आर्सनलको जितमा जेससका दुई गोल

हिमालय टाइम्स
Read Time = 2 mins

लन्डन । इंग्लिस क्लब आर्सनलले प्रि-सिजनको अभ्यास खेलमा २-० ले पछि परेको स्थिति उल्ट्याएर जर्मनीको दोस्रो डिभिजनको नर्नवर्गमाथि ५-३ को सानदार पुनरागमन जित हात पारेको छ ।

आर्सनलको जितमा परिवर्तित खेलाडी ग्याब्रियल जेससले दुई तथा मोहम्मद इलानेले एक गोल गर्दा दुई गोल उपहार पाएको थियो । घरेलु टोली नर्नवर्गका जोहाननेस जेइस, क्वाडो डुआ र लुकास साइमरले गोल फर्काउनुभयो ।

खेलको २४औँ मिनेटमा जोहाननेस जेइसको गोलबाट नर्नवर्ग अघि बढ्यो । २९औँ मिनेटमा क्वाडो डुआले गोल गरेपछि आर्सनल पहिलो हाफमा २-० ले पछि पर्‍यो । दोस्रो हाफको सुरुमै जेसससँगै गाब्रियल मार्टिनेली र मोहम्मद इलाने मैदान प्रवेश गर्नुभयो । त्यसपछि आर्सनलले गोलको वर्षा गरेको हो ।

जेससले मैदान प्रवेश गरेको दोस्रो मिनेटमै गोल गर्नुभयो । ५४औँ मिनेटमा मोहम्मद इलानेले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याउनुभयो । ५८औँ मिनेटमा क्रिस्टोफर सिन्डलरबाट आर्सनलले आत्मघाती उपहार पायो ।

६३औँ मिनेटमा नर्नवर्गका टिम हान्डवेर्करले अर्को आत्मघाती गोल गर्नुभयो । ७३औँ मिनेटमा लुकास साइमरले गोल गर्दै खेललाई ४-३ को स्थितिमा ल्याए पनि ७५औँ मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई जित दिलाउनुभयो ।

जेसस यसै समरमा अर्काे प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट आर्सनलमा अनुबन्ध हुनुभयो । उहाँको यो पहिलो खेलसमेत हो । उहाँले पहिलो खेलमै सानदार प्रदर्शनसहित दुई गोल गर्नुभएको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?