तानसेनमा व्यापारीको मनपरी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । पाल्पाको सदरमुकाम तानसेनका केही किराना व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी गर्ने गरेको पाइएको छ । बजार अनुगमन नियमित नहुँदा व्यापारीले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य मनपरी लिने र म्याद गुज्रिएका खाद्यान्न बिक्री गर्ने गरेका हुन् ।
व्यवसायीले आफूखुसी मूल्यवृद्धि गर्दै गुणस्तरहीन सामान बेचिरहेको भए पनि बजारको नियमित अनुगमन नहुँदा आफूहरू मारमा परेको उपभोक्ताले गुनासो गरेका छन् । तानसेनका प्रेम अधिकारीले भन्नुभयो, ‘बजार अनुगमन नै हुँदैन, नियमित अनुगमन नहुँदा बजारमा व्यापारीको मनपरी चलेको छ । बढी मूल्य लिने र म्याद गुज्रेका सामानसमेत बिक्री गर्ने गरेका छन् ।’ व्यापारीले मिसावट गर्ने, ठगी गर्ने गरेको उपभोक्ताले बताएका छन् । संघीयता कार्यान्वयनपछि जनताको घरदैलोमा आएको स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायले नियमित रूपमा बजार अनुगमन नगर्दा उपभोक्ता ठगिने गरेको उनीहरूको भनाइ छ ।

लामो समयपछि तानसेन बजारका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा समेत व्यापारीहरूले म्याद गुज्रिएका वस्तु बिक्री गर्ने गरेको, मूल्यसूची नै नराखी मनपरीमा मूल्य लिने गरेको, ढक, तराजु ठीक नभएको, दर्ता भएका पसल पनि लामो समयसम्म नवीकरण नभएको, सर्वसाधारण हिँड्ने सडकपेटीमा सर-सामान राखी व्यापार गरेको, गुणस्तरहीन वस्तु बिक्री गर्ने गरेको भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालय नेतृत्वको अनुगमन टोलीले सात किराना तथा गल्ला पसललाई जरिवानासमेत गरेको छ । पहिलोपटक पाँच हजारका दरले जरिवाना गरिएको अनुगमन टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय पाल्पाकी सहायक प्रमुख अधिकारी भक्तिश्वर रानाले बताउनुभयो । उहाँले पहिलो चरणमा केहीलाई सामान्य जरिवाना गरिएको र अन्यलाई सुझावसहित निर्देशन दिइएको जानकारी दिनुभयो ।

रानाका अनुसार सुझावमा अटेर गरे अर्कोपटक कडा कारबाही हुनेछ । टोलीले तानसेनका मखनटोल, सिल्खानटोल, विशालबजार, टक्सार टोललगायतका नौवटा किराना खाद्य तथा गल्ला पसल, डिपार्टमेन्टल स्टोर गरी करिब एक दर्जन पसल अनुगमन गरेको थियो । अनुगमनमा तानसेन नगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च पाल्पा, पाल्पा उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

तर, मौसमी रूपमा मात्रै गरिने अनुगमनले उपभोक्ताले गुणस्तर र सुपथ मूल्यमा सामग्री नपाउने स्थानीय दीपक अधिकारी बताउनुहुन्छ । किराना पसलमा मूल्यसूची नराखी उपभोक्ता ठग्ने काम भइरहेको भन्दै उहाँले सबै पसलमा समान मूल्य कायम गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । अनुगमन गर्ने निकाय भने बेला–बेलामा अनुगमन गर्दै आएको दाबी गर्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?