कुवेतविरुद्ध जित निकाल्दै नेपाल फाइनल नजिक

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । कुवेतविरुद्ध जित निकाल्दै नेपाल चार देश सम्मिलित महिला टी-२० आई क्रिकेट सिरिजको फाइनल नजिक पुगेको छ । बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । योसँगै नेपालले लगातार दोस्रो जित निकालेको हो । जितका लागि ९० रनको मध्यम विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमात्रै बनाउन सक्यो । कुवेतका लागि जिफा जिलानीले १९ बलमा १ चौकासहित ११ रन बनाउनुभयो । त्यस्तै, खादिजा खलिलले २२ बलमा १० रन बनाउनुभयो । अन्य कुनै पनि कुवेती ब्याटरले नेपाली बलरसामु दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि इन्दु बर्माले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिनुभयो । नेपालका लागि पहिलो खेल खेल्नुभएकी खुसी डंगोलले ३ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिनुभयो । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले एक/एक विकेट लिनुभयो ।

त्यसअघि बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । नेपालको जितमा इन्दु बर्माले १९ बलमा २ चौकासहित २३ रन बनाउनुभयो । काजोल श्रेष्ठले १८ बलमा १ चौकासहित १९ रनको अविजित इनिङ खेल्नुभयो । ओपनर पूजा महतो डक, सम्झना खड्का १, अनुभवी ब्याटर सीता रानामगर १२ बलमा ७, कप्तान रुविना क्षेत्री बेलबासे ५, विन्दु रावल ४५ बलमा २०, कविता जोशी २ र कविता कुँवर डक आउट हुनुभयो ।

महियम हैदरले ४ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए पनि ब्याटिङ नचल्दा टोलीलाई जिताउन सक्नुभएन । मर्याम ओमारले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिनुभयो । प्रियादा मुराली र खादिजा खलिलले एक–एक विकेट लिनुभयो । यसै खेलमार्फत् युवा लेग स्पिनर खुसी डंगोलले नेपाली महिला क्रिकेट टोलीमा डेब्यु गर्नुभयो । बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने खुसीलाई नेपालले डेब्यु दिएको हो । नेपालले टोलीमा दुई परिवर्तन गरेको थियो । यस्तै, बायाँ हाते तीव्रगतिकी बलर ईश्वरी विष्टले पनि यस खेलमा खेल्नुभएको थियो । कुवेत तुलनात्मक रूपमा कमजोर हुँदा नेपालले परिवर्तन गरेको हुन सक्छ । नेपालले पहिलो खेलबाट तीव्र गतिकी बलर अश्मिना कर्माचार्य र अप्सरी बेगमलाई भने बेन्चमा राखेको छ ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । चार देश सम्मिलित सिरिजमा नेपाल दुई खेलमा चार अंकका साथ शीर्षस्थानमा छ । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ । पराजित भएमा अन्य टोलीको नेट रनरेटमा भर पर्नेछ । शीर्ष दुईमा रहन सके शनिबार फाइनल खेल्नेछ । पराजित टोली तेस्रो स्थानका लागि खेल्नेछ ।

नेपालले सोमबार थाइल्याण्डसँग पनि अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ । त्यसैको तयारीका लागि नेपालले यो खेल खेलेको हो । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ ।
नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्याण्ड छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी-२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?