एमाले लक्षित माधव नेपालको कटाक्षः हाम्रो पार्टी बिस्तारित हुँदा कतिपय आतंकित बनेका छन्

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी बिस्तार हुँदै गएकोमा नेकपा एमाले आतंकित बनेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकीकृत समाजवादीले राजनीतिमा आफ्नो औचित्यतालाई पुष्टि गरेको बताउनु भयो । उहाँले नेकपा एमालेप्रति इंगित गर्दै आफ्नो पार्टीको उपस्थिति राष्ट्रिय गठबन्धन, समाजवादी मोर्चा लगायत जुनकुनै स्थानमा अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको निद हराम भएको भन्दै टिप्पणी गर्नुभयो । उहाँले आफूहरु बिध्वंशक नभएकाले आतंकित नहुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले हाम्रो देशको राजनीतिमा आफ्नो औचित्यतालाई पुष्टि गरेका छौँ की छैनौँ ?म दावाकासाथ भन्छु । चाहे समाजवादी मोर्चा, चाहे राष्ट्रिय गठबन्धनको कुरा गरौँ, जुनसुकै ठाउँमा हाम्रो पार्टीको उपस्थिति अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको निद हराम भएको छ । हाम्रो पार्टीको बिस्तार होला भनेर आतंकित पनि भएका छन्, ति आतंकित भएकाहरुलाई भन्न चाहन्छु धेरै आतंकित नहुनुस्, हामी विध्वंंसक शत्रु होइनौँ, हामीलाई शत्रु ठान्नुपर्ने केही आवश्यकता छैन । हामी त शत्रु ठान्दैनौँ । हामी तपाईको गलत प्रवृत्तिलाई मात्रै इंकित गरिरहेका छौँ । सुधार गर्नुहोस्, तपाईहरुको रवैयाले कम्युनिष्ट आन्दोलन ओरालो लागेको छ । तपाईको रवैयाले नेपाली राजनीतिमा निराशा पैदा भएको छ, तपाईको रवैयाले नै वास्तवमा जनतामा राजनीतिप्रति वितृष्ण बढीरहेको छ ।’

अध्यक्ष नेपालले समाजवादी शक्ति एक ठाउँमा ल्याएर नेपालमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?