कार्यकारी पदमा दोहोरो जिम्मेवारी अन्त्य गर्ने एमालेको तयारी

जनप्रतिनिधि पार्टी कमिटीका अध्यक्ष र सचिवमा आउन नपाउने

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेकपा (एमाले)ले कार्यकारी पदमा दोहोरो जिम्मेवारी अन्त्य गर्ने भएको छ । एउटा कार्यकारी पदमा भएकालाई अर्कोमा दोहोरिन नदिने नीति लिने भएको हो । त्यसका लागि अब हुने प्रदेश र जिल्ला अधिवेशनमा जनप्रतिनिधिलाई पार्टी कमिटीमा पदाधिकारी बन्न रोक लगाउने तयारी गरेको छ । जनप्रतिनिधिलाई पार्टी कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीका लागि उम्मेदवार बन्न रोक लगाउने भएको हो । एमालेले पार्टीका प्रदेश, जिल्ला र पालिका कमिटीका अधिवेशन गर्दा पालिकाका वडाध्यक्ष, प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, प्रदेशसभाका सदस्य, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई पार्टी कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीका लागि उम्मेदवार बन्न रोक लगाउन अन्तरपार्टी निर्देशन दिएको हो । भदौ १ गते अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा अपानि जारी गर्नुभएको हो । गत साउन २९ गते बसेको सचिवालय बैठकको निर्णयअनुसार निर्देशन दिइएको पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । एमालेको यो निर्णय केन्द्रीय कमिटीका पदाधिकारीका हकमा भने लागू हुनेछैन ।

ओलीले आफू नेतृत्वमा नआउँदै पार्टी जीवनको लोकतान्त्रिकीकरण र एक व्यक्ति एक पदको वकालत गर्दै आउनुभएको थियो । एमालेको २०७३ असार ७ गतेको स्थायी कमिटीको बैठकले संविधानबमोजिम पार्टीका संरचनालाई प्रदेशमा रूपान्तरण गर्ने र एक व्यक्ति एक पदको नीतिमा अघि बढ्ने निर्णय गरेको थियो । यद्यपि, विसं २०७५ जेठ ३ गते एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भई नेकपा गठन भएपछि नयाँ संरचना बनेको थियो । सर्वोच्च अदालतको आदेशपछि नेकपा विघटन भई एमाले र माओवादी ब्युँतिएका थिए । एमालेको बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेले केन्द्रको निर्देशनबमोजिम कार्यान्वयन गराउने गरी प्रदेश अधिवेशनको तयारी भएको जानकारी दिनुभयो ।

सिरहामा हुने भनिएको सचिवालय बैठक स्थगित
नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । शनिबार सिरहाको धनगढीमाई नगरपालिका–१४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको हो । निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले बैठक स्थगित भएको एमालेले जनाएको छ । अर्को बैठकको मिति भने यकिन भइसकेको छैन । मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।

कोशीमा एमालेको सरकार बन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गर्नुभएको छ । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले कोशीमा ५० भन्दा बढी सांसदको समर्थन ल्याएर एमालेले सरकार बनाउने दाबी गर्नुभयो । ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ,’ उहाँले भन्नुभयो, ‘एमालेको सरकार बन्छ । एमालेको सरकार बन्छ मजाले चलाउँछ । एमालेको ४७ होइन ५० भन्दामाथि जान्छ ।’

अध्यक्ष ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारण कोशीमा अस्थिरता आएको आरोप लगाउनुभयो । ‘गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारणले अस्थिरता आएको हो । कांग्रेसजस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेर संविधान मिच्ने ? संविधानको घोर उल्लंघन हो,’ उहाँले भन्नुभयो ।

ओलीका फन्टुस मानसपुत्रहरूले राजनीतिलाई सस्तो बनाउँदै छन् : भुसाल
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका फन्टुस मानसपुत्रहरूले नयाँ र स्वतन्त्रका नाममा राजनीतिलाई सस्तो बनाएको टिप्पणी गर्नुभएको छ । पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले ओलीका कारण अहिले बजारमा नयाँ पपुलिष्टहरू आएको बताउनुभयो । उनीहरूले राजनीति असाध्यै सस्तो ठानेको उहाँले बताउनुभयो । ‘आज ओलीजीका कारणले पपुलिज्म ठक्कर खायो । त्यसपछि नयाँ पपुलिष्टहरू बजारमा आएका छन्,’ उहाँले भन्नुभयो, ‘तिनीहरूले राजनीतिलाई असाध्यै सस्तो ठानेका छन् । तिनका कुरा र हाउभाउ सुन्नुस् । राजनीति चुड्कीको भरमा गर्ने भनेर सोच्दै छन् । त्यसैले मैले भन्ने गरेको छु ती ओलीका फन्टुस मानसपुत्रहरू हुन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?