जनताले अनुभुति हुनेगरी काम गर्छु : स्वास्थमन्त्री बस्नेत

हिमालय टाइम्स
Read Time = 3 mins

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनताले अनुभुति गर्नेगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने वनाउनुभएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माण सम्बन्धि कार्यक्रमहरूको वार्षिक समिक्षामा मन्तव्य राख्नुहुँदै मन्त्री बस्नेतले जनप्रतिनिधिहरूले पनि राम्रो काम गरेको छ है भन्ने गरी जनताको अपेक्षा अनुसार काम गर्ने वताउनुभएको हो ।

‘हामीले एक सय दिनको काम सार्वजनिक गरिसकेका छौं । अहिले सरकारी अस्पतालमा विरामीको चाप बढ्दै छ । राम्रो भएर नै सरकारीमा चाप भएको हो । अझै राम्रो बनाउन लाग्नेछौं । भनसुनको भरमा ८०० भन्दा बढि स्वास्थ्यकर्मी काजमा केन्द्रमा नै बसेका थिए, अहिले त्यो सबै अन्त्य भएको छ । नेपालको इतिहासमा पहिलो पटक स्वास्थ्य मन्त्रालयमा भनसुनको भरमा काम गर्ने पद्धतिको अन्त्य भएको छ ।’

मन्त्री बस्नेतले भन्नुभयो, ‘नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तर्राष्ट्रियस्तरमा समेत भनिरहेको अवस्था छ । माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावरण मिलाइदिनुहोस् भनेर अनुरोधसमेत गर्नुभएको छ । हामीले यहाँ मेडिकल शिक्षा सहजरूपमा दिने वातावरण नमिलाउने हो भने पाँच वर्षपछि डाक्टर र नर्सको अभाव हुन्छ । यो कुरालाई ध्यान दिएर स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने हो । अव तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्छु ।’

मन्त्री बस्नेतले अहिले देशभरका संघीय अस्पतालहरूमा मात्रै तीन हजार ५०० बेडमा निःशुल्क उपचार हुने व्यवस्था रहेको र आगामी दिनहरूमा अझै बृद्धि गर्ने जानकारी गराउनुभयो । उहाँले आफ्नो अनुरोधमा बागमती प्रदेश र मधेश प्रदेशका अस्पतालहरूले समेत निःशुल्क उपचारमा सहयोग गरिरहेको सुनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?