बारामा फैलिदै आँखा पाक्ने रोग

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । बारामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ ।

जिल्ला स्थित कलैया नेत्रालय आँखा अस्पताल प्रालिमा दिनहुँ ६० देखि ७० जना आँखा पाकेका बिरामीहरु आउने गरेको अस्पतालले जानकारी गराएको छ ।

एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने बिरामीको संख्या एक सातादेखि झन्डै दोब्बरले बढेको नेत्रालयका डा. धिरज कुमार साह बताउनुभयो । “दैनिक आँखा पाक्ने समस्या लिएर आउने बिरामीको संख्या हवातै बढेको छ," उहाँले भन्नुभयो,‘ समुदायस्तरमा यसको सङ्क्रमण फैलिसकेको छ । बालबालिका र युवामा यो समस्या बढी देखिएको छ । अहिले आउने अधिकांश आँखा पाक्ने रोगीहरुमा भाइरल देखिएको छ । आँखा पाक्ने रोग तीन प्रकारको हुन्छ । भाइरल, ब्याक्टेरियल र एलर्जिक । तर अहिले बारा जिल्लामा देखिएको आँखा पाक्ने रोग भाइरल हाे ।"

"यो रोग विशेष गरि विरामीले प्रयोग गरेको बस्तुहरु छुँदा सर्ने रोग हो"- उहाँले भन्नुभयो, -‘विरामीले छोएको वा प्रयोग गरेको कुरा अरु कसैले छोएमा वा प्रयोग गरेमा यो रोग सर्छ । यस्ता रोगीहरुबाट टाढै बस्नु पर्छ । उनीहरुले प्रयोग गरेका सरसमानहरु छुनु हुँदैन । पटक पटक हात साबुन पानीले सफा गरिराख्नु पर्दछ । यो रोग लागेमा सफा पानीले आँखा धुनु पर्छ । यो रोग २ देखि ३ दिन भित्र आफै ठीक हुन्छ । तर आँखा पाकेर दुख्ने र बढी समस्या भएमा चिकित्सकसँग सम्पर्क गरी उपचार गराउनु पर्छ ।' जथाभावी मेडिकल स्टोरबाट औषधी किनेर लगाउँदा आँखाको ज्योती गुम्न सक्ने सम्भावना भएकोले जथाभावी औषधीको प्रयोग नगर्न उहाँले आग्रह गर्नुभयो ।

कलैया उपमहानगरपालिका भित्र रहेका सबै स्वास्थ्य चौकीहरुलाई आँखा सम्बनिध रोगको लागि औषधी उपलब्ध गराएको कलैया उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक अजय कुमार जयसवालले बताउनुभयो ।

आँखा पाक्ने रोग अहिले पालिकामा बढदै गएको कारण स्वास्थ्य चौकीहरुलाई आँखा पाक्ने रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना गर्न समेत निर्देशन दिइएको उहाँले बताउनुभयो ।

'यो रोग विरुद्ध हामी पूर्व तयारी गरिसकेका छौ'- उहाँले भन्नुभयो,‘हरेक स्वास्थ्य चौकीमा औषधी आपूर्ति गरिएको छ भने जनचेतनामूलक कार्यक्रमको समेत आयोजना गर्न लगाइएको छ । विशेषत मौसम परिवर्तनका कारण हुने यो रोग दुई चार दिनमा आफै ठीक हुने भएकोले हाइजिन मेन्टेन गर्नु पर्दछ ।' जथाभावी औषधी प्रयोग नगर्न र आवश्यक परे चिकित्सकसँग चेकजाँच गराएर मात्र औषधी प्रयोग गर्न उहाँले आग्रह गर्नु भएको छ । यसै गरि सामूदायिक स्कूलहरु बन्द रहेका छन् तर निजी विद्यालयहरु संचालनमा रहेका छन् । निजी विद्यालयहरुलाई पनि कुनै बालबालिकामा यस्तो रोग देखा परे त्यस्ता विधार्थीलाई विदा दिन निर्देशन गरिएको उहाँले बताउनुभयो ।

यसबाट बच्न सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यानलगायत सामान अरुले प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, सङ्क्रमित व्यक्तिको नजिक नजाने, कालो चश्मा लगाउने, आँखा जाँच गराएर चिकित्सकको परामर्शअनुसार औषधिको प्रयोग गर्नुपर्ने नेत्र चिकित्सक साहले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?