको अवस्था विशिष्ट हो । २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्‍यौं । त्यसैभित्र रहेर लुकेर बसेका शक्तिहरु तिनले संविधानलाई उल्ट्याउने दुष्प्रयत्न गरे । तिनलाई अघि सारेर प्रतिगामी शक्ति, राजावादी शक्तिले बोकेर यो संविधानलाई धरापमा पार्ने प्रयत्न गरे । कुचेष्टा गरे, त्यसकै बिरुद्धमा अहिले हाम्रो यो गठबन्धन हो । यो निर्वाचनमा पनि प्रतिगमनकारी शक्तिलाई पराजित गर्न सकेनौँ भने, फेरि अघि आउन दियौँ भने संघीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर खतरा छ । ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई समय र छुट छैन । जनताका आकंक्षा धेरै अघि गइसके, त्यसैले यसको रक्षा गर्नका लागि हामी एक ठाउँमा आएका हौँ । मंसिर ४ को निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक ढंगले धक्का दिन्छ । अग्रगामी शक्तिलाई स्थापित गर्छ । त्यसअर्थमा हाम्रो सहकार्य हो । अहिलेसम्म यसको जरो त राम्रोसँग गडेकै रहेनछ । जबसम्म लोकतान्त्रिक गणतन्त्रको जरो गाडिँदैन, यसको जगमा विकास र समृद्धिको न्युनतम आधार तयार हुँदैन त्यतिबेलासम्म हामीले फेरि सहकार्य गरेर जानुपर्छ ।’

अध्यक्ष भट्टराईले आफ्नो लक्ष्य नेपालीको विकास, समृद्धि र खुशीयाली भएको दाबी गर्नुभयो । समृद्धि र विकासको काममा पनि गोरखाले नै अग्रणी भुमिका खेल्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?