नेपालको जलविद्युत्‌काे क्षेत्रमा लगानी गर्न दक्षिण कोरिया इच्छुक

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।  सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमाम सोमबार भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, हवाइ उडान, पर्यटन तथा आर्थिक विकास लगायतका विषयमा कुराकानी भएको अध्यक्षको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशबीचको द्विपक्षीय सम्बन्ध तथा सहयोग अझ प्रगाढ र सुदृढ हुनेमा विश्वस्त रहेको बताउँदै आगामी वर्ष नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवलाई नेपालको पर्यटन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने गरि मनाउनुपर्ने कुरामा जोेड दिनुभयाे । अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक विकासमा दक्षिण कोरियाको  सहयोग उल्लेखनीय रहेको बताउँदै सामसुङले जस्तै अन्य कारखाना नेपालमा नै राखेर उत्पादन गर्न आग्रह गर्नुभयाे ।

कोरियामा नेपाली श्रमिकले काम गरिरहेको अवस्थामा नेपालमा नै काराखाना राख्दा श्रमसमेत सस्तो हुने भएकाले कोरियाली कम्पनीलाई पनि व्यापारमा थप लाभ हुने अध्यक्ष तिमिल्सिनाले बताउनुभयाे । उहाँले आफूले कोरियाको औपचारिक भ्रमणका क्रममा पनि यस विषयमा कुरा राखेको जानकारी गराउनुभयाे । भविश्यमा नेपालको जलस्रोत, कृषि र पर्यटनका क्षेत्रमा पनि कोरियाली लगानी भित्रिने उहाँले विश्वास व्यक्त गर्नुभयाे ।

अध्यक्ष तिमिल्सिनाले कोरियाली पर्यटकहरुको नेपालप्रति आकर्षण रहेका आगामी दिनमा पर्यटकको संख्या दोब्बर वृद्धि गर्ने उद्देश्यसहित काम अघि बढाउन सुझाव दिँदै नेपाल एयरलायन्सको कोरियामा सिधा उडान सुरु गर्न पनि आग्रह गर्नुभयाे । यसले नेपाल आउने पर्यटकको संख्या वृद्धि हुने विश्वास व्यक्त गर्दै उहाँले दुवै एयरलायन्सले उडान सञ्चालन गर्दा भाडादर पनि सस्तो हुन जाने भएकाले नेपाली श्रमिक र कोरियाली पर्यटक लाभान्वित हुन सक्ने बतााउनुभयाे ।

जवाफमा राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको बताउँदै कोरियामा सिकेको सिप र आर्जन गरेको पुँजीलाई नेपालमा फर्केर उद्योग तथा व्यवसायमा लगाउन आग्रह गर्नुभयाे ।

नेपाल फर्केपछि घर र गाडीमा लगानी गर्ने क्रम बढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयाे । नेपाली श्रमिक  शिष्ट, मेहनती र अनशासित रहेको बताउँदै उहाँले नेपालबाट जाने श्रमिकको संख्या आगामी दिनहरुमा बढ्दै जाने बताउनुभयाे । उहाँले नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताउनुभयाे ।

कोरियाको संसदमा कोरिया-नेपालमैत्री समूह गठन भएको जानकारी दिँदै राजदूत तइयोङले नेपालको संघीय संसदले पनि छिट्टै मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गर्नुभयाे । नेपाल विश्वकै दोस्रो ठूलो जनस्रोतको देश भएको बताउँदै उहाँले जलविद्युत्‌लगायतका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?