काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन उद्घाटन गर्नुभएको छ । उहाँले मंगलबार चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीमा मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआइएस)’ प्रविधिमा आधारित सबस्टेसन उद्घाटन गर्नुभएको हो । नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । सबस्टेसनको लागत एक अर्ब ५२ करोड र प्रसारण लाइनको लागत पाँच अर्ब ९४ करोड रहेको छ ।
नयाँ भरतपुर सबस्टेसन परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले नयाँ भरतपुर सबस्टेसन र हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन पूर्व-पश्चिम विद्युत् आपूर्तिका लागि रणनीतिक महत्वको रहेको बताउनुभयो । देशभित्र उत्पादित विद्युत् यहीं खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तीव्रता दिन र बढी भएको विद्युत् निर्यात गरी अर्थतन्त्र समृद्ध बनाउने गरी काम भइरहेको उहाँको भनाइ थियोे । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘एउटा छिमेकी देश भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ, यसमा चाँडै अन्तिम हस्ताक्षर गर्दैछौँ, नेपालको विद्युत् बंगलादेशसम्म पुर्याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ, अर्को छिमेकी देश चीनको भ्रमणमा छिट्टै जाँदैछु, चीनसँग प्रसारण लाइन र विद्युत् व्यापारका विषयमा सम्झौताहरू हुँदैछन्, यसबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्नेछ ।’
उहाँले जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गा अधिग्रहणको समस्यामा विद्यमान कानुन संशोधन र नयाँ कानुन निर्माण गरी सम्बोधन गरिने बताउनुभयो । १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् रूपान्तरणकारी आयोजना र १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी आयोजना अद्यावधिक अध्ययन गराउन औपचारिक रूपमा प्राधिकरणलाई दिन लागिएको पनि प्रधानमन्त्रीले जानकारी गराउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् खपत बढाउन र आपूर्तिमा गुणात्मक रूपमा सुधारका लागि प्रसारण तथा वितरण प्रणाली सुधार र बढी भएको विद्युत् निर्यातका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माण भइरहेको बताउनुभयो । उहाँले यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासाथ काम अघि बढाइएको जानकारी दिनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटित प्रसारण तथा वितरण लाइन निर्माणले मुलुकको समग्र विद्युत् आपूर्तिमा सुधार हुने बताउनुभयो । प्राधिकरणका अनुसार उद्घाटन गरिएको हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब एक सय ४७ किलोमिटर छ । एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइनलाई हेटौँडा-भरतपुर र भरतपुर बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको थियो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किट १३२ केभीमा चार्ज गरिएको छ । दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन हाल १३२ केभीमा सञ्चालन ल्याइएको छ ।
प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो ।
प्रसारण लाइन निर्माणमा स्थानीय अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो । विश्व बैंक आयोजनाबाट २०७८ कात्तिकबाट पछि हटेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अघि बढाइएको थियो । हेटौँडा-भरतपुर खण्ड निर्माणका लागि २०६५ फागुनमा ठेक्का सम्झौता भए पनि काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडेर २०७७ जेठमा नयाँ ठेक्कामार्फत् बाँकी काम गराइएको थियो ।
भरतपुर-बर्दघाट ७४ किलोमिटर प्रसारण लाइन निर्माणका लागि २०६७ कात्तिकमा ठेक्का सम्झौता भए पनि कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का सम्झौता २०७४ जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेण्डर गरेको थियो । नवलपरासी विनयी त्रिवेणी गाउँपालिका-२ दुम्कीबासमा केही स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले २०७७ चैत २५ गते स्थानीयको मागबमोजिम अन्तरिम आदेश दिएपछि सो क्षेत्रमा प्रसारण लाइनका दुईवटा टावर निर्माण रोकिएको थियो तर सर्वोच्चले २०७९ असार १२ गते रिट खारेज गरेको थियो । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सबस्टेसन निर्माणका २०७७ असारमा ठेक्का सम्झौता भएको थियो । तर, कोरोनाका कारण सबस्टेसन निर्माण प्रभावित भएको थियो । मस्र्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब एक सय १३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच